global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अख्तियारमा उजुरी बढे

अख्तियारमा उजुरी बढे

अख्तियारमा उजुरी बढे

अनियमितता, भ्रष्टाचारजन्य आरोपमा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् ।

जिल्लामा चालु आर्थिक वर्षमा मात्रै ५५ उजुरी अख्तियारमा दर्ता भएका छन् । बुधबार रघुगङ्गा गाउँपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा सहकार्य विषयमा पालिकास्तरीय अन्तक्र्रिया कार्यक्रममा अख्तियारको पोखरा कार्यालयका प्रमुख आस्मान तामाङले सरकारी कार्यालय र सार्वजनिक पदमा रहेका व्यक्ति जिम्मेवार र जवाफदेही नहुँदा उजुरीको सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी दिए ।

उनले अख्तियारमा उजुरीको सङ्ख्या बढे पनि वास्तविकता र प्रमाणमा आधारित उजुरी कम पर्ने भएकाले अख्तियारमा पर्ने १० देखि १५ प्रतिशत उजुरीमात्रै अनुसन्धानमा योग्य हुने गरेको बताए । “भ्रष्टाचार नियन्त्रण गर्न त्यस्ता कार्यमा संलग्नमाथि उजुरी पर्नु राम्रो पक्ष हो, तर अधिकांश मुद्दा व्यक्तिगत असहमति र प्रमाणविहीन खालका पनि आउने गरेका छन्, एउटै उजुरीलाई धेरै वटा निकायमा दिने प्रवृत्ति पनि छ”, उनले भने ।

जिल्लामा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २१ र चालु आर्थिक वर्षमा दर्ता हुन आएका ५५ उजुरी अनुसन्धानकै क्रममा रहेको कार्यालय प्रमुख तामाङले बताए । म्याग्दीमा विद्यालय, स्वास्थ्य चौकी भवन, जलविद्युत्, सडक, पदमार्ग, सार्वजनिक जग्गा अतिक्रमण, अनुदान वितरण, सामग्री खरिद, प्रशासनिक खर्च, पूर्वाधार योजना, सामाजिक सुरक्षा भत्तालगायतका विषयमा अख्तियारमा उजुरी परेको जनाइएको छ ।

जिल्लाका छ स्थानीय तहसित सम्बन्धित ४३ उजुरी परेका छन् । कार्यालयका अनुसार मङ्गला गाउँपालिकामा १२, मालिका गाउँपालिकामा ११, रघुगङ्गा गाउँपालिकामा नौ, बेनी नगरपालिकामा छ, अन्नपूर्ण गाउँपालिकामा तीन र धवलागिरि गाउँपालिकामा दुई उजुरी दर्ता भएका हुन् । अख्तियारले स्थानीय तहलाई बजेट खर्चमा पारदर्शिता र प्रक्रियाको पूर्णपालना गर्दै कार्यान्वयन गर्न सुझाव दिएको छ ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रमुख तामाङले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको सन्दर्भमा सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा रघुग्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले दुःख दिने नियतले उजुरी दिने प्रवृत्तिले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले झन्झट व्यहोर्नुपरेको गुनासो गरे ।

 

प्रकाशित समय : १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु