nmb bank

गृहपृष्ठ रेसाजन्य वस्तुबाट आकर्षक सामग्री तयार

रेसाजन्य वस्तुबाट आकर्षक सामग्री तयार

रेसाजन्य वस्तुबाट आकर्षक सामग्री तयार

गाउँघरमा प्रशस्त मात्रामा पाइने मकैका खोस्टा, वनजङ्गलमा पाइने थाकललगायत प्रयोगमा ल्याउन नजान्दा त्यत्तिकै खेर गइरहेका हुन्छन् । मकैको खोस्टा र थाकलको पातबाट आकर्षक किसिमका विभिन्न सामग्री तयार पार्न सकिन्छ भन्ने पाल्पा रामपुरका महिला उदाहरणिय बनेका छन् । यहाँका महिलाले वनजङ्गलमा खेर गइरहेको थाकलको पात, मकैको खोष्टालाई सङ्कलन गरी आकर्षक सामग्री तयार पारेका छन् ।

रामपुर नगरपालिकाको सहयोगमा एक महिनासम्म प्राकृतिक रेसाजन्य वनस्पतिको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी ज्ञान, सीप पाएपछि महिला टोपी, झोलालगायत सामग्री उत्पादन गर्न सक्ने भएका छन् । “सीप र ज्ञान नहुँदा गाउँमा पाइने वस्तुको उपयोगमा ल्याउन सकिएको थिएन, अब हातमा सीप भएपछि आफूलाई आवश्यक पर्ने विभिन्न सामग्री तयार पार्न सक्ने भएका छौँ”, सुमन खाम्चा मगरले भने ।

“हाम्रा गाउँघरका जङ्गलमा थाकल, मकैका खोष्टा प्रशस्तै हुन्छन्, सामग्री खरिदमा खर्च गर्नु पर्दैन, यसलाई सदुपयोग गर्न नजान्दा यत्रतत्र त्यत्तिकै खेर जान्थ्यो, अब भने सीप भएपछि घर सजावटका लागि विभिन्न आकर्षक सामग्री आफैँले तयार पार्न सकिन्छ,” उनले भने ।

कच्चासामग्री खरिदमा रकम खर्च गर्न नपर्ने, गाउँघरमा भने जति सामग्री पाइने भएकाले महिलाका लागि यो सीप अति उपयोगी रहेको रेखा पौडेलले बताइन । नगरपालिकाले ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँको प्राविधिक सहयोगमा नगरभित्रका ४० महिलालाई सीप प्रदान गरेको छ । सीप सिकेसँगै व्यावसायिक उत्पादनमा जोड दिने महिलाहरु बताउँछन् ।

नगरप्रमुख रमणबहादुर थापाले उत्पादित हस्तकला सामग्री नगरपालिकाले खरिद गरिदिने र उत्पादनका आधारमा अनुदान दिने बताए । “हातमा सीप नभएर केही गर्छु भन्नेहरु खाली बस्नुपरेको छ । आयआर्जनमुलक क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न सीपमूलक तालिम दिइरहेका छौँ”, उनले भने, “महिलाहरु आत्मनिर्भरतर्फ अगाडि बढ्नुभएको छ, स्थानीय उत्पादित वस्तुको बजारीकरण नगरपालिकाले गर्नेछ ।”

नगरपालिकाले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको भन्दै उत्पादित वस्तु उपप्रमुख कोसेली घरमार्फत खरिद गर्ने नगर उपप्रमुख बालकुमारी थापाले बताइन । एक महिनासम्म सञ्चालित तालिम अवधिभर प्रशिक्षक डिला सिञ्जाली, माया राना, तारा थारु र सरस्वती चौधरीले सीप सिकाइन् ।

 

प्रकाशित समय : १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु