nmb bank

गृहपृष्ठ सात बुँदे घोषणापत्र जारी गर्दै फेडनको साधारणसभा सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै फेडनको साधारणसभा सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै फेडनको साधारणसभा सम्पन्न

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल (फेडेन) को वार्षिक साधारणसभा सात बुँदे घोषणापत्र जारी गर्दै काठमाडौँमा सम्पन्न भएको छ ।

आइतबार सम्पन्न साधारणसभाले लामो समयदेखि वैदेशिक सहायता रकममा दाताहरूकै एकाधिकार रहँदा नेपालको समग्र सामाजिक सेवा क्षेत्र नै बद्नाम हुने अवस्था सिर्जना भएकाले त्यसलाई सच्याउन अन्तर्राष्ट्रिय दातृ निकाय र त्यसमा सहजीकरणका लागि सरकारसँग आग्रह गरेको छ ।

त्यस्तै, एकीकृत सामाजिक विकास कानुन बनाई समाज कल्याण परिषद्लाई जवाफदेही र प्रभावकारी बनाउन तथा एकद्वार प्रणाली लागूगर्न सहजीकरण गर्नुपर्ने समेत अवश्यकता औैँल्याइएको छ ।

साधारणसभाले नेपालको कानुनले दिएको कर छुटसम्बन्धी व्यवस्था कार्यान्वयन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ । “समाज सेवा गर्ने उद्देश्यले स्थापित गैरसरकारी संस्थाहरूलाई कानुनले दिएको कर छुटको व्यवस्थालाई कर कार्यालयहरूले स्वेच्छाचारीरूपमा प्रयोग गरिरहेका छन् । यसबाट संस्थाहरूलाई अल्झनमा राख्ने र दुरुत्साहित गर्ने काम भएकाले त्यस्ता कार्य तत्काल बन्द गर्न नेपाल सरकारसमक्ष माग गर्दछौँ”, संस्थाद्वारा जारी घोषणा पत्रमा उल्लेख छ ।

त्यसैगरी सरकारले विभिन्न बहानामा नागरिक समाजको भूमिकालाई राज्यले संकुचित गराउँदै भन्दै संयुक्त राष्टसङ्घले गैरसरकारी संस्थालाई दिएको मान्यतालाई आत्मसात् गरी राज्यका हरेक गतिविधिमा नागरिकको प्रतिनिधिका रूपमा स्वीकार गर्न र सोहीअनुरुपको व्यवहार गर्न पनि आग्रह गरिएको छ ।

साधारणसभाले दिगो विकास लक्ष्य हासिल गर्न मानव विकास सूचकाङ्कमा पछि परेका समुदाय, वर्ग र क्षेत्रको मूलप्रवाहीकरणमा योगदान गर्न, दिगो विकास लक्ष्य, आवधिक योजना र राष्ट्रिय विकास प्राथमिकताका आधारमा समुदायस्तरमा केन्द्रित रहेर रुपान्तरणका अभियान सञ्चालन गर्न आवद्ध संस्थालाई समेत आग्रह गरेको छ । पूर्णअशक्त अपाङ्गता भएकाहरूका मागसहित काठमाडौँको रत्नपार्कमा अनसनरत झापाका दिपकप्रसाद भण्डारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अपाङ्गता अधिकारसम्बन्धी ऐनलाई कार्यान्वयन गर्न बनेको नियमावली २०७७ को दफा ९ मा भएको व्यवस्था कार्यान्वयनका लागि समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।

साधारणसभामा ६५ जिल्लाका महासंघ सदस्य संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटनशत्रमा नेपाली कांग्रेस सामाजिक संस्था समन्वय विभाग प्रमुख डा रणबहादुर रावल प्रमुख अतिथिका रुपमा र समाज कल्याण परिषद्का सदस्य सचिब मनोज भट्ट, कांग्रेस नेतृ डा डिला संग्रौलालगायत विशिष्ट अतिथिहरूका उपस्थिति रहेको अध्यक्ष रमेश धमलाले जानकारी दिए ।

 

प्रकाशित समय : १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु