nmb bank

गृहपृष्ठ कर्जा प्रवाह नहुँदा बैंकहरुमा अधिक तरलता, कुन बैंकमा कति छ पुँजीकोष ?

कर्जा प्रवाह नहुँदा बैंकहरुमा अधिक तरलता, कुन बैंकमा कति छ पुँजीकोष ?

कर्जा प्रवाह नहुँदा बैंकहरुमा अधिक तरलता, कुन बैंकमा कति छ पुँजीकोष ?

बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको छ । बैंकबाट कर्जा प्रवाह नहुँदा तरलता बढेको हो । करिब ६ खर्ब रकम बैंकमा थुप्रिँएको बताइएको छ । यसले गर्दा बैंकहरुलाई थप तनाव बढेको छ ।

एक बैंकर्सका अनुसार कर्जा प्रवाह नहुँदा बैंकहरुलाई निक्षेपको लागत धान्नै सकस देखिएको छ । कर्जा प्रवाह हुन नसकेपछि बैंकहरुले असारका लागि मुद्दती निक्षेपको ब्याजदर थप घटाउने तयारी गरेको उनले बताए । ‘पैसामात्र थुपारेर के गर्नु रु लगानी छैन । भएको पैसा जति राष्ट्र बैंकमा सस्तोमा राख्ने बाहेक अरु भएन् उनले भने।’

उनले मुद्दती निक्षेपको ब्याजदर साढे ५ प्रतिशतसम्ममा झर्ने दाबी गरे ।उनले भने ‘बचतको ब्याजदर तीन प्रतिशतमा आइसकेकाले यसमा घटाउने ठाउँ नभए पनि मुद्दती निक्षेपको ब्याजदर भने घट्छ । एक वर्षको मुद्दती निक्षेपको ब्याजदर बैंकहरुले साढे ५ प्रतिशतसम्म बनाउन सक्छन् ।’

वैशाखमा बैंकहरुको ब्याजदर औसतमा ७.१४ प्रतिशत थियो । जेठमा ०.०७ प्रतिशत विन्दुले घटेर ७.०७ प्रतिशत पुग्यो । जेठका लागि सबैभन्दा थोरै मुद्दती निक्षेपको ब्याज नेपाल एसबीआई बैंकको रहेको छ । उसले ६.३९ प्रतिशत ब्याजदर दिएको छ ।

कर्जा दिन नसक्ने अवस्थामा बैंक
बैंकहरुमा एकातिर पैसा थुप्रिने र अर्कोतर्फ कर्जा दिन नसक्ने अवस्था सृजना भएको छ । एकातर्फ प्रशस्त पैसा भएर पनि ऋणी कर्जा लिन आएका छैनन् । अर्कोतर्फ नियामकीय प्रावधानका कारण बैंकहरु कर्जा दिन नै नसक्ने अवस्थामा पुगेका छन् । अहिले ‘क’ वर्गका पाँच बैंक पूँजी कोषको चरम दबाबमा छन् । यी बैंक कर्जा दिन नसक्ने अवस्थामा पुगेको बताइएको छ ।

बैंकले कर्जा प्रवाह गर्दा त्यसमा हुने जोखिमका आधारमा जोखिम भार तोकिएको हुन्छ। त्यसको ८.५ प्रतिशत हिस्सा पूँजीबाट व्यहोर्नुपर्छ । त्यस्तो रकमलाई पूँजी कोष भनिन्छ । तर अहिले हिमालयन बैंक, एनआईसी एसिया, माछापुच्छ्रे, कुमारी र प्रभु बैंक तोकिएकोभन्दा कम पूँजीकोषको अवस्थामा छन् ।

हिमालयन बैंकको ८.८६ प्रतिशत, एनआईसीको ८.२५, माछापुच्छ्रेको ८.८०, कुमारीको ८.०३ र प्रभु बैंकको ८.८५ प्रतिशत पूँजीकोष छ । एनआईसी र कुमारीको तोकिएकोभन्दा कम पूँजीकोष छ भने माछापुच्छ्रे, प्रभु, हिमालयन बैंक पनि न्यूनतम पूँजीकोष आसपास छन् ।

राष्ट्र बैंकका निर्देशक राजनदेव भट्टराई तोकिएको सीमाभन्दा तल गएका बैंकले आगामी वर्ष लाभांश वितरण गर्न नपाउने बताउँछन् । साथै त्यस्ता बैंकको ऋण दिने क्षमतासमेत कमजोर हुने उनको भनाइ छ ।

बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिन सक्छन् । यद्यपि अहिले बैंकहरुले ८० प्रतिशत कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांक छ । ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार बैंकहरुले प्राथमिक पूँजीबाट न्यूनतम ८.५ प्रतिशत पूँजीकोष अनुपात कायम गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षबाट वाणिज्य बैंकहरुका लागि अतिरिक्त पूँजीकोषको रुपमा ०.५ प्रतिशत ‘काउन्टर साइक्लिकल बफर’ कार्यान्वयनमा ल्याएको छ । जसअनुसार २०८१ असार मसान्तसम्म वाणिज्य बैंकहरुले प्राथमिक पूँजीबाट न्यूनतम ९ प्रतिशत पूँँजीकोष कायम गर्नुपर्ने हुन्छ । यस्तै पूरक पूँजीबाट थप २.५ प्रतिशतसहित न्यूनतम ११.५ प्रतिशत पूँजी पर्याप्तता अनुपात कायम गर्नुपर्ने हुन्छ ।

यस आधारमा ९ प्रतिशतभन्दा तल पूँजीकोष भएका बैंकहरुले कर्जा प्रवाह गर्दा संयमित हुनुपर्ने बेला आएको छ भने साढे ८ प्रतिशत भएकाले कर्जा प्रवाह गर्ने क्षमता नै नराख्ने विज्ञहरु बताउँछन् ।

कुन बैंकमा कति छ पुँजीकोष ?

बैंक                                                        पुँजीकोष (%)

नेपाल बैंक                                                   १०.२८
राष्ट्रिय वाणिज्य बैंक                                     १०.४३
एनआईसी एसिया बैक                                  ८.२५

माछापुच्छे बैंक                                              ८.८०

कुमारी बैंक                                                   ८.०३
कृषि विकास बैंक                                         ११.३६
लक्ष्मी सनराइज बैंक                                    ९.४८
नबिल बैंक                                                   ९.१०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक                           १०.३५
स्ट्याण्डर्ड चार्टड बैंक                                  १३.९६
सिद्धार्थ बैंक                                                ९.२३
ग्लोबल आइएमई बैंक                               ९.९३
सिटिजन्स बैंक                                           ९.१५
हिमालयन बैंक                                        ८.८६
प्राइम कमर्सियल बैंक                              १०.५४
नेपाल एसबीआई बैंक                               १०
एनएमबी बैंक                                          ९.६८
एभरेष्ट बैंक                                            १०.४६
प्रभु बैंक                                                ८.८५
एनआईसी एसिया बैक                            ८. २५
सानिमा बैंक                                         ९.८९

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु