nmb bank

गृहपृष्ठ मगर समुदायको कथामा अभिनेता दयाहाङ

मगर समुदायको कथामा अभिनेता दयाहाङ

मगर समुदायको कथामा अभिनेता दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्लो समय विभिन्न समुदायसँग जोडिएका कथामा आधारित चलचित्रमा देखिँदै आएको छ ।

पछिल्लो एक वर्षमा मात्रै ‘जारी’ मा लिम्बू, ‘दयारानी’ मा गुरुङ, ‘गाउँ आएको बाटो’ मा राई समुदायको कथामा आधारित चलचित्रमा अभिनय गरे । आउँदो शुक्रबारअर्थात् यही २८ असारबाट प्रदर्शन हुने ‘घर ज्वाइँ’ मा उनले मगर समुदायको कथामा अभिनय गरेको छ । उक्त चलचित्रको कथा आफूले मन पराएकी युवतीलाई पाउन विवाह पूर्व घर ज्वाइँ बस्ने परम्परामा आधारित छ ।

अभिनेता राई अभिनयकै सिलसिलामा भिन्न समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न पाएको बताए । उनले भने, “नेपाल संस्कृतिको धनी छ । तर, हामीले आफ्नै परम्परालाई भुल्दै छौँ । मैले अभिनयकै कारण केही समुदायको संस्कृति बुझ्न र बाँच्न पाएँ । आफूलाई भाग्यमानी ठान्छु । हामी अहिले समुदायको कथा भन्ने समयमा आएका छौँ ।”

चलचित्रमा विषयवस्तुसँगै प्रस्तुति गरिने संस्कृति र परम्परा नयाँ पुस्ताका लागि डिजिटल साक्षरता हुने उनको विश्लेषण छ । आदिवासीको संस्कृति बाहिरबाट देखिँदा उस्तै लागे पनि निकै भिन्न रहेको उहाँले बताए ।

“हामीलाई सुन्दा उस्तै उस्तै लाग्नु स्वभाविक हो । तर, वास्तविकतामा केही भिन्नता हुन्छ । त्यही कारण चलचित्रले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्छ”, उनले भने । घर ज्वाइँ बस्ने परम्परालाई उनले छोरीप्रतिको उच्च सम्मानका रुपमा बुझेको छ । अन्य समुदायमा छोरीको विवाह गर्दा सोधखोज गर्ने प्रचलन रहे पनि मगर समुदायमा घरमै राखेर ज्वाइँको परीक्षण गरिने परम्परा रहेको उनले बताए ।

उनले भने, “भविष्यमा दुःख परेमा ज्वाइँले कसरी सङ्घर्ष गर्छन् र छोरीलाई पाल्छन् भन्ने परीक्षा लिएको जस्तो लाग्यो । ज्वाइँ त खास नै छन्, तर छोरीलाई सुख दिन सक्छन् कि सक्दैनन् र आत्मनिर्भर भएर कसरी जीविकोपार्जन गर्छन् भन्ने परम्परा मगर समुदायमा रहेको पाएँ । यो चलचित्रमा मगर समुदायको प्रतिनिधित्व गर्न पाएकोमा खुशी छु ।”

चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेको छ । आफूलाई मन परेको महिला पात्रलाई तानेर विवाह गर्ने प्रचलन आदिवासी समुदायका हरेक जातिमा रहे तापनि मगर समुदायको संस्कृति अन्यभन्दा फरक रहेको निर्देशक मगरले बताए ।

“यसमा समुदायको पृष्ठभूमिमा कथा र पात्रलाई तयार गरिएको छ । चलचित्रमा मगर समुदायको संस्कृतिसँग परिचित गराउँदै एउटा सामाजिक कथा भनिएको छ । पर्दामा देखिने कथासँग दर्शक जोडिए भन्नेमा विश्वस्त छु”, निर्देशक मगरले भने ।

जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आलेलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

प्रकाशित समय : २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु