nmb bank

गृहपृष्ठ २० करोड लगानीमा सञ्चालित कोल्डस्टोर सङ्कटमा

२० करोड लगानीमा सञ्चालित कोल्डस्टोर सङ्कटमा

२० करोड लगानीमा सञ्चालित कोल्डस्टोर सङ्कटमा

कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त कोल्डस्टोर लिलामी हुने अवस्थामा पुगेको हो । सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षमता भएको कोल्डस्टोर आर्थिक अभावका कारण सङ्कटमा परेको छ ।

किसानको आवश्यकतालाई मध्यनजर गर्दै घोडाघोडी–१० मा विसं २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै सबैभन्दा ठूलो कोल्डस्टोर सञ्चालन गरिएको थियो ।

रिज्म परियोजनाको एक करोड ९० लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त कोल्डस्टोर २० करोड बढी लगानीमा तयार भएको थियो । निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आएको कोल्डस्टोरले ऋण तिर्न नसक्दा बन्द हुने अवस्था पुगेको कोल्डस्टोर सञ्चालक समितिका अध्यक्ष रामबहादुर रावतले बताए । उनका अनुसार स्टोरलाई २० करोड बढी ऋण रहेको छ।

‘बैंकमा मात्रै १६ करोड ४४ लाख ऋण छ । अन्य सहकारी, विद्यालय, सामुदायिक वनलगायतमा गरी २० करोड बढी पुुग्छ’, रावतले भने, ‘सरकारले अनुदान पनि दिएन अहिलेसम्म किसानकै पैसाबाट सञ्चालन भइरहेको छ ।’ उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० कोल्डस्टोरका लागि नौ करोड ९० लाख विनियोजन गरे पनि उपलब्ध भएको छैन ।

कोल्डस्टोर सञ्चालन भएकै वर्ष यहाँका तीन हजार चार सय ५३ जना किसानले आफ्नो उत्पादन राखेकामा अहिले उक्त सङ्ख्या बढेर छ हजार बढी पुगेको रावतले जानकारी दिए । कैलाली, कञ्चनपुरसहित डडेल्धुराको गन्यापधुरा गाउँपालिका, पर्शुराम नगरपालिका र रुपन्देहीको शुद्धोदन गाउँपालिकाका किसान यसबाट लाभान्वित भएका छन् ।

किसानको सङ्ख्या बढिरहे पनि आर्थिक अभावका कारण बन्द गर्नुपर्ने अवस्था आउन लागेको रावतको भनाइ छ ।

कोल्डस्टोर भएर निकै सहज भएको कैलालीको बर्दगोरिया गाउँपालिकाबाट आलुको बिउ भण्डारण गर्न आएका किसान रामु चौधरीले बताए । ‘यसपटक वर्षभरि घरमा खानलाई राखेर बेचेको ल्याएको छु । बन्द हुुने अवस्थामा स्टोर छ किसानले कसरी जीविकोपार्जन गर्ने ?”, उनले प्रश्न गरे ।

स्टोर सञ्चालनमा आएपछि खेती सुरु गरेको बताउँदै स्टोर बन्द भएमा उत्पादित तरकारी तथा आलु भण्डारणमा समस्या हुने किसान प्यारेलाल चौधरीले बताए ।

उक्त कोल्डस्टोरमा आलु, स्याउ, सुन्तला, अनार, अङ्गुर र बन्दागोपी राख्न मिल्ने सञ्चालक समितिका अध्यक्ष रावतले बताए । विद्युत्को बिल भुक्तानी गर्न समस्या भएपछि यहाँ पटकपटक लाइन काटिने गरेकोे शेयर सदस्य राजेन्द्र देवकोटाले बताए । यसरी विद्युत् काटिँदा किसानले राखेका उत्पादन बिग्रन सक्ने खतरा बढेको उनको भनाइ छ ।

‘किसानबाट उठेको आठ लाख बिजुलीको बिल तिरेका छौँ’, अध्यक्ष रावतले भने, ‘बैंकले पनि यही चैत्र २० गते लिलामीका लागि बोलिसकेको छ । स्टोरलाई बचाउन किसानलाई नै शेयर जारी गर्ने अभियानमा लागेको छु ।’

प्रदेशकै ठूलो कोल्डस्टोरको संरक्षण गर्न प्रयास गरिरहेको घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए ।

प्रकाशित समय : ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु