nmb bank

गृहपृष्ठ धितोपत्र बोर्डको अध्यक्ष नहुँदा बीमा कम्पनीको काम प्रभावित

धितोपत्र बोर्डको अध्यक्ष नहुँदा बीमा कम्पनीको काम प्रभावित

धितोपत्र बोर्डको अध्यक्ष नहुँदा बीमा कम्पनीको काम प्रभावित

पुँजी बजारको नियामक धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिंदा यसको असर बीमा कम्पनीहरुको पुँजी वृद्धिमा समेत पर्न गएको छ । केही बीमा कम्पनीहरुले थप हकप्रद (राइट सेयर) जारी गरेर भए पनि पुँजी वृद्धि गर्ने तयारी गरेका छन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल, एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्सले पुँजी वृद्धिका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेका छन् । तर, ७ महिनादेखि धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिकै लागि लामो रस्साकस्सी चले पनि सरकारले अझसम्म बोर्डको नेतृत्व दिन सकेको छैन । जसका कारण प्राथमिक सेयर (आईपीओ) तथा हकप्रद (एफपीओ) जारी गर्न लागेका दर्जनौं कम्पनीहरु प्रभावित हुन पुगेका छन् ।

कम्पनीहरुले प्रस्ताव गरेको हकप्रद सेयर र बोनस सेयर बोर्डबाट स्वीकृत हुन नसक्दा बीमा कम्पनीहरुको पुँजी वृद्धिमा समस्या परिरहेको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । प्रस्तावित हकप्रद तथा बोनस सेयर वितरणको प्रस्ताव बोर्डबाट स्वीकृत हुन नसकेकैले प्राधिकरणले कम्पनीहरुलाई पुँजी वृद्धिको थप समय प्रदान गरिएको उनको दाबी छ ।

धितोपत्र बोर्डका अनुसार हालसम्म प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ः०.१७ को अनुपातमा ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको ७३ लाख ३ हजार २ सय कित्ता हकप्रद सेयर निष्काशनका लागि अनुमति माग गरेको छ ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालबाट १ः०.८८ को अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबर २३ करोड ४६ लाख ८ हजार कित्ता, एनएलजी इन्स्योरेन्स कम्पनीबाट १०ः६.६ को अनुपातमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबर ९६ लाख ३१ हजार कित्ता र नेको इन्स्योरेन्सबाट १ः०.२५ को अनुपातमा ५० करोड ९० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता हकप्रद सेयर निष्काशनका लागि अनुमति माग गरिएको छ । तर, धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नभएसम्म यी प्रस्तावित हकप्रदहरुले निष्काशनको अनुमति पाउने स्थिति देखिंदैन ।

बीमा कम्पनीलाई १४ अर्ब पुँजी आवश्यक

नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) ले २०७८ चैत १० गते एक सर्कुलर जारी गर्यो, ‘२०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनू ।’ यो सर्कुलर जारी भएको पुरापुर २४ महिना बितिसकेको छ । तर, हालसम्म ५ वटा जीवन र ५ वटा निर्जीवन बीमा कम्पनी बाहेक अरु कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् ।

प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पुँजी पुर्याउन निकै जोडबल गरेका बीमा कम्पनीहरुले पुँजी वृद्धिको सहारा कम्पनी मर्जर (गाभ्ने-गाभिने) प्रक्रियासँगै, हकप्रद र बोनस सेयर जारी गर्दा समेत अझै तोकिएको पुँजी पुर्याउन सकेका छैनन् ।

आर्थिक वर्ष २०८०-८१ को अन्त्यसम्ममा कायम २८ वटा बीमा कम्पनीहरु मध्ये जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको संख्या समान १४-१४ वटा रहेको छ । यसअघि जीवन बीमा र निर्जीवन बीमा कम्पनी गरी ३९ रहेकोमा प्राधिकरणको पुँजी वृद्धिकै दबाबपछि मर्जर तथा एक्युजिसन (प्राप्ति) पश्चात बीमा कम्पनीहरु यो संख्यामा झरेका हुन् । तथापि, असार मसान्तसम्म १८ वटा कम्पनीहरुले तोकिएको पुँजी पुर्याउन सकेका छैनन् ।

जीवन बीमातर्फबाट ७ वटा कम्पनीहरुबाट ७ अर्ब ९० करोड ३७ लाख ६४ हजार र निर्जीवन बीमातर्फ पनि ७ वटै कम्पनीबाट ६ अर्ब ४९ करोड ५७ लाख ३७ हजार रुपैयाँ गरी कुल १४ अर्ब ३९ करोड ९५ लाख १ हजार रुपैयाँ पुँजी अपुग भएको छ ।

यद्यपि, यो पछिल्लो असार मसान्तसम्ममा बीमा कम्पनीहरुले जारी गरेको अपरिस्कृत (अडिट नभएको) वित्तीय रिपोर्टबाट कायम चुक्ता पुँजीको तथ्यांकको आधारमा हो । जीवन बीमातर्फ नेपाल लाइफ, हिमालयन लाइफ, सूर्यज्योति लाइफ, नेशनल लाइफ र आईएमई लाइफ इन्स्योरेन्स बाहेक अरु कम्पनीहरुले तोकिएको न्यूनतम ५ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् ।

यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी र हिमालयन एभरेष्ट बाहेक अरुको चुक्ता पुँजी २ अर्ब ५० करोड पुग्न सकेको छैन ।

सरकारी स्वामित्वका दुईवटा बीमा कम्पनी तथा संस्थानको वित्तीय विवरण नै पास भएको छैन । अर्कोतर्फ मेटा लाइफ इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले विदेशस्थित शाखा कार्यालय भएको कारणले चुक्ता पुँजी नै नलिई बीमा व्यवसाय गरिरहेका छन् ।

बीमा कम्पनीहरुको चुक्ता पुँजीको स्थिति (२०८१ असार मसान्तसम्म) 
1

प्रकाशित समय : १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु