nmb bank

गृहपृष्ठ ‘ओएनएम सर्भे’ नहुँदा स्वास्थ्य सेवा प्रदान गर्न कठिन

‘ओएनएम सर्भे’ नहुँदा स्वास्थ्य सेवा प्रदान गर्न कठिन

‘ओएनएम सर्भे’ नहुँदा स्वास्थ्य सेवा प्रदान गर्न कठिन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) नहुँदा स्वास्थ्य सेवा प्रदान गर्न कठिन भइरहेको बतारएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले भने, “दुई  दशकभन्दा धेरै समयदेखि अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण भएको छैन । तत्कालीन समयको जनशक्तिले हालको अवस्थामा सेवा प्रदान गर्न अत्यन्त कठिन भइरहेको छ । अस्पतालको ओएनएम सर्भेका लागि सम्बन्धित मन्त्रालयको सहमतिको माग गर्दछु ।”
मन्त्री यादवले सांसदहरुले सोध्नुभएको स्पष्टीकरणको जवाफ दिँदै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न आठ किसिमका कडा रोगलाई एक लाख बराबरको सहुलियत प्रदान गरिँदै आएकामा उक्त सहुलियतको समय सापेक्ष परिमार्जन गरी क्यान्सर, हेड तथा स्पाईनल ईन्जुरीलगायत रोगको उपचारमा रकम वृद्धि गर्न आवश्यकता रहेको बताए ।
उनले कलेजो प्रत्यारोपणका लागि सहुलियत दिने विषयमा पनि छलफल भइरहेको उल्लेख गरे । मन्त्री यादवले मन्त्रालय सम्हालेदेखि नै केन्द्रिय अस्पतालमा शल्यक्रिया सेवा लिनेले लामो समय कुर्नुपर्ने समस्यालाई प्राथमिकतामा राखेको भन्दै यसका लागि मन्त्रालयमा उच्चस्तरीय टोली गठन भएर अध्ययन प्रारम्भ भइसकेको जानकारी दिए ।
सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजाने वातावरण बनाउन केही सङ्घीय अस्पतालमा विस्तारित सेवा लागू भइसकेको भन्दै उनले बाँकीमा अस्पतालमा लागू गर्ने क्रममा रहेको उल्लेख गरे ।
उनले उपत्यकाका ठूला अस्पतालमा दुई सिफ्टमा सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागू गर्ने, मोडुलर शल्यक्रिया कक्ष थप गर्नेलगायत कार्यक्रम आगामी आर्थिक वर्षको कार्यक्रममा रहेका जानकारी गराए । स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड अनुरुप स्वास्थ्य मन्त्रालयको सचिव अध्यक्ष रहने गरी शुल्क निर्धारण समिति रहेको भन्दै सो समितिबाट शुल्कसम्बन्धी आवधिक रुपमा समीक्षा भइरहेको मन्त्री प्रदीप यादवले जानकारी दिए ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु