nmb bank

गृहपृष्ठ पर्यटकीय क्षेत्र रिठेडाँडामा थपिँदै पर्यटन पूर्वधार

पर्यटकीय क्षेत्र रिठेडाँडामा थपिँदै पर्यटन पूर्वधार

पर्यटकीय क्षेत्र रिठेडाँडामा थपिँदै पर्यटन पूर्वधार

बागलुङको जैमिनी नगरपालिका-५ बिनामारेस्थित पर्यटकीय क्षेत्र रिठेडाँडामा पर्यटन पूर्वाधार निर्माण भइरहेका छन् । अनकन्टार भिरको शिरमा रहेको रिठेडाँडामा नगरपालिका र गण्डकी प्रदेश सरकारले विसं २०७४ देखि पूर्वाधार निर्माण गर्दै आएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न  पर्यटन पूर्वाधार निर्माण गरिरहेको जैमिनी नगरपालिका-५ का अध्यक्ष ठगबहादुर थापाले बताए ।

अग्लो डाँडाको शिरमा समथर भूभाग छ । यहाँ आन्तरिक पर्यटक घुम्न आउने हुँदा यसलाई उत्कृष्ट गन्तव्य बनाउन संरचना थप्दै गएको भनाइ छ । हालसम्म ४५ लाख बढी लगानी गरिसकेको अध्यक्ष थापाले जानकारी दिए ।

रिठेडाँडामा शौचालय, खानेपानी, चौतारा, मन्दिर घेराबारलगायतका संरचना बनिसकेका छन् ।  पर्यटकलाई समथर मैदानको बीचमा रहेको पोखरी र चिसो बतास चल्ने रिठेडाँडादेखि देखिने दृश्यले लोभ्याउने गरेको छ । गर्मी याममा शीतल खोज्दै पर्यटक आउने गर्छन् । नगरपालिकाले आगन्तुकका लागि रुखमुनि बसेर शीतल ताप्न चौतारी बनाइदिएको छ । पछिल्लो समय पर्यटक बढ्दै गएपछि घाम पानी छेक्न विश्रामस्थल बनाइएको छ ।

“रिठेडाँडा जैमिनीको मात्रै नभई सिङ्गो बागलुङको पर्यटकीय क्षेत्र हो, यो ठाउँ वर्षौंदेखि ओझेलमा परेको थियो, नगरपालिका स्थापना भएपछि हामीले यहाँ लगानी गर्दै आएका छौँ”, “यस वर्ष पनि प्रदेश र नगरपालिकाको रु १० लाख बजेटले सार्वजनिक शौचालय र खानेपानी व्यवस्थापनको काम हुँदैछ, पहिलेको तुलनामा अहिले निकै परिवर्तन भएको छ, पर्यटकले पनि रुचाउँदै गएका छन् ।”

यहाँ पर्यटन पूर्वाधार निर्माणसँगै प्रचारप्रसार हुन थालेपछि पर्यटक बढेको जैमिनी नगरपालिका(५ का स्थानीय हर्कबहादुर थापामगरले जानकारी दिए। पहिले गाउँलेले गाईभैँसी चरन क्षेत्रका रुपमा प्रयोग गर्ने रिठेडाँडा अहिले पर्यटक रमाउने स्थलकारुपमा विकास भएको भनाइ छ । अझ सबैभन्दा बढी त माघ, फागुनको समयमा आन्तरिक पर्यटक आउने गर्छन् । चाडपर्वमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ ।

 

रिठेडाँडादेखि बागलुङको विभिन्न स्थानसहित पर्वत, स्याङ्जा र उच्च पहाड नजिकबाट अवलोकन गर्न सकिन्छ । ग्रामीण जनजीवन बुझ्न र अर्गानिक खानाका स्वाद लिन पर्यटक रिठेडाँडा आउने गर्छन् ।

प्रकाशित समय : १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु