गृहपृष्ठ पातारासीद्वारा दुई सय ६४ आयोजना सम्पन्न
पातारासीद्वारा दुई सय ६४ आयोजना सम्पन्न
जुम्लाको पातारासी गाउँपालिकाले एक वर्षमा दुई सय ६४ वटा आयोजना सम्पन्न गरेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ दुई सय ६८ योजना सम्झौता भएकोमा दुई सय ६४ आयोजना उपभोक्ता समिति र ठेक्का प्रक्रियाबाट निर्माण सम्पन्न भई संचालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकवहादुर रावलले बताए । पालिकाको समग्र भौतिक प्रगति ८९ प्रतिशत भएको छ । उक्त आयोजनाका लागि रु १२ करोड ३६ लाख बजेट खर्च भएको छ । कूल योजनाको पाँच प्रतिशत रकमबाहेक अरु सबै योजना सम्पन्न गर्न पालिका सफल भएको प्रमुख प्रशासकीय अधिकृत रावलको भनाइ छ । सो पालिकाले सोही आर्थिक वर्षमा दुई हजार मिटर सडक ग्राभेल निर्माण गरिएको छ । आठ हजार पाँच सय ८० मिटर ग्रामीण सडक निर्माण र १६ हजार दुई सय मिटर गोरेटो बाटो निर्माण गरेको गाउँपालिका योजना अधिकृत दानबहादुर शाहीले जानकारी दिए ।
गत आवमा पालिकाको विनियोजित रु ४४ करोड ८५ लाख बजेटमध्ये कूल बजेटको जम्मा ८१ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ रु १७ करोड ६५ लाखमध्ये रु १२ करोड ४२ लाख अर्थात् ७० दशमलव ३४ प्रतिशत खर्च भएको छ । त्यस्तै चालुतर्फ रु २७ करोड २० लाखमध्ये २४ करोड ११ लाख अर्थात् ८८ दशमलव ६५ प्रतिशत खर्च भएको योजना अधिकृत शाहीको भनाइ छ । भौगोलिक विकटता र गाउँबस्तीको आवश्यकतालाई मध्यनजर गर्दै भौतिक विकास पूर्वाधारलाई विशेष प्राथमिकता राखेर काम गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । विकास निर्माणलाई सही रुपमा कार्यान्वयन गर्नेका लागि पालिकाले हरेक योजनाको अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ ।
प्रकाशित समय : १३:४१ बजे