nmb bank

गृहपृष्ठ नेपालमा कति आयात हुन्छ विद्युत, बिजुलीको माग धान्न यस्तो छ प्राधिकरणको तयारी

नेपालमा कति आयात हुन्छ विद्युत, बिजुलीको माग धान्न यस्तो छ प्राधिकरणको तयारी

नेपालमा कति आयात हुन्छ विद्युत, बिजुलीको माग धान्न यस्तो छ प्राधिकरणको तयारी

नेपाल बिद्युत प्राधिकरणले भारतबाट व्यापारिक रुपमा इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत विद्युत् आदानप्रदान सम्झौता (पावर एक्सचेन्ज) र महाकाली सन्धिअन्तर्गतको बिजुली आयात गर्छ । व्यापारिक रूपमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर ४ सय केभी डबल सर्किट प्रसारणलाइनमार्फत भारतबाट बिजुली ल्याइरहेको छ  । आईएक्सको डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । यो बजारमा भाग लिन ०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो । पाँच वर्षको अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ ।

हरेक वर्ष भारतले एक वर्षभरका लागि अनुमति नवीकरण गर्ने भए पनि यस पटक ३ महिनाका लागि मात्रै नवीकरण गरिदिएको छ । प्राधिकरणले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ६५० मेगावाट र टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट बिजुली ल्याउन अनुमति मागेको थियो । तर भारतले ढल्केबर मुजफ्फरपुरबाट ५०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट ल्याउने अनुमति दिएको हो । भारतले सोलार आवार (बिहान ६ देखि बेलुका ६ बजेसम्म) मात्रै बिजुली आयात गर्न दिने भएपछि प्राधिकरणले आन्तरिक स्रोतबाटै बिजुली माग धान्ने तयारी गरिरहेको छ ।

जलाशय र अर्धजलाशययुक्त आयोजना पिक आवरमा मात्रै सञ्चालन गरी आन्तरिक बिजुलीको माग धान्ने गरी योजना बनाइरहेको प्राधिकरणले बताएको छ । मुलुकको एउटै जलाशययुक्त आयोजना कुलेखानीबाट क्यासकेडसहित एक सय ६ मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ । चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी, एक सय ४४ मेगावाटको कालीगण्डकी, ६९ मर्स्याङ्दी, ७० मेगावाटको मध्य–मर्स्याङ्दी, २२ मेगावाटको चिलिमे र ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनालाई अर्धजलाशय मोडेलमा सञ्चालन गर्न सकिनेछ । ‘जलाशयुक्त कुलेखानी र अन्य अर्धजलाशययुक्त आयोजनालाई पिकआवरमा सञ्चालन गरेर बिजुलीको माग धान्ने तयारी गरिरहेका छौं,’ प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने, ‘जुनसुकै बेला हामीले बिहार, उत्तर प्रदेशबाट पनि बिजुली आयात गर्न सक्छौं ।’

बिजुलीको युनिट दर तोकियो
नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पावर एक्सचेञ्ज कमिटी–पीईसी) बैठकले प्रसारण लाइनको संरचनाअनुसार आयात–निर्यात हुने बिजुलीको प्रतियुनिट दर तोकेको छ । यो मूल्य इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल मार्केटको तुलनामा सस्तो हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

मार्च ११ मा बसेको बैठकले सन् २०२४ को १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट ७.९८ भारु (१२ रुपैयाँ ७७ पैसा) तोकेको हो । उक्त मूल्य इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को तुलनामा सस्तो पर्ने प्राधिकरणका प्रवक्ता घोषले बताए । ‘आईएक्समा बिजुलीको मूल्य महँगो हुँदै छ । त्यसैले आईएक्सको तुलनामा यो सस्तो हो,’ उनले भने । चाहिएका बेला मात्र बिजुली आयात गरिने भएकाले यो मूल्य अहिलेको भारतीय बजारबाट लिइरहेको भन्दा सस्तो रहेको उनको भनाइ छ ।

प्रसारणलाइनको क्षमताअनुसार बिहारबाट साढे ३ सय मेगावाट र उत्तर प्रदेशबाट ८० मेगावाट बिजुली आयात गर्न सकिने घोषले जनाए । तर ती प्रदेशले प्रसारण संरचनाअनुसारको बिजुली दिन्छन्रदिँदैनन् भन्ने जानकारी छैन । विद्युत् आदानप्रदान सम्झौताबमोजिम प्राधिकरणले आवश्यक परेका बेला भारतको बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट बिजुली आयात गर्दै आएको छ । अन्य दुई राज्यको तुलनामा प्राधिकरणले बिहारबाट बढी बिजुली आयात गर्दै आएको छ ।

बिहारसँग कटैया (बिहार)–कुशवा (नेपाल) र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन जोडिएका छन् । भारतको उत्तर प्रदेशसँग मैनहिया (नेपाल)–सम्पत्तिया (न्यु नौतनवा, भारत) जोडिएको छ । बैठकले ३३ केभी प्रसारणलाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य पनि तोकेको छ । बैठकले प्रतियुनिट दर ८.६५ भारु (१३ रुपैयाँ ८४ पैसा) तोकेको हो । नेपालले चाहेका बेलामा बिजुली लिने गरी नयाँ दर तोकिएको र यो भारततर्फ निर्यात गर्दा पनि लागू हुने प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित समय : १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु