nmb bank

गृहपृष्ठ धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला

धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला

धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला

धनुषा जिल्लाको सबैला नगरपालिका–६ गोविन्दपुरस्थित भग्नावशेष अवस्थामा रहेको जनककाली ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका छन् । पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालसहित तीन सदस्य टोलीले यही असार ७ गतेदेखि मठेश्वरनाथ मन्दिरको उत्खनन सुरु गरेको हो ।

प्राचीन मन्दिर भनिएको स्थानको अवशेष उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका पुरातत्वविद् प्रकाश दर्नालले राससलाई जानकारी दिए । “अहिलेसम्म दुईवटा पत्थर जोड्ने आइरन डाबर, फलामको गोलो रिङ, मन्दिरमाथिको सतह, भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छविशैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ”, उनले भने, “सोही अक्षरको आधारमा मन्दिरको प्राचीनता पत्ता लगाउन सकिन्छ । लिपि विशेषज्ञलाई देखाएर वास्तविक पत्ता लगाउने तयारीमा छौँ ।”

स्थानीय ६० वर्षीय रामवृक्ष यादवले भने, “पुरातत्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो । यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा पनि उल्लेख गरिएको छ ।”

सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गरेको जनविश्वास रहेको ७५ वर्षीय राममनोहर साहले बताए । राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको समदूरीमा चारवटा मठ निर्माण गरेका थिए ।

महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाको गोविन्दपुरमा मठेश्वरनाथ र भारतको विहार राज्यको कल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गर्नुभएको इतिहास रहेको साहले जानकारी दिए । “तीमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिर आज पनि पूजापाठ हुन्छ भने मठेश्वरनाथको भग्नावशेष मात्र बाँकी छ”, उनले भने ।

पुरातत्वविद् दर्नालले भग्नावशेषको अध्ययन गर्दा प्राचीन मन्दिरको स्वरुप देखिएको बताए । मठेश्वरनाथ मन्दिर हो भनेर यकिनसँग अहिले भन्न नसकिने बताउँदै उनले उत्खननको क्रममा एउटा महत्वपूर्ण ढुङ्गा भेटिएकाले थप अध्ययन गरिने उल्लेख गरे । “उत्खनन गर्दै जाँदा ज्यामितीय आकारको बुट्टा जो अहिलेसम्म कतै देखिएको थिएन त्यो पनि फेला परेको छ”, उनले भने ।

विज्ञका अनुसार मिथिलाको प्राचीन सभ्यता पाउने सम्भावना करिब सातदेखि १० हजार वर्ष पुरानो तथ्य यहाँ भेट्न सकिन्छ । लिपिका आधारमा पूर्वमध्यकाल वा आठौँ÷नवौँ शताब्दीको इतिहास हुनसक्ने बताउँदै पुरातत्वविद् दर्नालले मन्दिरका पर्खाल थप पछ्याउँदै जाँदा धेरै कुरा पत्ता लाग्न सक्ने उल्लेख गरे ।

सबैला नगरपालिकाका प्रमुख काशीराम यादवले मन्दिरको पश्चिमतर्फ प्रवेशद्वार रहेको यसको संरचनाले देखाउने भन्दै प्रवेशद्वारबाट उत्खनन सुरु गरिएको जानकारी दिए । “भग्नावशेषको माथिल्लो भाग सिमेन्ट र निकै पुराना इँटाले छोपिएको छ भने तल्लो भागमा ठूलाठूला ढुङ्गा एकापसमा जोडिएर रहेका अवस्थामा भेटिएका छन”, उनले भने ।

 

प्रकाशित समय : १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु