nmb bank

गृहपृष्ठ असारे गीतमा झल्किएको कृषि समाज

असारे गीतमा झल्किएको कृषि समाज

असारे गीतमा झल्किएको कृषि समाज
असारै खाउँला दुधिला मकै
साउनै खाउँला खिर
घरमा छैन शीतलु वचन
मनमा छैन स्थिर
गैह्री खेतको मार्सी चामल पिसेर कसार
सुनको झ्याली उघारी हेर्दा लागेछ असार
जब असारको आगमन हुन्छ, सर्वत्र असारे लोकगीत गुञ्जिन थाल्छ । यस्ता लोकगीत समाजको आत्माको उज्ज्वल प्रतिबिम्ब हो । यसमा मानव जीवनको जन्मदेखि मृत्युसम्मका संस्कार जोडिएका हुन्छन् । कुनै पनि देशको लोकगाथा, लोकगीत त्यो देशको सभ्यता, संस्कृति, लोकमानसको भावना, राग, द्वेष, हर्ष, विस्मात् आदिको साझा दर्पण हो ।
जबदेखि मानिसहरू समूहमा बस्न थाले, तबदेखि तिनमा चेतनाको विकास भयो र  मनका भावना व्यक्त गर्न लोकगीत जन्मिए । लोकगीत वा गाथा आमजनजीवनको भावनाको उन्मुक्त स्थिति हो, जसमा अधिक मौलिकता भेटिन्छ । समाजमा शोषक र शोषित दुवै वर्गका आ–आफ्नै  भाषा छ । शिक्षाको पहुँच पुगेका शोषक वर्गले शास्त्रीय साहित्यमार्फत आफ्ना अभिव्यक्ति उजागर गर्छ । जुन वर्ग निरक्षर छ, शिक्षाको अवसरबाट वञ्चित छ र थिचोमिचोमा परेको छ, त्यसका अभिव्यक्ति लोकगीत बनेर उजागर भएका छन् । लोकसाहित्यमा ती समस्त बोली र भाषागत अभिव्यक्ति हुन्छन्, जसमा आदिम संस्कृतिको अवशेष हुन्छ ।
सहज अभिव्यक्ति क्षमता र सङ्क्षेपीकरणका कारण लोकसाहित्यले सधैँ शास्त्रीय साहित्यलाई टक्कर दिइरहेको हुन्छ । प्रायः शास्त्रीय साहित्य सत्ता, वैभव, शक्तिसम्पन्न वर्गीय व्यवस्थाका पक्षधरद्वारा पालितपोषित हुन्छ भने लोकसाहित्य आमजनताका जीवन जिउँदा भोगेको सङ्घर्ष, अनुभव, उहोपोह, आरोहअवरोह सहज र सरलताले परिपूर्ण हुन्छ । लोकगीत प्रकृतिको सुरम्य वातावरणमा  रचिएको हुन्छ । यसमा जीवनको यथार्थ हुन्छ,  सादगी र सादापन हुन्छ, प्रेम, निष्ठा हुन्छ, इमानदारी हुन्छ, दुःखपीडा हुन्छ,  दुःखसँग जुझ्ने सङ्कल्प हुन्छ । मूलतः लोकको उदात्त चरित्र हुन्छ, जुन शिष्ट साहित्यमा दुर्लभ हुन्छ ।
लोकसाहित्यले बहुसङ्ख्यकको भावनाको प्रतिनिधित्व गरेको हुन्छ । जनसाधारणद्वारा निर्मित लोकगीत देश, काल र परिस्थितिको चित्रण गर्दै प्रचलनमा आएको हुन्छ, गेयात्मक रूपमा एक स्थानबाट अर्को स्थानमा फैलिँदै गएको हुन्छ । कतिले लोकगीतलाई अशिक्षित वर्गको साहित्य भन्छन्, झ्याउरे भनेर यसलाई अलि हेयको भावले हेर्छन् । भलै लोकगीतमा आधुनिक साहित्यमा झैंँ प्रशस्त अलङ्कार, शब्दाडम्बरका बुट्टा, छन्द, विम्ब र प्रतीक नहोलान् तर यसको सरलता, स्वच्छता र श्रुतिमाधुर्य यति प्रभावकारी हुन्छ कि तिनले मानिसका हृदय सहजै स्पर्श गर्छन् । लोकगीत आधुनिक गीत र साहित्यका निम्ति स्रोत पनि हो । कुनै पनि समाज चियाउन लोकगीत झँै सरल र सहज आँखीझ्याल अर्को हुनै सक्दैन ।
लोकगीत, गाथा, ऋतु गीत, संस्कार गीत, बाह्रमासा गीत, पर्व गीत, कर्म गीत, श्रम गीत आदि गरी विभिन्न प्रकारका हुन्छन् । श्रम गीतअन्तर्गतको एउटा गीत हो–रोपाइँ गर्दा गाइने असारे गीत । पूर्वीय लोकसभ्यतामा श्रम सँधै पूजनीय छ । ऋग्वेदमा भनिएको छ ः “श्रामतस्य सख्याय देवाः” (श्रम नगरी देवताको सहयोग प्राप्त हुँदैन ।)  भागवत गीतामा त झन् पूरै श्रम र कर्मको महत्त्वलाई रेखाङ्कित गरिएको छ । असारे  गीत श्रमको महत्त्वलाई उच्चस्थान राखेर गाइएको गीत हो ।
नेपालमा खासगरी असार महिनामा धान रोपिन्छ । बडो मोहक र मादक हुन्छ असार । यतिखेर बादलका झुन्डहरू नयाँ क्रीडा गर्दै अनेक रूप धारण गरिरहेको हुन्छ, सप्तरङ्गी इन्द्रधनुषी छटाले सबैको हृदयलाई मोहित पारिरहेको हुन्छ, बोटबिरूवाहरू स्वच्छतापूर्वक वर्षात्मा भिज्दै मस्तीमा झुमिरहेका हुन्छन् । असार मास जगत्को जीवन र प्राणीको प्राण हो, धराको शृङ्गार, वनउपवनको अलङ्कार हो, हृदयमा उल्लास र उत्साहको प्रेरक, प्रेम र कामनाको सर्जक हो ।
यो सृजनाका निम्ति पनि उर्वर महिना हो । अङ्ग्रेजी साहित्यका शेली, किट्स, रबर्ट फ्रस्ट, स्पेनी साहित्यका गाब्रियल मिस्त्राल, जर्मनेली साहित्यका हर्मन हेस्से, संस्कृत साहित्यका कालिदास आदिले आफ्ना विलक्षण काव्य साधनाले असार (जुन–जुलाई) लाई मानवीकरण गरेका छन् । कालिदासले आफ्नो कालजयी कृति ‘मेघदूत’ मा वर्षाको जुन अनुपम र अद्भुत, मनोरम चित्र कोरेका छन् जसको अभिलेख आजसम्म कसैले तोड्न सकेको छैन ।
वर्षामा कवि, कलाकारले काल्पनिक संसार बनाएर रचना गरिरहेका हुन्छन् भने धर्तीपुत्र किसानले धर्तीमा सृजना गरिरहेका हुन्छन् । वर्षाको सबैभन्दा बढी व्यग्रताका साथ कसैले प्रतीक्षा गरिरहेका हुन्छन् भने किसानले नै गरिरहेका हुन्छन् । आदिकालदेखि नै किसान र प्रकृतिबीच घनिष्ठ सम्बन्ध रहिआएको छ । यतिखेर बर्सिएको वर्षा किसान र फसलका निम्ति अमृत समान हुन्छ । किसानहरू बेचैनीका साथ आकाश हेर्दै व्यग्र हुन्छन् । जब वर्षा हुन्छ, तब किसान हर्षले गद्गद् हुन्छन्,  खेतमा रौनक छाउँछ । लोकगीतकारहरू किसानको मनस्थितिसँग भलिभाँती परिचित हुन्छन् । ती किसानसँगै वर्षातका रिमझिममा भिज्दै गाउन थाल्छन् जसमा अरुण उपत्यकाले स्वर भरेको छ–
रिमिमा झिमी पानी है प-यो असारे मासैमा
हिँडेको हामी धान है रोप्न  बेंसीको फाँटैमा ।
लोकगीतमा प्रचुर मात्रामा मानवीय संवेदनशीलता हुन्छ, जुन व्यक्तिको चेतना, कल्पनाशीलता, भावप्रवणता, समूहमा मिश्रण भएर समूहको साझा वाणी बन्छ । यसले लोककल्याणको स्वरूप ग्रहण गर्छ । लोकका अनेकौँ झाँकी देखिने लोकगीत स्वच्छता र सरलताले भरिनाका साथै मनका कल्मश, क्लेषलाई मेटाउने पियुषधारा समान हुन्छ । हाम्रा अतीत, वर्तमान र भविष्य सबैथोक लोकगीतमा सुरक्षित हुन्छ ।
देशका अधिकांश किसान मनसुनमा आधारित वर्षामा नै देशको प्रमुख बाली धानखेतीमा निर्भर छन् । मेहनती किसान वर्ग धानखेती गर्दा आफ्ना इच्छा, आकाङ्क्षा, हर्ष, उल्लास, निराशा, अवसाद, कुण्ठा, अभिलाषा आदिलाई लोकगीतका माध्यमबाट व्यक्त गर्छ । आदिकालदेखि नै  अन्नदाता वर्ग किसान लोकगीतसँग अविभाज्य रूपमा जोडिँदै आएका छन् । किसानी काममा अधिक शारीरिक श्रम गर्नुपर्छ, पसिना बग्छ, हातमा ठेला उठ्छ, आँत खङ्रङ्ग भएर तिर्खा लाग्छ । थकान मेटाई शरीरमा चुस्तीफुर्ती भरेर पुनर्ताजगी ल्याउनलाई किसानले रामदली, गोडेलो, दाइँगीत, असारे आदि श्रम गीत रचे, जसमा सबैभन्दा प्रमुख असारे गीत रहेको पाइन्छ । यो पनि बेठी, रसिया, घाँसे नगरा आदि गरेर विभिन्न हाँगामा बाँडिएका छन् ।
वर्षा ऋतुमा चल्ने ऋतुकालीन र श्रमगीतमा स्थानीय प्राकृतिक वातावरण र किसानका मनोदशाको चित्र पाउँछौँ । जब असारे गीतभित्र प्रवेश गर्छौं, तब कृषि समाजको परिवेश, कृषि सामग्री, कृषि समाजको हर्षबिस्मात्, आपत्विपत्, प्रेम, बिछोड, रमाइलो ठट्टा, हासपरिहास आदिको झल्को पाउँछौँ ।
असारे गीत पूर्वी भागमा रसिया, मध्यक्षेत्रमा काँठे आदि नामले चर्चित छ । सोह्र–सोह्र अक्षरको फाँकीले बनेका यस्ता गीतमा हरेक पाउका १० अक्षरमा गएर विश्रान्ति लिन्छ । लामो स्वरमा लेग्रो तानेर गाइने यस्ता गीतमा पहिलो फाँकी झिकिन्छ । त्यसपछि त्यसमा अनुप्रासका टुक्का गाँसिन्छ र अन्तिममा टुप्पो गीत मिलाइन्छ ।
किसानी दाइले खेती नै गर्योे, हातैमा कोदाली
जीवन धान्न गर्नु नै पर्ने, उकाली–ओराली
पानीमा पर्याे रिमी र झिमी, घाम लाग्यो घमाइलो
हजुर र हामी भेट भाको दिन, गरौँन रमाइलो
पानी र प-यो  रिमी र झिमी घुमैले तर्काउँछ…
परम्परागत कृषिमा हलो र गोरूको सम्बन्ध नङमासु झैँ प्रगाढ छ । अझै पनि गोरुबिनाको कृषिको कल्पना गर्न सकिन्न । काँधमा काठले बनेको जुवा, भैँसिको छालाले बनेको हल्लुँडो, काठको जोतारो लगाएर नारिने गोरूलाई किसानले माले, तारे, झाले, जुरे, लालतारे आदि नामले पुकारछन् भन्ने झल्को धर्मराज थापाको स्वर र सङ्कलनमा रहेको लोकगीतमा पाइन्छः
हरियो डाँडा माथि, हलो जोत्ने साथी
हो हो माले हो हो, हो हो तारे हो हो …
मनसुन आउन लागेपछि सुक्खा खेतमा आली, कान्ला ताछेर बीउ राखिन्छ । जब बीउ हराभरा भएर आउँछ, तब किसानमा खुसीको सञ्चार हुन थाल्छ । पानी परेपछि खेतमा पानी जमाइन्छ अनि हिलो, आली मिलाउने काम हुन्छ । घरघरमा गएर बीउ बोक्ने लाठे, बीउ काढ्ने बियाडे, हिलो सम्याउने बाउसे आदिका निम्ति पर्मको आह्वान गरिन्छ, समाहा थुन्ने र खोल्ने काम गरिन्छ । विशेषतः असारे गीत समाहाको सुरिलो आवाजमा खुल्छ । आफ्नो आर्थिक क्षमताले भ्याएसम्म नौमती र पञ्चैबाजा हालेर रोपाइँ गरिनाका साथै भोजभतेर पनि गरिन्छ, जसलाई बेठी भनिन्छ ।
पहिले जिम्मावाल, मुखियाकामा श्रमिकहरूले सित्तैमा काम गर्नु पर्दाको कुण्ठास्वरूप बेठी गीत जन्मियो । पछि यसले संस्कृतिको रूप लिएको अनुमान गरिन्छ । बेठीमा नौमती र पञ्चैबाजाका तालमा बजाइने नगरा धुन, बेठी धुन, तिनताले गर्रा धुन, दोलखे रोपाइँ धुनको छुट्टै विशेषता छ । सिमेभूमे पूजाको धुनको अर्को आकर्षण हुन्छ, खोलाको धुनले सबको मन हरण गर्छ, जसअन्तर्गत छिटोछिटो दमाहा, झ्याम्टा, ढोलकी बजाउँदै हुर हुर हुर्राको राग अलापिन्छ । यस्ता धुनले जो कोहीलाई पनि हिलामा उफ्रिएर लडिबुडी खेलुँ झैँ बनाइदिन्छ ।
अझ बागमती क्षेत्रका नुवाकोट, रसुवातिर त बेठी गरिएको घरमा लाखे नचाइन्छ । हनुमानको झैँ मुकुन्डो पहिरेको लाखे हिलामा पसेर हिलो खाएको पनि देखिन पाइन्थ्यो । बेठीमा पूर्वी पहाडमा रसियाको छुट्टै आकर्षण हुन्छ भने बागमती क्षेत्रमा काँठे र सुदूर कर्णालीमा अवालीको अर्काे मिठास हुन्छ । बागमतीका पूर्वी भागमा प्रचलित रसिया किसानका सुखदुःख,  प्रेम, मिलन, पिर, बेथा, हासपरिहास आदिले ओतप्रोत हुन्छ ।
जल, वायु, आकाश, भूमि, अग्नि आदि पञ्चतत्वको प्रतिनिधित्व गर्ने दमाहा, झ्याली, सनही, ट्याम्को, ढोलकी, नरसिंहा, कर्णाल आदि बाजाको तालमा गाइने बेठी गीतमा गीतसँगै धुनहरूको पनि छुट्टै महत्त्व छ । पञ्चैबाजाका तालमा बजाइने यस्तो धुनमा समूहले हुर हुर हुर्राको राग अलाप्छ । यस्ता धुनमा प्रमुख रूपमा दोलखे रोपाइँ धुन, धाँगर रोपाइँ धुन तथा दमाहा तालमा बजाइने नगरा धुन, सनही बाजाका तालमा बजाइने तिनसोरे–चारसोरे ख्याली धुन पर्छन् ।
प्रायः स्थानमा बाजासँगै मुखमा कालोमोसो दलेको लाखे पनि नचाइन्छ । त्यसको हाउभाउले बेठी हेर्न आउनेलाई मनोरञ्जन प्रदान गर्छ । जब लाखेमा देउता चढ्छ, ऊ हिलामा लडिबुडी खेल्दै हिलोसम्म खान थाल्छ, जसलाई खली खाने पनि भनिन्छ । नुवाकोट, रसुवाका पूर्वी भाग, मकवानपुरतिर पनि झन्डै यस्तै लयका गेडाहरू चल्छन् जुन वाद्ययन्त्रका तालमा र बिनावाद्ययन्त्र घाँसेगीतका तालमा पनि गाइन्छ । यस्ता गीतमा मायापीरतिका संयोगान्त, वियोगान्त चित्र भेटिनाका साथै वर्षाको बाह्य र आन्तरिक चित्रण हुन्छ ।
किसानहरू बाहिर जति हाँसिरहेका हुन्छन् भित्र त्यति नै छट्पटी, पिर, बेथा बोकेर बाँचिरहेका हुन्छन् भन्ने अभिव्यक्ति लोकका प्रचलित यी गेडामा प्रस्ट  झल्किन्छ:
हो हो रे राम हो
असार पन्ध्र खाने दहीचिउरा, साउन पन्ध्र खिर
घरमा छैन शितलु वचन, मनमा छैन थिर ।
रोपाइँको दिन किसानलाई भ्याइनभ्याइ हुन्छ । दिनभरिका थकानले गलित बाउसे, रोपाहारहरू आलीमा बसेर गीत गाउँदै दुखकष्ट, थकान बिर्सन खोज्छन्, एकार्कामा हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्छन् । स्थानअनुसार असारे गीतका फरक लय छन् । कर्णाली र सुदूरपश्चिमतिर अवालीको नामले चर्चित छ । बागमती र बागमती पूर्वको पुर्वी पहाडमा रोपाइँ बेठीमा  पन्चैबाजाको छुट्टै आकर्षण छ, कर्णाली र सुदूरपश्चिमतिर हुड्को बाजाको विशेष रौनक हुन्छ ।
कृषि कार्यमा पुरुष मात्र होइन, ग्रामीण महिलाहरू पनि त्यति नै दक्ष हुन्छन् । महिलाहरू कृषि कार्यमा पूर्णतः  एकाग्रचित्त हुनका निम्ति लोकगीत गुनगुनाउँछन्
‘असारे झरी साउने झरी, धानको पातलाई
जन्मेको ठाउँ छोड्नै पर्ने, छोरीको जातलाई
छुपुमा छुपु ज्यान खेतै रोप्नु, हातैमा बीउ रहुन्जेल
राम्रैमा लाउँला मिठैमा खाउँला, बाबाको जिउ छउन्जेल…’
जब धान रोप्ने महिलाहरू गाउँछन्, खेत उनीहरूको स्वरले खेत अभिभूत हुन्छ, उनीहरूको पदचापमा झुम्न थाल्छ । धर्ती र माटाको मूल्य बढी कसैले बुझेका हुन्छन् भने त्यो महिलाले बुझेका  हुन्छन् । वास्तवमा असारे गीत एउटा समुद्र हो, जसमा विभिन्न भँगालाहरू छन् । नेपालमा ठूला, मझौला, भूमिहीन आदि गरी अनेक थरि किसान छन् ।
आजको युग भूमण्डलीकरणको युग हो । कृषिको आधुनिकीकरणका नाममा कृषियन्त्र, विषादीले हिले माछा, गँगटा, घोघीँं मार्दै लगिरहेछ, जैविक विविधता नष्ट हुँदै गइरहेछ । पञ्चैबाजा र हुड्का बजाउनेहरू दलन र विभेदका शिकार भएर पेसा छाड्न बाध्य भइरहेछन् । श्रुति र स्मृति परम्परा आधारित यस्ता लोकगीतहरू तब मात्र जीवित रहन्छ, जब यस्ता गीतहरूको पुस्तान्तरण हुन्छ । श्रमसँग जोडिएका यस्तो संस्कृति जोगाउन मौलिक संस्कृतिकर्मीहरू नै जुर्मुराउनुुपर्छ ।

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु