nmb bank

गृहपृष्ठ बैंकमा थुप्रियो १९ खर्ब विदेशी मुद्रा, कुन महिनामा कति थुप्रियो ?

बैंकमा थुप्रियो १९ खर्ब विदेशी मुद्रा, कुन महिनामा कति थुप्रियो ?

बैंकमा थुप्रियो १९ खर्ब विदेशी मुद्रा, कुन महिनामा कति थुप्रियो ?

बैकहरुमा विदेशी मुद्रा थुप्रिदै गएको छ । चालु आर्थिक वर्षको सुरुवातीदेखिनै विदेशी मुद्रा थुप्रिदै गएको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ को ९ महिनासम्ममा कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। जबकि गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो।

हाल भएको सञ्चितिको कुल गार्हस्थ्य उत्पादन अनुपातहरू ३३.५ प्रतिशत हो। गत असार यता २४.२ प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड डलर पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखाएको हो। कुल सञ्चितिमध्ये केन्द्रीय बैंकमा १६ खर्ब ८८ अर्ब २१ करोड छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब २३ अर्ब ६५ करोड छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत छ भने बाँकी अन्य मुद्रा रहेको छ।

कुन महिनामा कति थुप्रियो ?

अहिलेसम्मको आयातको स्थितिलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। क्राइसेस व्यवस्थापनको दृष्टिकोणले भने सामान्यतया नेपालजस्तो मुलुकमा न्यूनतम ५ महिनाको आयात धान्न सक्ने सञ्चिति हुनुपर्छ भन्ने मान्यता छ। तर यतिबेला पर्याप्त छ।

वैदेशिक विनिमय सञ्चिति अधिक हुनु राम्रो संकेत हो। यसले बाह््य क्षेत्र मजबुत हुँदै गएको पुष्टि गर्छ। वास्तवमा आयातबाटै बढी विदेशी मुद्रा बाहिरिँदै आएकोमा यतिबेला आयात नियन्त्रित हुँदै गएको छ। नेपालको निर्माण क्षेत्रले गति लिन नसक्दा पूर्वाधारलगायतमा हुने आयात घटेको छ। चालु आवको चैत्रसम्ममा कुल वस्तु आयात २.८ प्रतिशतले कमी आई ११ खर्ब ६७ अर्ब ३७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.२ प्रतिशत र २२.६ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा सुन, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान तथा चामललगायतका वस्तुको आयात घटेको छ। यद्यपि यसबीच सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोसाक, हवाईजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडालगायतका वस्तुको आयात भने बढेको छ।

विदेशी मुद्रा सञ्चितिको मुख्य स्रोत रेमिट्यान्स मात्रै ९ महिनासम्ममा १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ। रेमिट्यान्स मुलुकका लागि दिगो स्रोत भने नभएको सरोकारवाला बताउँछन्। दीर्घकालीन स्रोतका लागि आन्तरिक उत्पादनमै केन्द्रित हुन पनि जोड दिँदै आएको छ। यसर्थ विदेशी मुद्राको अर्को दिगो स्रोत भनेको निर्यात हो।

चैत्रसम्ममा १ खर्ब १३ अर्ब ९५ करोडको निर्यात भएको छ। अझ यो गत आवको भन्दा ३.७ प्रतिशतले कम हो। यससँगै भ्रमण आय शीर्षकमा पर्यटनबाट नेपालमा ६० अर्ब ४५ करोड पुगेको छ। अझ भ्रमण आयभन्दा व्यय बढी हुँदा सेवा खाता घाटामा छ। हाल विदेशमा उपचार गर्न, अध्ययन गर्न तथा भ्रमण गर्न जाँदा ९ महिनामा १ खर्ब ४३ अर्ब २२ करोड पुगेको छ। यसमध्ये नेपालबाट शिक्षामा मात्रै ९५ अर्ब ८५ करोड बाहिरिएको छ। यस्तै, वैदेशिक मुद्राको अर्को स्रोत खुद प्रत्यक्ष वैदेशिक लगानी पनि ६ अर्ब ४८ करोडले धनात्मक रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६२ करोडले मात्रै धनात्मक थियो।

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने वैदेशिक मुद्रा अधिक हुँदा शोधनान्तर स्थिति बचतमा हुन्छ। लामो समयदेखि मुलुक शोधनान्तर स्थिति बचतमै छ। हालसम्म शोधनान्तर ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा थियो।

यस्तै, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७५ करोडले बचतमा छ। यस्तै, चालु खाता पनि १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा छ। जबकि अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोडले बचतमा छ।

प्रकाशित समय : १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु