nmb bank

गृहपृष्ठ रकम सङ्कलन गरी पदमार्गमा पूर्वाधार निर्माण

रकम सङ्कलन गरी पदमार्गमा पूर्वाधार निर्माण

रकम सङ्कलन गरी पदमार्गमा पूर्वाधार निर्माण

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्गमा दाताको सहयोगमा रकम सङ्कलन गरी पूर्वाधार निर्माण गरिएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाले दातासँग सहयोग जुटाएर पदमार्गको सङ्धीखर्कमा दुईकोठे सार्वजनिक शौचालय, खानेपानीलगायत पूर्वाधार निर्माण गरेकी हुन ।

“केही समयअघि मौरिस हर्गोज पदमार्ग भएर अन्नपूर्ण आधार शिविरको पदयात्रामा जाँदा सार्वजनिक शौचालय, खानेपानी र फोहर व्यवस्थापनको आवश्यकता महसुस गरेकी थिएँ”, ललिताले भनिन “शौचालय बनाउन सामाजिक सञ्जालमार्फत गरेको आग्रहमा दाताहरूले सहयोग गर्नुभयो र बर्खायाम भए पनि निर्माण गर्न सफल भयौँ ।”

अध्ययनका लागि अष्टे«लियामा गएकी शेरपुञ्जा अहिले स्वदेश फर्किएकी छन् । शौचालय निर्माणलगायत पूर्वाधार निर्माण गर्न पदमार्गका अभियन्ता तेज गुरुङ र नारच्याङका तम चोचाङ्गी पुनलाई शेरपुञ्जाले चार लाख ६० हजार पठाएका थिए ।

ललिताको शौचालय अभियानमा अन्य दाताहरूले पनि सहयोग गरेका थिए । शेरपुञ्जाले पठाएको रकमबाट १५ दिनसम्म आठजना मजदुर परिचालन र निर्माण सामग्री खरिद, ढुवानी गरी शौचालय, खानेपानी आपूर्ति र फोहर व्यवस्थापन गर्ने खाडल बनाएको चोचाङ्गीले बताइन ।

सार्वजनिक शौचालयको अभावमा पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई असहज भएको थियो । वातावरण प्रदूषण घटाउन, सरसफाइ कायम र पर्यटकको सुविधाका लागि सार्वजनिक शौचालय बनाइएको ललिताले बताइन ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण दलको नेतृत्व गरेका फ्रान्सका मौरिस हर्गोजको सम्मानमा नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गको नामकरण गरिएको छ । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलोपटक मानव पाइला परेको हिमाल भएकाले यसले मुलुकको आरोहण पर्यटनमा महत्व छ । सन् १९५० जुन ३ गते अन्नपूर्णको सफल आरोहण भएको थियो ।

प्रथम आरोही मौरिसको पाइला पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा पहिचान भएको पदमार्ग २०७७ सालदेखि सञ्चालन भएको थियो । नारच्याङबाट २० किलोमिटर टाढा हुमखोलासम्म निलगिरि खोला जलविद्युत् आयोजनाको पहुँचमार्ग पर्दछ ।

हुमखोलाबाट आधार शिविर जोड्ने २२ किमी लामो पदमार्ग, खोलाहरूमा झोलुङ्गे पुल, आश्रयस्थल निर्माण गरिएको छ । एकै दिनको पैदलयात्रामा आधार शिविर पुग्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको अभियन्ता गुरुङले बताए ।

सङ्धीखर्क, धरमढुङ्गा, भुसकेट, गुफाफाँट, हुमखोला र छोटेपामा सातवटा आश्रयस्थल निर्माण भएका छन् । होटल तथा लजको सुविधा नभएको यो पदमार्गमा क्याम्पिङ गर्न खानेबस्ने सामग्री लिएर जानुपर्छ ।

अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण फेदीमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँको थप आकर्षणको रूपमा रहेको छ ।

अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा खानेपानी, आश्रयस्थल, सञ्चार, विद्युत्, पदमार्गलगायत पूर्वाधार निर्माण र प्रचारप्रसारका लागि एकीकृत गुरुयोजनाको मस्यौदा तयार पारिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । आधारभूत स्तरको पूर्वाधार बनेको पदमार्गमा पर्यटक भित्र्याउन प्रचारप्रसार र प्रवर्द्धनात्मक क्रियाकलापलाई पनि जोड दिइएको उनले बताए ।

 

प्रकाशित समय : १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु