nmb bank

गृहपृष्ठ बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो

बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो

बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो

डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन् । कुनै समय गोठमुनि खात लाग्ने मलखात स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ । नजिकैको जङ्गलबाट झरेर आउने स्याउला कसैले टिप्दैनन् । गाउँघरमा पशुचौपाय पाल्नेको सङ्ख्या घट्दै जाँदा बाँझो बारीको घाँस सुकेको छ । चैत/वैशाखकको घामले सुकेका स्याउला, झाडी र घाँसकै कारण आगलागीका घटना बढिरहेका छन् ।

यो वर्षको सुक्खायाम सुरु भएपछि बागलुङका वनक्षेत्रमध्ये ५० प्रतिशतमा आगलागी भइसकेको छ । पाखोबारी, घरछेउका जङ्गल र झाडीबाट सुरु भएको आगो घना वनक्षेत्रसम्म फैलिएका घटना डिभिजन वन कार्यालयमा सूचीकृत छन् । आगलागी हुने प्राकृतिक विपत्ति हो तर आगलागी भइसकेपछि नियन्त्रणमा लिने जनशक्ति गाउँघरमा छैनन् ।

“हिजो मल बन्ने पातपतिङ्गर आज आगलागीका कारण भएरहेका छन्, खेती हुने जमिनमा घाँस र झाडी फैलिँदै जङ्गलमा लागेको आगो घरसम्मै आइपुग्छ”, डिभिजन वन कार्यालयका अधिकृत सरोज पन्थीले भने, “बसाइँसराइका कारण गाउँ खाली हुँदा आगलागीका घटना बढे, आगो समयमा निभाउनसक्ने जनशक्ति पनि छैन् गाउँमा ।”

पातपतिङ्गरको उपयोग बढाउने, समयसमयमा झाडी फँडानी गर्ने र पानीका स्रोत बढाउने हो भने आगलागीका घटनामा कमी आउनेमा सामुदायिक वनका उपभोक्ता सहमत छन् ।

“जङ्गलमा लागेको आगो निभाउन सकिन्थ्यो तर हामीसँग पर्याप्त पानीका स्रोत तथा आगो निभाउने औजार छैनन्”, रामरेखा सामुदायिक वनका उपभोक्ता कृष्ण शर्माले भने “नियम बनाएर तीन/तीन महिनामा झाडी फँडानी गरौँ, पातपतिङ्गरलाई मलको रुपमा विकास गरौँ । यसमा राज्यले सहयोग गर्नुपर्दछ ।”

कतिपय आगो मानवीय क्रियाकलापमा हुने त्रुटिबाट डढेलो बन्छ भने कतिपय ठाउँमा नियतबस् आगो लगाइन्छ । नियतबस आगो लगाउनेलाई कारबाही गर्ने कानूनी व्यवस्था भए पनि सूचनाको अभावमा आगलागी जस्तो आपराधिक घटनामा संलग्न कानुनको दायरामा नआउने प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।

“घर छेउको जङ्गलमा आगो लाग्दा सबै रमिते हुन्छन् । प्रहरी आएन भनेर आलोचना गर्छन् तर समयमा सूचना दिँदैनन्”, “आगलागी गर्ने व्यक्तिका विषयमा सूचना पाए कारबाही हुन्छ । यो कुरा अरुका लागि पनि सिकाइ हुन्छ ।” आगो निभाउनका लागि सूचना ढिलागरी आउँदा जोखिमपूर्ण अवस्थामा बिना बजेट र औजार आगोसँग प्रहरी खेल्नु परेको गुनासो कँडेलले गरे ।

घाँस राम्रो पलाउने, जङ्गली जनावर तथा पन्छीहरुको सहजै सिकार गर्न पाइने लोभका कारण मानव सिर्जित आगलागी बढेको राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार, जलवायु उत्थानशिल आयोजना पोखराका अधिकृत सुनिल सापकोटाले बताउनुभयो । पश्चिमाहरुको सिको गरेर झाडीमा आगो लगाउँदा वन मासिएको भनाइ छ ।

वनजङ्गल, जडीबुटी र वातावरण संरक्षणका विषयमा जनचेतनाको अभावले आगलागीका घटना बढेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

पोखरी, कुवालगायत पानीका स्रोत मासिनु, झाडी तथा बुट्यान क्षेत्र बढ्नु र मानिसमा चेतनाको अभाव हुनुलगायत कारणले प्रत्येक वर्ष घटना दोहोरिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालले बताए । जिल्लामा ढोरपाटन शिकार आरक्ष, तीन राष्ट्रिय वन क्षेत्र र पाँच सय ४० सामुदायिक वन तथा दुई वटा निजी वन छन्भने कयौँ हेक्टरमा सूचीकृत भइनसकेको निजी वन क्षेत्र छ ।

उपभोक्ता र सरोकारवालालाई तालिम

डिभिजन वन कार्यालय आयोजना र राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार, जलवायु उत्थानशील आयोजनाको सहयोगमा वन डढेलो व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।

बढ्दो डढेको नियन्त्रणका लागि सामुदायिक वनका उपभोक्ता तथा सरोकारवालाका लागि डढेकोका कारण मानव जीवन र वातावरणमा परिरहेको प्रभाव तथा डढेको नियन्त्रका लागि अपनाउनु पर्ने सतर्कताका विषय तालिममा जानकारी गराइएको थियो । साथै कार्यालय परिसरमा आगो नियन्त्रणको अभ्यास पनि गराइएको थियो ।

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु