nmb bank

गृहपृष्ठ अफगानिस्तान विश्वकपको सेमिफाइनलमा

अफगानिस्तान विश्वकपको सेमिफाइनलमा

अफगानिस्तान विश्वकपको सेमिफाइनलमा

आईसीसी टी-२० विश्वकप अन्तर्गत ‘सुपर-८’ को अन्तिम खेलमा बाङ्लादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ।

मंगलबार बिहान भएको खेलमा अफगानिस्तानले बाङ्लादेशलाई आठ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। वर्षाका कारण १९ ओभरमा छोट्याइएको खेलमा ११४ रनको लक्ष्य पाएको बाङ्लादेश १७.५ ओभरमा १०५ रनमै समेटियो।

बाङ्लादेशका लागि प्रारम्भिक ब्याटर लिन्टन दासले अविजित अर्धशतक बनाए। उनले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ५४ रन प्रहार गरे।

त्यस्तै, तोहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानका लागि नवीन उल-हक र राशिद खानले चार-चार, फजलहक फारुकी र गुल्बदिन नाइबले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो। अफगानिस्तानका लागि रहमनुल्लाह गुर्बाजले ४३, रशिद खानले १९, इब्राहिम जाड्रनले १८, अज्मतुल्लाह ओमरजाइले १०, करिम जनतले सात र गुल्बदिन नाइबले चार रन बनाए।

बाङ्लादेशका लागि रिशद हुसैनले तीन, तस्किन अहमद र मुस्ताफिजुर रहमानले एक-एक विकेट लिए।

यो जितसँगै अफगानिस्तान समूह-१ को दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। यो समूहको शीर्षस्थानमा रहँदै भारत सेमिफाइनलमा पुगिसकेको छ। यससँगै अस्ट्रेलिया बाहिरिएको छ।

त्यस्तै, समूह-२ बाट दक्षिण अफ्रिका र इङ्ल्यान्ड सेमिफाइनलमा पुगिसकेका छन्। अब फाइनलका लागि भारतले इङ्ल्यान्ड र अफगानिस्तानले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु