global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र’

‘अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र’

‘अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र’

रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बन्नु भएका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत नै चर्चामा आएका थिए । शेर्पा भाषामा तयार भएको उक्त चलचित्रमा हिमाली संस्कृति र कथा देखाइएको थियो भने यो पहिलो पटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुग्ने निजी लगानीको चलचित्र थियो । ट्रेन्टो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवलगायतमा सहभागिता जनाउन सफल भएका निर्देशक सुब्बाको दोस्रो चलचित्र ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोलगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका थिए ।

पछिल्लो समय नेपाल मौलिक कथा भन्नेमा अगाडि रहेको निर्देशक सुब्बाले बताए । “हामीले निर्माण गरेका चलचित्र अहिले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइरहेका छन् । हामी मौलिक कथा भन्ने सन्दर्भमा छिमेकीमुलुक भारतभन्दा अगाडि छौँ किनकी उनीहरूको चलचित्र नपुगिरहेको अन्तर्राष्ट्रिय महोत्सवमा हाम्रो चलचित्र छनोट भइरहेका छन्”, निर्देशक सुब्बाले भने ।

उनले निर्देशन गर्नुभएको चौथो चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ गते प्रदर्शन हुँदैछ । त्यसअगाडि विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँं संस्करणमा छनोट भई प्रथम प्रदर्शनी (वर्ल्ड प्रिमियर) गरिएको चलचित्र दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सव, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलगायतमा छनोट भइसकेको छ । अन्तर्राष्ट्रिय महोत्सवमा हुने सहभागिताले नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन गर्नुका साथै पर्यटन प्रवर्द्धमा समेत टेवा पु¥याउने उनको विश्लेषण छ ।

“हामीले चलचित्रमार्फत दिइरहेको सन्देश र देखाइरहेको दृश्यले अरुलाई सहजै प्रभावित पार्न सक्छौँ । विश्वका ठूला चलचित्र उद्योग अहिले प्रविधिको सहायताले अगाडि बढिरहँदा हामीले आफ्नो मौलिकता प्रस्तुत गर्न सके त्यो सबैका लागि नयाँ र भिन्न हुनेछ”, निर्देशक सुब्बाले भने । यद्दपि उहाँ चलचित्र विदेशी र स्वदेशी दुवै बजारका लागि सुहाउँदो हुनुपर्नेमा स्पष्ट छन् । विदेशी महोत्सवमा पुगेर वा स्वदेशमा व्यापारिक सफलतामात्र आर्जन गरेर चलचित्रको विकास नहुने उनको बुझाइ छ । “अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नपुग्दासम्म हाम्रोबारेमा विदेशी चलचित्रकर्मीलाई धेरै ज्ञान हुँदैन । त्यहाँ हुने प्रदर्शनी, प्राप्त गर्ने पुरस्कारले हाम्रो निर्माण क्षमता र कथाबारे उनीहरूलाई अवगत गराउँछ । त्यस्तै, घरेलु बजारमा राम्रा चलचित्र बनाउने दबाब पनि बढ्छ । त्यसकारण दुवैलाई ध्यानमा राख्दै चलचित्र बन्नुपर्छ”, निर्देशक सुब्बाले भने ।

महोत्सवमा सहभागी भएको चलचित्र भन्नेवित्तिकै मनोरञ्जन नहुने भन्ने किसिमको भाष्य सही नभएको उनको भनाइ छ । किनकि चलचित्रको विधा र प्रस्तुतिकरणअनुसार मनोरञ्जन, समवेदना र हास्यरस हुने उनले बताए । “अन्तर्राष्ट्रिय महोत्सवमा पुगेका चलचित्र हेर्न बढी दिमाग प्रयोग गर्नुपर्छ भन्ने भाष्य गलत छ । किनकि कालोपोथी होस् वा ऐना झ्यालको पुतली निकै मनोरञ्जनात्मक छ तर यसको प्रस्तुतिकरण नियमितभन्दा पक्कै फरक छ । यसकारण यो चलचित्रकर्मीको रोजाइमा परेको हो”, निर्देशक सुब्बाले भने ।

उनले बुवा–छोराको कथाले चलचित्र भवनमा रहेका दर्शकलाई पर्दाभित्रका कलाकारसँग जोड्ने विश्वास व्यक्त गरे । गाउँमा बाटोले विकाससँगै के–के ल्याएको छ भन्ने तथ्यलाई एउटा परिवारमार्फत देखाइएको उनले बताए । “कहिलेकाहीँ गाउँ आउने बाटोले गाउँलाई सहरसँग जोड्छ वा सहरमा तान्छ । बसाइसराइ, आधुनिकतासँगै गाउँ नै रित्तो पनि बनाउने गरेको छ । हामीले यस्तै विषयलाई एउटा परिवारको आँखा वा भोगाइबाट व्यक्त गरेका छौँ । यो हाम्रो ग्रामीण भेगको कथा हो”, निर्देशक सुब्बाले भने ।

‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले अभिनय गरेका छन् ।

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु