nmb bank

गृहपृष्ठ तीन हजार पाँच सय विदेशीद्वारा पनौती सङ्ग्रहालयको अवलोकन

तीन हजार पाँच सय विदेशीद्वारा पनौती सङ्ग्रहालयको अवलोकन

तीन हजार पाँच सय विदेशीद्वारा पनौती सङ्ग्रहालयको अवलोकन

ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित सङ्ग्रहालयमा एक वर्षमा तीन हजार पाँच सय विदेशी पर्यटकले अवलोकन गरेका छन् । सङ्ग्रहालय पनौतीस्थित इन्द्रेश्वर मन्दिर परिसरमा रहेकाले यहाँ आउने धेरैजसो बाहिरी पर्यटक यस सङ्ग्रहालयमा अवलोकन गर्ने जनाइएको छ ।

ऐतिहासिक सहर पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा स्थापित यो सङ्ग्रहालय जिल्लाकै पहिलो र एकमात्र सङ्ग्रहालय हो । सङ्ग्रहालय प्रमुख राजेन्द्र महाजूका अनुसार बितेको आर्थिक वर्षमा उक्त सङ्ख्या केही वर्षदेखिकै उच्च हो । “यसको महत्व बुझेका सबैजसो पर्यटक यहाँ आउँछन्, केही वर्षदेखि यहाँ आउनेको सङ्ख्या वृद्धि भइरहेको छ”, महाजूले भने । उनका अनुसार अघिल्लो वर्ष करिब चार हजार स्वेदेशी–विदेशी पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका थिए ।

सङ्ग्रहालयमा अवलोकन गर्न विभिन्न स्थानबाट बर्सेनि सयौँको सङ्ख्या विद्यार्थी पनि आउने गरेको महाजूले बताए । सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी र स्वेदेशी पर्यटक तथा विद्यार्थीलाई भने फरकफरक शुल्क तोकिएको छ । करिब १५ वर्षअघि धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउने सामग्री एवं पहिचानका भण्डारका रूपमा सङ्ग्रहालय स्थापना गरिएको थियो । विसं २०६७ मा पनौती नगर कार्यालयले सञ्चालनमा ल्याएको यस सङ्ग्रहालयमा जिल्ला तथा विशेषगरी पनौतीका पुराना र ऐतिहासिक वस्तुको संरक्षण गरिएको हो ।

सङ्ग्रहालयमा पनौतीको विकास, यहाँका पुराना गतिविधि, मठमन्दिरलगायत उपलब्ध शिलालेखको अवलोकन गर्न पाइन्छ । महाजूका अनुसार पुराना सिक्का, कागजी नोट, स्थानीय रूपमा प्रयोग भएका घरायसी वस्तु पनि सङ्ग्रहालयमा राखिएका छन् । स्थानीयको सक्रियतामा नगर कार्यालयसँग सहकार्य गरी सञ्चालनमा ल्याएको सङ्ग्रहालयमा मल्लकालीन, शाहकालीन समयका मूर्ति, काष्ठकलाका नमूना, विभिन्न पहिरन तथा पुराना हातहतियार पनि यहाँ अवलोकन गर्न सकिने महाजूले बताए ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य एवं पवित्र धार्मिकस्थल भएकाले यहाँको महत्व बढेको पाइन्छ । यहाँ स्मारक समिति बनाएर सङ्ग्रहालय सञ्चालनमा ल्याइएको थियो । सङ्ग्रहालयमा हस्तकलाका सामग्री पनि राखिएको छ । पुरातत्व विभागको मापदण्डअनुसार सञ्चालित सङ्ग्रहालयमा पुराना सामग्री भए प्रदर्शनका लागि स्थानीयलाई उपलब्ध गराउन नगर कार्यालयले अपिल पनि गर्दै आएको छ । धार्मिक एवं ऐतिहासिक नगरी पनौतीस्थित त्रिवेणीघाट र स्नान गर्ने ठाउँको पनि आ–आफ्नै महत्व रहँदै आएको छ । पनौतीलाई विश्व सम्पदामा सूचीकृत गराउन नगर कार्यालयले पहल गरिरहेको छ ।

 

प्रकाशित समय : ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु