nmb bank

गृहपृष्ठ मन्त्री तामाङद्वारा दियालो सङ्ग्रहालयको अनुगमन

मन्त्री तामाङद्वारा दियालो सङ्ग्रहालयको अनुगमन

मन्त्री तामाङद्वारा दियालो सङ्ग्रहालयको अनुगमन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यहाँ रहेको दियालो दरबार सङ्ग्रहालयको अनुगमन गरेका छन् । भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएसँगै मर्मतका क्रममा रहेको सो सङ्ग्रहालयको मन्त्री तामाङले स्थलगत निरीक्षण गरेका हुन ।

निरीक्षणका क्रममा मन्त्री तामाङले कर्मचारी र ठेकेदार कम्पनीलाई मर्मतको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिए । उनको भनाइलाई उद्धृत गर्दै भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदीका अनुसार मर्मतको काम चाँडो सकेर सर्वसाधारणका लागि खुल्ला गर्न निर्देशन दिएका छन् । यस बङ्गलाको महत्व बुझाउनका लागि पनि सर्वसाधारणका लागि चाँडो खुल्ला गर्नुपर्ने उनको भनाइ थियो ।

भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्ष्यित गरी दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ला गर्ने गरी काम गरिएको भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले जानकारी दिए । उनका अनुसार सङ्ग्रहालयको मर्मतको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । रङ्गरोगन र सामान्य कामहरु बाँकी रहेको उनले जानकारी दिए । वर्षातको समयमा बङ्गला सञ्चालनमा ल्याउनका लागि कठिन हुने भएकाले सर्वसाधारणका लागि खुल्ला केही समय पछि गरिने लामाले बताए ।

यसको मर्मतसम्भारका लागि ९२ लाखमा दिदीबहिनी निर्माण सेवाले ठेक्का सम्झौता गरेर काम गर्दै आएको छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ-याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारी साधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा नेपाल ट्रष्टको इकाइ चलेको छ ।

ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबार क्षेत्रको सौन्दर्य बढाएको छ । दरबार परिसरमा रहेको बगैँचा अहिले पनि जस्ताको जस्तै छ । राजपरिवार हुँदा दरबारको महत्व नै फरक खालको थियो । जाडो महिनामा राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेका थिए ।

 

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु