nmb bank

गृहपृष्ठ चार महिनादेखि बन्द रहँदै आएको हेटौंडा सिमेन्टले फेरि थाल्यो उत्पादन

चार महिनादेखि बन्द रहँदै आएको हेटौंडा सिमेन्टले फेरि थाल्यो उत्पादन

चार महिनादेखि बन्द रहँदै आएको हेटौंडा सिमेन्टले फेरि थाल्यो उत्पादन

विगत चार महिनादेखि बन्द रहँदै आएको हेटौंडा सिमेन्ट उद्योगले गत सोमबारबाट पुनः उत्पादन सुरु गरेको छ ।

हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक वसन्त पाण्डेका अनुसार सोमबार बिहानबाट उद्योगका सम्पूर्ण मेसिन सञ्चालन गरी सिमेन्ट उत्पादन थालेको हो । हेटौंडा–९ मा रहेको उद्योग सञ्चालनका लागि कोइला अभाव हुँदा गत मङ्सिरदेखि उत्पादन ठप्प भएको थियो ।

उद्योग सञ्चालनका लागि आवश्यक कोइला खरिद गर्न समस्या भएपछि उत्पादन ठप्प भएको महाप्रवन्धक पाण्डेले बताए । कोइला सप्लायर्सहरुलाई भुक्तानी दिन नसकेपछि कोइला आपूर्ति बन्द भएर उद्योग नियमित सञ्चालन गर्न नसकेको उनले बताए ।

केही दिन अघिमात्र उद्योगले कोइला सप्लायर्सहरुलाई भुक्तानी दिएपछि कोइला आपूर्ति भएको र सो कोइलाको प्रयोग गरी उद्योग सञ्चालन गरिएको महाप्रवन्धक पाण्डेको भनाइ छ ।

१५ दिनलाई पुग्छ कोइला

उद्योग सञ्चालनका लागि आयात गरिएको कोइला नियमित उत्पादनका लागि अपुग हुने देखिन्छ । हाल सप्लायर्सबाट खरिद गरेको कोइलाले १५ दिनका लागिमात्र उद्योग सञ्चालन गर्न पुग्नेछ ।

त्यसपछिका दिन उद्योग सञ्चालनका लागि थप कोइला खरिद गरी आयात गर्नुपर्ने महाप्रवन्धक पाण्डेको भनाइ छ । उद्योग सञ्चालनका लागि आवश्यक १ हजार टन कोइला प्राप्त भएको उनले बताए ।

उद्योग सञ्चालनका लागि दैनिक ७० टन कोइला खपत हुने गरेको महाप्रवन्धक पाण्डेले बताए । उद्योगले दैनिक ७०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरेको छ ।

६ महिनामा २५ दिन चल्यो उद्योग

६ महिनाको अवधिमा हेटौंडा सिमेन्ट उद्योग करिब १ महिना मात्र सञ्चालनमा आएको छ । चालु आर्थिक वर्षको ६ महिनामा हेटौंडा सिमेन्ट उद्योग २५ दिनमात्र चलेको छ ।

कोइला अभाव र पुराना मेसिनका कारण विभिन्न पार्टपुर्जा बिग्रिँदा उद्योग बन्द हुने गरेको छ । उद्योगमा पुराना प्रविधिका मेसिनहरु प्रयोग भएकाले मर्मतमा पनि उत्तिकै समय लाग्ने गरेको महाप्रवन्धक पाण्डेको भनाइ छ ।

उद्योग बन्द हुँदा करिब १८० स्थायी कर्मचारी र १०० भन्दा बढी ज्यालाका कर्मचारी कामविहीन बन्नु पर्ने बाध्यता छ ।

सिमेन्ट बिक्री घट्दा उद्योगको दायित्व बढ्दै

हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट पर्याप्त मात्रामा बिक्री नहुँदा उद्योगको घाटा बढ्नुको साथै दायित्व समेत थप हुँदै गएको छ । उद्योगले उत्पादन गरेको सिमेन्ट विगतको तुलनामा बिक्री दर घटेको छ ।

सिमेन्ट बिक्रीका लागि सूचीकृत भएका सप्लायर्सहरुले तोकेभन्दा कम मात्रामा सिमेन्ट खरिद गर्ने गर्दा समस्या भएको महाप्रबन्धक पाण्डेले बताए । उनका अनुसार सूचीकृत भएका सप्लायर्सलाई निजी उद्योगहरुले उधारोमा सिमेन्ट दिने गरेको र हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट पहिले रकम बैंक दाखिला गरेर मात्र सप्लायर्सले खरिद गर्नुपर्ने भएकाले कम बिक्री हुने गरेको छ । समयानुकुल बजार रणनीति नहुँदा सिमेन्टको बिक्रीमा कमी आएको महाप्रवन्धक पाण्डेको भनाइ छ ।

उद्योगमा हाल १ लाख बोरा सिमेन्ट स्टक छ । चालु आर्थिक वर्षमा उत्पादन भएको २ लाख ४९ हजार ४५६ बोरा सिमेन्टमध्ये करिब १ लाख बोरा सिमेन्ट मौज्दात रहेको महाप्रवन्धक पाण्डेले बताए । सिमेन्ट बिक्री घट्दा कोइला र ढुङ्गाको उधारो, बिजुली महसुल, कर्मचारी उपदानलगायत गरी हाल उद्योगको दायित्व बढ्दै गएको उनले सुनाए ।

हाल उद्योगको दायित्व करिब ५० करोड रहेको महाप्रवन्धक पाण्डेले बताए । कोइलाको करिब २५ करोड रुपैयाँ र बिजुली महसुलमा ६ करोड रुपैयाँ, कर्मचारीको अवकास उपदानको रकम बापत करिब १८ करोड रुपैयाँ उद्योगको दायित्व रहेको उनले बताए ।

५ वर्षदेखि लगातार घाटामा उद्योग

हेटौंडा सिमेन्ट उद्योग विगत ५ वर्षदेखि लगातार घाटामा चलिरहेको छ । उद्योगका अनुसार आर्थिक वर्ष २०७५÷०७६ देखि २०७९÷०८० सम्ममा उद्योगलाई ९० करोड ३ लाख रुपैयाँ नोक्सान भइसकेको छ ।

उत्पादन लागत बढ्दा घाटा बेहोर्नु परेको महाप्रबन्धक पाण्डेले बताए । लागत मूल्यको अनुपातमा हेटौंडा सिमेन्ट उद्योगको प्रतिबोरा बिक्री मूल्य ८०० रुपैयाँसम्म पर्न आउने उनको भनाइ छ । हाल हेटौंडा सिमेन्ट उद्योगले उत्पादित सिमेन्ट प्रतिबोरा ६४९ रुपैयाँमा बिक्री गरिरहेको छ ।

निजी क्षेत्रका सिमेन्ट उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले लागतको अनुपातमा बिक्री मूल्य अत्यन्त न्यून रहेको उनले बताए ।

२०४२ मङ्सिर २५ गतेबाट व्यावसायिक उत्पादन थालेको हेटौंडा सिमेन्ट उद्योग १२० बिघा क्षेत्रमा फैलिएको छ । उद्योगको कच्चा पदार्थका लागि मकवानपुरको ओखरे, भैंसे, मजुवा र धादिङको जोगिमारामा चुनढुंगा खानी सञ्चालनमा छ । खानी क्षेत्रमा समेत गरी उद्योगको स्वामित्वमा ३ सय ३८ बिघा जग्गा छ ।

प्रकाशित समय : ०७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु