गृहपृष्ठ सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुने
सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुने
चितवनको पर्यटकीय क्षेत्र सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ ।
कोरोना भाइरसका कारण रोकिएको हात्ती महोत्सव यस पटक आयोजना हुन लागेको चितवनको सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कोरोना भाइरसले थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको चितवन हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताए ।
विश्व सम्पदा सुचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउँदै चितवनलाई महत्वपूर्ण गन्तव्यस्थलको रुपमा चिनाउन पनि महोत्सवको उद्देश्य रहेको उनको भनाइ छ ।
हात्ती महोत्सवको विभिन्न पशु अधिकारीवादीहरुले विरोध गर्दै आएका छन् । हात्ती महोत्सवमा हात्तीहरुलाई दुःख दिने खालका गतिविधि भएको भन्दै अधिकारवादीले विरोध गरेपछि हात्तीमैत्री गतिविधि गरेर महोत्सव गर्न लागेको क्षेत्रीय होटल स्रघ नेपाल चितवनका पूर्वअध्यक्ष दिपक भट्टराईले बताए ।
विगतका हात्ती महोत्सवमा हात्ती दौड, छावाहरुको फुटबल हात्ती सुन्दरी प्रतियोगिता र हात्तीलाई वनभोज कार्यक्रम हुँदै आएको थियो । यही पौष १० गते देखि १४ गते सम्म हुने हात्ती महोत्सवमा हात्तीलाई वनभोज र हात्ती श्रृङ्गार प्रतियोगिता र हात्तीको दिनचर्याबारे जानकारी दिइने कार्यक्रम रहेको भट्टराईले बताए । हात्ती महोत्सव क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुँदै आएको छ ।
प्रकाशित समय : १७:१४ बजे