nmb bank

गृहपृष्ठ सडक विस्तारका कारण राजमार्ग छेउका होटल सुनसान

सडक विस्तारका कारण राजमार्ग छेउका होटल सुनसान

सडक विस्तारका कारण राजमार्ग छेउका होटल सुनसान

पृथ्वी राजमार्ग विस्तारसँगै धुलोका कारण सो राजमार्गमा दैनिक गुड्ने बसका यात्रुको खाजा र खाना खाने गन्तव्य बदलिएको छ । धुलोका कारण राजमार्ग छेउछाउका होटल सुनसान बनेका छन् ।

पृथ्वी राजमार्गको पोखरादेखि नौविसेसम्मको एक सय ७२ किलोमिटर सडक खण्डमध्ये तनहुँको ७२ किलोमिटर सडक विस्तारको काम धमाधम भइरहेको छ । यात्रुले खाजा र खाना नखाँदा व्यवसाय धान्न गाह्रो भएको होटल व्यवसायी बताउँछन् । उनीहरु डेड वर्षदेखि राजमार्गको धुलोले सास्ती खेप्दै आएका छन् ।

“सडक विस्तार अघि खाजा र खाना खान आउने यात्रुको चाप थेगी सक्नु हुन्थेन,” व्यास नगरपालिका–१ नयाँ पुलस्थित होटल सिंहका सञ्चालक भिमसिंह ठकुरीले भने, “अहिले होटलमा यात्रु फाट्टफुट्ट आउने गरेका छन् । यात्रु खाना खान नआउँदा हुँदा होटल अन्यत्र सञ्चालन गर्नुपर्छकी भन्ने सोचमा पुगेको छु ।”

सडक विस्तार अघि दैनिक रु १० हजारभन्दा बढीको व्यापार हुने गरेको सिंहले बताउनुभयो । “हाल दैनिक रु एक हजारको व्यापार पनि हुँदैन”, उनले भने ।

यस्तै आँबुखैरेनी गाउँपालिका–१ एक्लेफाँटस्थित पृथ्वी राजमार्ग छेउमा होटल सञ्चालन गर्दै आउनुभएका दिवस अधिकारीको दैनिकीसमेत सिंहको भन्दा कम छैन । राजमार्ग विस्तार अघिको व्यापार पछिल्लो समय ह्वात्तै घटेके उनको भनाइ छ । “पहिला ग्राहकको चापले पकाउन र खुवाउन भ्याइनभ्याई हुन्थ्यो,” उनले भने । धुलोले आहत भएपछि ग्राहक नआउँदा होटल बन्द गर्ने अवस्था आएको अधिकारी बताउछन् । उनले व्यापार घटेपछी कर्मचारीसमेत कटौती गरेका छन् ।

आँबुखैरेनी–१ एक्लेफाँटस्थित ओपनहार्ट रेष्टुरेण्टका सञ्चालक सुशिल बानियाँले राजमार्ग विस्तारको प्रभाव राजमार्ग छेउछाउका होटलमा प्रत्यक्ष रुपमा परेको बताए । “राजमार्ग विस्तारबाट यहाँका होटलमा प्रत्यक्ष असर परेको छ”, उनले भने “राजमार्ग विस्तारपछि पहिलाको जस्तै व्यापार बढ्ने आशमा बसेका छौँ ।”

तनहुँको आँबुखैरेनी, एक्लेफाँट, याम्पा, नयाँ पुल, विमलनगर, डुम्रे, दमौली, थर्पु, जामुने, खैरेनीटार, बेलचौतारा, दुलेगौंडा, कोत्रेलगायत क्षेत्रमा राजमार्ग छेउछाउमा साना ठुला गरी करिव सात सय ५० होटल सञ्चालनमा छन् । क्षेत्रीय होटल सङ्घ तनहुँका अध्यक्ष राम जोशीका अनुसार सङ्घमा आवद्ध तनहुँका आठ सय होटलमध्ये भिमाद गाउँपालिका बाहेकको करिव पाँच सय ५० होटल राजमार्ग क्षेत्रमा पर्दछन् । त्यसैगरी सङ्घमा आवद्ध तनहुँका पाँच सय होटलमध्ये करिव दुई सय होटल राजमार्ग क्षेत्रमा पर्ने उनले बताए ।

बन्दिपुर–१ डुम्रेस्थित मुस्ताङ होटलका सञ्चालक समेत रहनुभएका अध्यक्ष जोशीले राजमार्ग विस्तारको क्रममा धुलोले गर्दा आफ्नो होटलमा आउने ग्राहकको सङ्ख्या करिव ९० प्रतिशतले घटेको बताए । राजमार्ग क्षेत्रको होटलमा यात्रु नहुँदा अधिकांश होटल व्यवसायीले वित्तिय संस्थाको किस्तासमेत तिर्न नसकेकाले सङ्घले केन्द्रियस्तरबाटै व्याजको व्यवस्था गर्न पटक पटक आग्रह गर्दैआएको उनको भनाइ छ । धुलोको कारण यात्रुले मुग्लिन र पोखरा क्षेत्रमा मात्र खाजा र खाना खाने गरेका अध्यक्ष जोशीले बताए ।

होटल व्यवसायी सङ्घ तनहुँका निवर्तमान अध्यक्ष तथा होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराईको गुनासो पनि उस्तै छ । राजमार्ग विस्तारले प्रभावित होटललाई न्यून व्याजदरमा ऋणको व्यवस्था गर्न वित्तिय संस्थासँग माग गरे पनि सुनवाई नभएको वरिष्ठ उपाध्यक्ष भट्टराईको भनाइ छ ।

धुलो नियन्त्रणका लागि राजमार्गमा नियमितरुपमा पानी हाल्ने गरेको मुग्लिन पोखरा सडक आयोजना कार्यालयका पश्चिम खण्डका ईन्जिनियर नारायण पौडेलले जानकारी दिए । मुग्लिन पोखरा सडक आयोजनाको पूर्वीखण्ड आँबुखैरेनीदेखि जामुनेसम्म ४१ किलोमिटर सडकको ठेक्का चिनिया कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अब २१ करोडमा लिएको छ । सो कम्पनीले २०७८ वैशाख २ गतेदेखि काम सुरु गरेको हो । हाल यस खण्डमा ५३ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको मुग्लिन पोखरा सडक आयोजनाका पूर्वीखण्ड प्रमुख स्याम यादवले बताए ।

त्यसैगरी जामुनेदेखि पोखरा सडक खण्डको ३८ किलोमिटर सडक विस्तार चिनिया कम्पनी एनहुई केयुनन हाइवे एण्ड ब्रिजले पाएको छ । कम्पनीसँग २०७८ जेठमा पश्चिम खण्ड विस्तार गर्न सात अर्ब ४० करोडमा ठेक्का सम्झौता भएको र हालसम्म यसको २० प्रतिशत काम भएको सो आयोजनाका पश्चिम खण्डका ईन्जिनियर नारायण पौडेलले जानकारी दिए ।

प्रकाशित समय : १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु