nmb bank

गृहपृष्ठ पर्वतीय पदयात्रामा जाने यात्रुको उपचार

पर्वतीय पदयात्रामा जाने यात्रुको उपचार

पर्वतीय पदयात्रामा जाने यात्रुको उपचार

हिमालय उद्धार सङ्घले वसन्त ऋतुमा पर्वतीय पदयात्रामा जाने एक हजार बढी स्वदेशी तथा विदेशी यात्रीको उपचार गरेको छ ।

विगत ५० वर्षदेखि पर्वतीय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पदयात्रीको उपचारमा सक्रिय सङ्घले वसन्त ऋतुमा सगरमाथा र मनाङ क्षेत्रमा जाने एक हजार एक सय ५३ नेपाली तथा विदेशी पदयात्रीको उपचार गरेको हो ।

सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी नेपाली पदयात्रीलाई निःशुल्क र विदेशी पदयात्रीलाई थोरै शुल्क लिएर स्वास्थ्य सेवा प्रदान गरेको हो ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द बस्यालले वसन्त ऋतुमा मात्र एक हजार नौ सय नेपाली र तीन सय ४४ विदेशी बिरामीको स्वास्थ्योपचार गरेको राससलाई जानकारी दिए ।

सङ्घले मनाङ स्वास्थ्य चौकीमा एक सय ५१ नेपाली, एक सय छ विदेशी, फेरिचे स्वास्थ्य चौकीमा तीन सय २१ नेपाली, एक सय ३० विदेशी र सगरमाथा आधार शिविरमा पाँच सय ३७ नेपाली तथा एक सय आठ विदेशी बिरामीको स्वास्थ्योपचार गरेको हो ।

यसबाहेक पर्वतीय पदयात्रामा गएका नौ सय ८७ स्वदेशी तथा विदेशी पर्यटकलाई लेक लाग्ने समस्याका बारेमा जनचेतना प्रदान गरिएको थियो । सोही याममा एक सय ५० सिकिस्त बिरामी र पाँचजना बिरामीलाई घरमै गएर उपचार गरिएको सिइओ बस्यालले बताए ।

वसन्त ऋतुको सुरुआतसँगै चैतदेखि आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटिएको थियो । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको सङ्घले चैतमा वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु तथा मनाङको तीन स्थानमा पठाएको थियो ।

सङ्घका अध्यक्ष डम्वर पराजुलीले वसन्त ऋतुको सुरुआतसँगै कार्यक्षेत्रमा खटिने स्वयंसेवक चिकित्सकलाई लेक लाग्ने तथा अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको बताए । सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको छ ।

सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा अस्थायी स्वास्थ्य चौकी स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारीका साथै अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ । फेरिचेमा सन् १७७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अध्यक्ष पराजुलीले बताए ।

 

प्रकाशित समय : १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु