गृहपृष्ठ विराटनगर भन्सारले सुरु गर्यो अनलाइन प्रणाली, कार्यलय धाउने झन्झट हट्यो
विराटनगर भन्सारले सुरु गर्यो अनलाइन प्रणाली, कार्यलय धाउने झन्झट हट्यो
विराटनगर भन्सार कार्यालयले अनलाइन प्रणाली सुरु गरेको छ । भन्सार कार्यालयलाई पेपरलेस, फेसलेस र क्यासलेस गर्ने अवधारणाअनुसार निर्यातमा अनलाइन प्रणाली सुरु गरिएको हो।
कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालले निर्यातकर्ताले २ देखि ४ प्रकारका कागजात सिस्टममा अपलोड गर्नुपर्ने बताए। कागजात अपलोड गरेपछि निर्यातकर्ता वा उसको प्रतिनिधि कार्यालयमा उपस्थित हुनु पर्दैन।
ढकालका अनुसार निर्यातकर्ताले कार्यालयको सिस्टममा प्याकिङ लिस्टसहितको बिजक, उत्पत्तिको प्रमाणपत्र वा जीएसपी (जेनरलाइज सिस्टम अफ प्रिफरेन्सेज) फर्म र भुक्तानीको कागज स्क्यानिङ गरेर अपलोड गर्नुपर्छ।
नेपालबाट ईयू, नर्वे, स्विटजरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, टर्की लगायत मुलुकमा द्विपक्षीय सम्झौताअनुसारका निर्धारित मालवस्तुको निर्यातमा जीएसपी सुविधा प्राप्त छ।
जीएसपी सुविधाअन्तर्गत निर्यात गर्दा आयात गर्ने मुलुकले महसुल छुटको सुविधा दिएको हुन्छ। नेपालबाट निर्यात हुने उनी गलैंचा, गार्मेन्ट लगायत मालवस्तुमा यस्तो सुविधा छ।
केही मालवस्तु निर्यात गर्न सम्बन्धित निकायको सिफारिस आवश्यक पर्छ। जस्तै जडिबुटीको निकासीमा वन कार्यालय र हस्तकलाका सामग्रीमा हस्तकला महासंघको सिफारिस चाहिन्छ।
प्रकाशित समय : १८:१६ बजे