nmb bank

गृहपृष्ठ भिर मौरी र पदयात्रालाई पर्यटनसँग जोड्दै टाप गाउँ

भिर मौरी र पदयात्रालाई पर्यटनसँग जोड्दै टाप गाउँ

भिर मौरी र पदयात्रालाई पर्यटनसँग जोड्दै टाप गाउँ

एकै ठाउँमा मिलेर बसेका ९४ वटा घर जसमध्ये ९० वटा गुरुङ समुदायका छन्भने बाँकी चार घर दलित समुदायका । लम्जुुङको दोर्दी गाउँपालिका–८ स्थित रमणीय गाउँका रुपमा रहेको टाप यस क्षेत्रको प्राचीन गाउँ हो ।

परम्परागत कला, संस्कृतिका साथै प्राकृतिक सौन्दर्यताका कारण धेरै पर्यटकीय सम्भावना रहेर पनि उचित प्रचारप्रसारको अभावमा यहाँको मौलिक पहिचान अझै उजागर हुन सकेको छैन । गाउँको प्रवर्द्धनसँगै पर्यटकीय उपयोगका लागि समयसमयमा विभिन्न प्रयास भए पनि त्यसले अझै सार्थकता पाउन नसकेको स्थानीय समाजसेवी एवं दोर्दी गाउँपालिका–८ का पूर्ववडा सदस्य सुकबहादुर गुरुङले बताए ।

“टाप गाउँ प्राकृतिक सुन्दरतासँगै आफैँमा मौलिक संस्कृतिले सम्पन्न ठाउँ हो”, उनले भने, “गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्न नसक्दा हामी अझै पनि बत्तीमुनिको अँध्यारो जस्तै बनेका छौँ ।”

प्राचीनकालदेखि गाउँमाथिका भिरमा हुने गरेको भिर मौरीको सिकारको पर्यटकीय महत्व छ । यहाँबाट नजिकै रहेका प्रसिद्ध बराह पोखरी, लम्जुङको उत्तरपूर्वी कुनामा पर्ने मेमे पोखरी यहाँको पहिचानसँग जोडिएका प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हुन् ।

टाप गाउँबाट लगभग पाँच घण्टाको हिँडाइमा बराह पोखरी पुुग्न सकिन्छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–७ र दोर्दी गाउँपालिका–८ को सिमानामा पर्ने यो पोखरी समुन्द्री सतहबाट दुुई हजार आठ सय मिटरको उचाइमा अवस्थित रहेको गुरुङले जानकारी दिए । उनका अनुसार वरपर लालीगुराँसले ढाकिएको बराह पोखरीमा पात खस्नासाथ चराले टिपेर बाहिर फाल्ने भएकाले यसको महिमा र गरिमा अझै बढेको छ ।

बराह पोखरीमा श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासले पनि धार्मिक महत्व चुलिएको स्थानीयवासी बताउँछन् । श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेमा निःसन्तालाई सन्तान प्राप्त हुने जनविश्वासले यसको धार्मिक महत्व बढाएको छ । टाप गाउँभन्दा माथि अन्य बस्ती नभएका कारण बराहपोखरी जाने धार्मिक पर्यटकलाई लक्षित गरी यो गाउँमा घरबास (होमस्टे) कार्यक्रम सञ्चालन गर्ने आफूहरूको सोच रहेको गुरुङले बताए ।

गाउँभन्दा माथिका चिन्मी, तिजे, छौंदी जस्ता भिरहरूमा पर्याप्त भिर मौरी पाइने र यी ठाउँमा परम्परागत रुपमा वार्षिक भिर मौरीको सिकार गर्ने गरिएको दोर्दी गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङले बताए । टाप गाउँमाथिका भिरमा परम्परागत रुपमा हुने गरेको भिर मौरी सिकारलाई पर्यटनसँग जोड्ने प्रयासमा लागिरहेको उनले बताए ।

कतिपय ठाउँमा भिर मौरीको सिकार पछिल्ला पुुस्तामा पुस्तान्तरण हुन नसकेका अवस्थामा टाप गाउँमा भने यो सीप पुस्तान्तरण भएको पाइन्छ । एउटा भिर मौरीको सिकार गर्न करिब ६० देखि ७० जनासम्म आवश्यक हुनेमा टाप गाउँमा पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म यसमा संलग्न हुने गरेको स्थानीय युवा जगतराम गुरुङले जानकारी दिए ।

भिर मौरीको मह प्रतिलिटर दुई हजार बिक्री हुने गरेको बताए । साहसिक पर्यटनको एउटा महत्वपूर्ण गतिविधिका रुपमा रहेको भिर मौरी सिकारलाई पर्यटनसँग जोड्न सकेमा पनि यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने उनले बताए ।

बराह पोखरीबाट माथि दुई दिनको पदयात्रामार्फत अर्को धार्मिक पर्यटकीय गन्तव्य मेमे पोखरी पुग्न सकिन्छ । हिउँचुली हिमालको पानी आउने मेमे पोखरीमा प्रत्येक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । विशेषगरी लमजुङकै गुरुङ तथा तामाङ समुदायले मेमे पोखरीलाई विशेष महत्वको धार्मिक तीर्थस्थलका रुपमा लिने गर्दछन् ।

मेमे पोखरी दर्शन गरिसकेपछि बराह पोखरीको दर्शन नगरे मेला पूरा नहुने विश्वासका कारण यी दुई पोखरीको अन्योन्याश्रित सम्बन्ध रहेको छ । कृषिप्रतिको अनिच्छाका कारण ग्रामिण बस्तीका जग्गाहरू बाँझो भए पनि टाप गाउँका स्थानीले बाँदरलगायत समस्याका बाबजुद मकै, कोदोलगायत खेतीपातिलाई निरन्तरता दिँदै आएका छन् ।

भिरमौरीका साथै पदयात्रा पर्यटनको गन्तव्यका रुपमा टाप गाउँको पर्यटकीय विकास गर्न सकिने दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । यस क्षेत्रलाई पदयात्रा पर्यटनको गन्तव्य बनाउनका लागि टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा दोर्दी, बारापाक सुलिकोट, अजिरकोट र दूधपोखरी गाउँपालिकाको समन्वयमा १६ दिनसम्मको पदयात्रा मार्ग तय गर्नेगरी प्रयास अघि बढेको उनले जानकारी दिए ।

दोर्दी गाउँपालिकाको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा टाप गाउँ माथि छौँदी भीरमा भिरमौरी सिकार महोत्सव २०८१ सम्पन्न भइसकेको छ । यसलाई आगामी वर्षमा पनि यस महोत्सवलाई पर्यटकीय रुपमा अघि बढाइने स्थानीय समाजसेवी सुकबहादुर गुरुङले बताए ।

 

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु