nmb bank

गृहपृष्ठ एसपीमा बढुवा सिफारिस पर्‍यो विवादमा

एसपीमा बढुवा सिफारिस पर्‍यो विवादमा

एसपीमा बढुवा सिफारिस पर्‍यो  विवादमा

नेपाल प्रहरीले ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा गरेको बढुवा सिफारिस विवादमा परेको छ।

एक नम्बरकै डिएसपीलाई बढुवामा छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सत्ताघटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेर बढुवा सिफारिस गरेपछि आलोचना भएको हो।

प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयबाट सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले बुधबार प्रकाशित गरेको बढुवा सिफारिस सूची प्राथमिकता क्रम मिचेर निकालिएको भन्दै आलोचना भइरहेको छ।

सूचीको पहिलो नम्बरमा ढकेन्द्र खतिवडा, दोस्रोमा अंगुर जिसी, तेस्रोमा यादव ढकाल, चौथोमा सन्तोष तामाङ, पाँचौंमा श्यामबाबु ओलिया, छैटौंमा निरन्जनदत्त भट्ट, सातौंमा राजन लिम्बू र आठौं नम्बरमा विनोद घिमिरे बढुवाका लागि सिफारिस भएका थिए।

एसपीहरू दानबहादुर मल्ल र बामदेव गौतमले गत साउनमा अवकाश पाएका थिए। त्यसपछि पाँच जना एसपी एसएसपीमा बढुवा भए। कात्तिक २४ गते बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरेन्द्रबहादुर ओली र चन्द्रदेव बढुवा भएका थिए। प्रहरी प्रधान कार्यालयले माघ ७ मा एसपी रमेश बस्नेतलाई बढुवा गरेपछि एसएसपी बनाएपछि ८ वटा दरबन्दी रिक्त थिए।

अहिले एसपीमा सिफारिस भएका आठ जना डिएसपी २०७२ साउन १ गते प्रहरी निरीक्षकबाट डिएसपी बढुवा भएका थिए। उनीहरू २०६१ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।

डिएसपीमा बढुवा हुँदा पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री थिए। तर अहिले एसपीमा बढुवा सिफारिस गर्दा क्षेत्रीको नाम नै छुटाइएको छ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वको बढुवा सिफारिस समितिले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीका पिएसओ भइसकेका व्यक्तिहरूलाई प्राथमिकता दिएपछि यस विषयमा प्रश्न उठेको छ।

डिएसपीहरू सन्तोष तामाङ र राजन लिम्बू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पिएसओ भइसकेका थिए। ओली २०७२ मा प्रधानमन्त्री हुँदा तामाङ उनका पिएसओ भएका थिए। यस्तै २०७५ सालमा प्रधानमन्त्री हुँदा लिम्बू उनका पिएसओ थिए। साथै २०७८ मा विनोद घिमिरे प्रचण्डको पिएसओ भएका थिए।

रिक्त ८ दरबन्दीका लागि १२ जना डिएसपीहरू प्रतिस्पर्धामा थिए। प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा हुँदा वरियताको पहिलो प्रदीपकुमार क्षेत्री, दोस्रोमा अंगुर जिसी, तेस्रोमा ढकेन्द्र खतिवडा, चौथोमा यादव ढकाल, पाँचौंमा श्यामबाबु ओलीया, छैटौंमा नारायण रंजितकार, सातौंमा निरन्जन दत्त भट्ट, आठौंमा राजन लिम्बु, नवौंमा सन्तोष तामाङ, १०औंमा अनन्त शर्मा, ११औंमा एकनारायण कोइराला र १२ औं नम्बरमा विनोद घिमिरे थिए।

पहिलो नम्बरमा रहेका क्षेत्रीलाई एसपी बढुवामा छुटाउँदा आठौं, नवौं र १२ औं नम्बरका पिएसओ भइसकेका अधिकृतहरूको बढुवा सिफारिस भएको हो। यसअघिको वरियताक्रम अनुसार छैटौं नम्बरमा रहेका रञ्जितकार पनि छुटेका छन्।

प्रहरी नियमावली २०७१ को नियम २७को १ (ग) अनुसार प्रहरी उपरीक्षक ९एसपी०, प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक पदका लागि बढुवा समितिको अध्यक्षता प्रहरी महानिरीक्षकले गर्नेछन्।

प्रहरी महानिरीक्षक अध्यक्ष हुँदा गृह मन्त्रालयका सहसचिव सदस्य र महानिरीक्षकले तोकेका व्यक्ति सदस्य सचिव हुन्छन्। आइजिपी कुँवरले क्षेत्रीलाई किन बढुवा सिफारिसमा छुटाएको हो भन्ने खुलेको छैन। यसअघि गत वैशाख २९ गते निकालेको बढुवा सूची वरियताक्रमअनुसार गरिएको थियो। त्यतिबेला २२ जनाकै वरियताअनुसार बढुवा गरिएको थियो।

बढुवा समितिले जारी गरेको सिफारिसमा चित्त नबुझ्ने प्रहरी कर्मचारीले बढुवाको सिफारिससम्बन्धी निर्णय भएको मितिले ७ दिनभित्र उजुरी दिन सकिने नियमावलीमा उल्लेख छ। उजुरीमाथि सुनुवाइ सकिएपछि मात्रै बढुवा समितिको सिफारिस कार्यान्वयन गर्न सकिने प्रावधान छ।

प्रकाशित समय : १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु