Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

छहारीको सहारा

न्युज कारोबार काठमाडौं वैशाख २१, २०७७       

छहारीको सहारा

दिउँसो करिब २ बज्दै थियो । म र अमिसा स्कुटीमै केही पोका राहत सामग्री बोकेर एकल महिलाहरुका थातबासतिर निस्कियौँ । कोही श्रीमानले छाडेका, कोही श्रीमान् बितेका अनि कोही श्रीमान बिदेसिएकाहरुको सूची वडा कार्यालयबाट लिएका थियौँ ।

बाहिर निस्किएपछि थाहा भयो, कतिपय वृद्धवृद्धा घरमा खाद्यान्न भएर पनि पकाउन नसक्ने अवस्थाका रहेछन्, बेसहारा । कतिको घरमा चुलो नबलेको धेरै दिन बितेको रहेछ । निरीह अनुहारहरु भगवान भरोसामा बसेका जस्ता देखिन्थे । शान्ति ! हात्तीगौँडा एरियामै यस्तो स्थिति छ भन्ने लागेकै थिएन । उनीहरूको दुःख देख्दा लाग्थ्यो‑ लकडाउनका कारण उनीहरूजति अफ्ठ्यारोमा को परेका होलान् र !

लकडाउन हटेपछि मुलुकको अर्थतन्त्र त विस्तारै ट्रयाकमा ल्याउन सकिएला तर अहिले जीवन बचाउन नसक्नेहरूलाई मुलुकको भविष्यसँग जोडेर हेर्नुको के अर्थ हुन्छ ? हामीले राहत सामग्री छाड्दै जाँदा उनीहरूको अनुहार उज्यालो हुन्थ्यो तर म पीडाले उद्वेलित हुन्थेँ । दिनहरू बित्दै गए । हामी राहत सामग्री बाँड्दै गयौँ । दाल चामल पाउँदा उज्यालिएका अनुहारले मलाई शीतलता प्रदान गर्न सकेन । पीडा थपिँदै गयो । उद्विग्नता बढ्दै गयो ।

तिमीलाई पनि थाहा छ शान्ति ! मानव अधिकारको लागि महिला, एकल महिला समूह स्थापनाको २५ वर्ष बित्दै गर्दा मैले धेरै दुःख भोगेको छु, धेरै संघर्ष गरेको छु, धेरै पीडा देखेको छु अनि धेरै घाउहरूमा मलम लगाएको छु । घाउहरू पुरिँदै गर्दा मलाई आनन्द महसुस हुँदै जान्थ्यो । तर, यसपटक त्यस्तो भएन ।

राहतका ९० पोका बाँड्दै गर्दा बाँकी पोकाहरु पुर्‍याउनतिर मेला पाइला अघि बढेनन् । पोकाहरु छहारी घरमै रहे । कारण थियो‑ चामल भए तरकारी नहुने, तरकारी नभए ग्यास नहुने र ग्यास नभए पकाउन सक्ने क्षमता नहुने । यसबीचमा म स्थानीय केही समाजसेवी, जनप्रतिनिधि र केही व्यापारी व्यवसायीसँग पनि छलफलमै थिएँ । वास्तविकता सेयर गरिरहेकी थिएँ । बूढानीलकण्ठ नगरपालिकाका मेयर सा'बलाई स्थिति अवगत गराउँदा उहाँ पनि छक्क पर्नुभयो ।

हामी राहत सामग्री वितरण गर्नुभन्दा खाना पकाएर बाँड्दा उपयुक्त होला भन्ने निष्कर्षमा पुग्यौँ । केहीलाई सोध्यौँ पनि । लिन आउन तयार भए । लाग्यो, ५०‑५५ जना त कसो नआउलान् ! तर, तयारी ७० जनाका लागि गर्‍यौँ । ७० जना नै आए । हामी उत्साहित भयौँ । अहिले दैनिक १३ सय जनाभन्दा बढी आउँछन् । (बाटातिर देखाउँदै) ऊ परसम्म लाइन लाग्छ । खुसी लाग्छ ।

०००

वैशाख १८ गते । दिउँसो ३ बज्दै गर्दा कोटेश्वरमा पानी दर्किन थाल्यो । म तीनकुने पुग्दा ठूल्ठूला थोपाहरू हेल्मेटमा बज्रिन थाले । सम्झिएँ, आज नमजाले भिजिने भो । टाउको उठाएर हेरेँ, पशुपतिनाथ मन्दिरमाथिको आकाश उज्यालो थियो । पानी बर्सिरह्यो । म गुडिरहेँ । पानी पछिपछि म अघिअघि जस्तै भयो । ठूला केही थोपामात्र म माथि खस्न भ्याए ।

सिनामंगल पुग्दा पानी परेको थिएन । एकैपटक हात्तीगौँडा चोक पुगेर मोटर रोकेँ । घडी हेरेँ । 'सवा ३ सम्म आइपुग्छु होला' भन्दै कोठाबाट निस्किएको थिएँ । ३:२५ भइसकेको रहेछ । मबाट १० मिनेट भ्रष्टाचार भइसकेको थियो । चोकनजिकै पसलमा सोधेँ, 'छहारी कता छ ?' मूल सडक छाडेर छहारीतिर जाने बाटैमा पुगेर सोधेछु । सजिलो भो । खाना खुवाउन थालेपछि छहारीको ख्याती बढ्दै गएको रहेछ । 'यहाँबाट २०० मिटर अगाडि जानुस् देखिहाल्नुहुन्छ,' फार्मेसीवालाले बाटो बताइदिए ।

०००

संघीय सांसद शान्ति पाख्रिन मलाई फोन गरेर सिंहदरबारबाट निस्किएकी थिइन् । म तयार भएर हिँड्दा अलि ढिला भएको थियो । म पुग्दा समूहकी संस्थापक अध्यक्ष लिली थापाको कार्यकक्षमा सांसद पाख्रिनसहित अमिसा (कर्मचारी) र सैनिक एकल महिला तथा घाइते परिवार समूहका सदस्य पनि थिए ।

अध्यक्ष थापा 'एकल महिला, वृद्धवृद्धा, विद्यार्थी, अशक्त र बेसहारालाई खाना खुवाउँदा खुवाउँदै सोह्रौँ दिन कसरी बिते' बताउँदै थिइन् । हामीले परिचय गर्‍यौँ । घाइते परिवार समूहकी कोषाध्यक्ष शान्ति महर्जन, जसले ११ वर्षे सशस्त्र द्वन्द्वका क्रममा श्रीमान केशव महर्जनलाई गुमाएकी रहिछन् । उदयपुरको बेलकाका नहेन्द्र निरौलाको दाहिने हात थिएन, नुवाकोटको शिवपुरीका सुरेन्द्र तामाङको देब्रे आँखा गुमेको रहेछ । म केहीबेर मौन रहेँ ।

सशस्त्र द्वन्द्व, देशले भोगेको पीडा, परिवर्तनका लागि लडेका योद्धा, यसका नेतृत्वकर्ता, शान्ति सम्झौता, तत्कालीन शासक अनि देशको वर्तमान अवस्थाले एकसाथ चिमोट्यो । निकै असहज भयो । जुरुक्क उठेँ र केही फोटा लिएँ । अनि चुपचाप बसेँ ।

'अचम्म त त्यतिबेला लाग्थ्यो शान्ति, जब हामी राहत सामग्री लिएर जान्थ्यौँ, कतिपय घरवालाहरू पनि आफ्नो अधिकारजस्तो गरी राहतका लागि हानाथाप गर्थे, तीन तला अग्ला घर भएकाहरु झगडा गर्थे,' अध्यक्ष थापा भन्दै थिइन् । 'हो नि ! मैले पनि भोगेको छु । नागरिकमा कस्तो थिति बसाल्ने भन्ने जनप्रतिनिधिले नै हो । अस्ति मान्छे गाउँ लैजाँदा ठूल्ठूलो रकम खर्च गरेको पनि देखेँ । हरेक चुनावमा यस्तै हुन्छ ।

अवैध धन्दा नगरे नेतालाई कहाँबाट आउँछ पैसा ? दुःख गरेको पैसा यसरी उडाउन कसले सक्छ ? नेताहरूले गलत परिपाटी बसाएका कारण हामी जस्ता जनप्रतिनिधिलाई पनि समस्या भइरहेको छ, अरुसँग जस्तै ठूल्ठूलो अपेक्षा गर्छन्, तर हामीबाट त सम्भव हुँदैन अनि रिसाउँछन् । हामीले १९ वटा गाडी पठायौँ, एउटै खर्च भएन,' सांसद पाख्रिनले दुःख बिसाइन् ।

०००

काठमाडौँको बूढानीलकण्ठ ६ हात्तीगौँडामा केन्द्रीय कार्यालय रहेको मानव अधिकारको लागि महिला, एकल महिला समूहले लकडाउनका कारण रोजीरोटी गुमाएकाहरूलाई वैशाख ३ गतेदेखि लगातार खाना खुवाइरहेको छ । तर, खाद्य सामग्री जुटाउन, खाना पकाउन, प्याकिङ गर्न, बाँड्न र केही स्थानमा पुर्‍याउनसमेत कुनै समस्या छैन । यसका लागि दैनिक २५ जना बिहानदेखि खट्छन् ।

एउटा हात र एउटा आँखा गुमाएका नहेन्द्र र सुरेन्द्रहरू दिनभर खाना पकाउन र अपराह्नमा बाँड्न खट्छन् । दैनिक १२ बोरा चामल, डेढ सय किलो तरकारी र ३० किलो दाल पाक्छ । १३‑१४ सय मानिस पालिएका छन् ।

यसका लागि दैनिक २५ जना बिहानदेखि खट्छन् । एउटा हात र एउटा आँखा गुमाएका नहेन्द्र र सुरेन्द्रहरू दिनभर खाना पकाउन र अपराह्नमा बाँड्न खट्छन् ।

दिनभर चामल, दाल, तेल, नुन, तरकारी भित्रिरहन्छ । एकल महिला समूहका जिल्ला शाखालगायतले तरकारी जोहो गरिरहेका छन् । सुनाकोठी, भक्तपुर, धादिङ, धापाखेल, साँखु, धर्मस्थली, मच्छेगाउँलगायतका ठाउँबाट समूहका सदस्यले तरकारी लिएर आउने गरेका छन् । स्वयंसेवक साथीहरूलाई खुवाउने खानेकुरा पनि बाहिरबाटै आउँछ । यो सबै कुराको व्यवस्थापन समूहकी कर्मचारी अमिसा थिङ तामाङ मिलाउँछिन् ।

खाद्य सामग्री जुटाउन संस्थापक अध्यक्ष थापा र एनजिओ फेडेरेसन काठमाडौँका अध्यक्ष प्रदीप डंगोल खटेका छन् । 'भोलिका लागि समस्या पर्ला जस्तो लाग्यो भने फेसबुकमा लेखिहाल्छौँ, सहयोग गर्नेहरुको धमाधम फोन आइहाल्छ,' अध्यक्ष डंगोलले भने, 'स्थानीयबासी, व्यापारी र व्यवसायीबाट यति ठूलो सहयोग होला भन्ने अपेक्षा गरिएको थिएन, सहयोगी मनहरू धेरै रहेछन् ।'

नियमित खाना खान पाउँदा दुःखी‑गरिबहरूको आँत भरिएको छ । छहारीलाई मनदेखि आशीर्वाद दिइरहेका छन् । भाग्यसँग जोडिरहेका छन् । 'समूहले केन्द्रीय कार्यालय हात्तीगौँडामा खोल्नु हाम्रो भाग्यको कुरा हो,' खाना खान आउनेहरू भन्छन्, 'छहारीकै कारण आज हामी गरिबले भोकै मर्नुपर्ने अवस्था टरेको छ ।'

०००

साँझ ५ बज्न लाग्दै थियो । आकाश मडारिन थाल्यो । पानीका थोपा जमिनमा टप्किँदै गर्दा खाना लिन आउनेहरूको लामै लाम लागिसकेको थियो । युट्युब च्यानलबाट भन्दै केही मित्रहरू पनि आएका थिए । म लाम लागेकाहरुतिर गएँ । अधिकांशले कपडाका मास्क लगाएका थिए । केही सोधेँ । उनीहरू लजाइलजाइ बढो मुस्किलले उत्तर दिइरहेका थिए । धेरैलाई सोध्न मन लागेन ।

लाइनको पछाडितिर गएर उभिएँ । उनीहरूको मजबुरी सम्झिएँ । कोही पनि घरमा खानेकुरा भइभइ आएजस्तो लागेन । युट्युबर मित्रले क्यामेरा तेर्स्याएर अग्रपंक्तिमा उभिएका अलि बूढा बालाई केही सोध्दै थिए । मलाई मन परिरहेको थिएन ।

यसमा मेरो मान्यता अलि फरक छ‑ गरिबी बेच्नु हुन्न । हुन त युट्युबरलाई यसको हेक्का हुने कुरा भएन तर मानवीयताका हिसाबले भए पनि सोचिदिए हुन्थ्यो जस्तो लागिरहेको थियो ।

क्यामेरा बोकेका एक जना भाइ लाइनको बीचतिर आइपुगे । हातको इशाराले बोलाएँ । उनी क्यामेरा चलाउन जान्दा रहेछन् । त्यही भएर पठाइएको रहेछ । घाँटीमा प्रेस लेखेको परिचय पत्र झुन्ड्याएका थिए । 'भाइ पत्रकार हो ?' 'होइन,' उनले सहजै भने । 'अनि कार्ड नि !' 'बनाइदिनुभा'छ ।' 'को हुनुहुन्छ सम्पादक ?' 'खोइ !'

अरु सोध्नतिर लागिन । बरु भन्न थालेँ, 'भाइ मानवीय संवेदनामाथि कहिल्यै खेल्नु हुँदैन, यसरी खाना खुवाउँदै गरेको कुरा युट्युबबाट पनि बाहिर ल्याउनु राम्रो हो, ल्याउनुपर्छ ताकि अरु पनि खाना खान आउन सकुन् तर कहिल्यै क्लोज सट नखिच्नु, सकिन्छ भने ब्याक साइटतिरबाट खिच्नु, लाममा बसेकाहरूको अन्तर्वार्ता लिँदै नहिँड्नु । यिनीहरूको पीडा बेच्नु हुँदैन ।'

यति भनिरहँदा उनको अनुहारको रंग बदलियो । 'पत्रकारिताको भ्यालु अति उच्च छ, कसैले दुई कौडीको भन्दैमा दुई कौडीको हुने, नभन्दा महान हुने भन्ने हुँदैन । पत्रकारितामा रुची छ भने सुरुमा तालिम लिनुपर्छ या त कुनै एकेडेमिक कोर्स गर्नुपर्छ । रहर लाग्यो भन्दैमा घाँटीमा कार्ड झुन्ड्याउनु पेसाकै बदनाम गर्नु हो । नरिसाउनु है । प्रेस कार्ड झुन्ड्याएको देखेर भनेको ।' 'हैन सर ! तपाईंले बोलाइ‑बोलाई यति भन्नुभयो, मैले धेरै बुझ्ने मौका पाएँ । किन रिसाउनु ?'

उनले मनदेखि भने या भनिदिए थाहा भएन तर मलाई भने कुनै ग्लानी भएन । म आफ्नो पेसागत धर्म निर्वाह गरेकोमा मख्ख थिएँ । हामी कुरा गरिरहँदा नजिकै उभिएका एक जना भाइले सुनिरहेका थिए । म उनीतिर फर्किएँ । 'भाइ ! घर कहाँ हो ?' 'पोखरा ।' 'काठमाडौँ किन आएको ? के काम गर्ने गरेको छ ?' 'सडकमा काम गर्छु ।' 'अहा ! कति राम्रो ! भाइहरुले सडक बनाइदिएका कारण हामी हुइँकिन पाएका छौँ ।'

उनी हाँसे । 'दैनिक कति कमाइ हुन्थ्यो ?' '८०० ।' 'त्यो त मासिक २४ हजार हो नि ! बचत गरेको थिएन ?' 'थियो । घर पनि पठाउँथेँ । लकडाउनको केही दिनअघि पठाएको थिएँ । अलेलि राखेको पनि सकियो । अनि के गर्ने ?' 'सकेसम्म खर्च कटाएर बचत गर्न सिक्नुपर्छ । सानो‑सानो बचतबाट नै ठूलो रकम जम्मा हुने हो । अबदेखि सम्झिनु है त !' उनले 'हुन्छ' भने ।

म प्रेस कार्ड झुन्ड्याउने मित्रतिर फर्किएँ । 'पत्रकारको दायित्व समाचार लेखनमा सीमित हुँदैन । कतिपय अवस्थामा जानेका कुरा सिकाउन पनि पछि पर्नु हुँदैन ।' 'सही भन्नु भो ।' हामी छुट्यौँ ।

घर फर्किएपछि नजिककोसाथीडटकम टाइप गरेँ । 'समाचार' खासै अपडेट हुँदै रहेनछ । हेरिरहेको छु । वैशाख १३ पछि वैशाख २१ सम्म अपडेट भएको छैन । सम्पादकको नाम छैन । सूचना विभाग दर्ता नम्बर छैन । उनको घाँटीमा झुन्डिएको रातो रंगको प्रेस कार्ड आँखामा छाइरह्यो ।

आज प्रेस स्वतन्त्रता दिवस । सम्झिरहेको छु‑ हामी कस्तो प्रेस स्वतन्त्रताको कल्पना गरिरहेका छौँ । कस्तो प्रेस स्वतन्त्रता माग गरिरहेका छौँ । अनि कस्तो प्रेस स्वतन्त्रताको वकालत गरिरहेका छौँ । हाम्रो मुर्ख्याइँका कारण प्रेसजगत 'धन्धा' गर्ने थलोमा परिणत भइरहेको त छैन ?

सम्बन्धित खबरहरु