nmb bank

गृहपृष्ठ भद्रकाली मन्दिर परिसर पुनःनिर्माण सुरु

भद्रकाली मन्दिर परिसर पुनःनिर्माण सुरु

भद्रकाली मन्दिर परिसर पुनःनिर्माण सुरु गरिएको छ । रु ३४ करोड ८० लाख ७१ हजार लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनःनिर्माण सुरु गरिएको हो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आज मन्दिर परिसर पुनःनिर्माणको शिलान्यास गर्नुभयो । विसं २०७२ को भूकम्पले मन्दिर जीर्ण भए पनि अझै पुनःनिर्माण हुन सकेको थिएन । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । कामपा सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको ठेक्का पाएको छ । कामपाले निर्माण पक्षसँग गत जेठ ६ गते सम्झौतागरी यही असार ३ गते कार्यादेश दिएको छ । यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ ।

कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन् । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ दुई वटा ब्लक आपसमा जोडिने जनाइएको छ । दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोलपम्पतर्फ) तीन वटा ब्लक हुने र यिनीहरु पनि आपसमा जोडिएको हुने महानगरले जनाएको छ । यसरी पुनःनिर्माण हुने भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुने जनाइएको छ । यसको डिजाइन कामपा सहरी योजना आयोगले तयार पारेको हो ।

पुनःनिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन तयार पार्ने जिम्मा पुरातत्व विभागलाई दिइएको छ । हालको संरचना भत्काएपछि सङ्कलन हुने निर्माणजन्य सामग्री पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ ।

प्रकाशित समय : १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु