nmb bank

गृहपृष्ठ लागु भएको एक महिना बित्दा पनि पूर्ण कार्यान्वयन भएन एमडीएमएस प्रणाली

लागु भएको एक महिना बित्दा पनि पूर्ण कार्यान्वयन भएन एमडीएमएस प्रणाली

लागु भएको एक महिना बित्दा पनि पूर्ण कार्यान्वयन भएन एमडीएमएस प्रणाली

नेपाल दूरसञ्चार प्राधिकरणले कार्तिक २० गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गरेको छ । अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभित्रिउन् र कानुनी बाटोबाट मात्रै नेपालमा मोबाइलहरुको आयात तथा खरिद बिक्री गराउने लक्ष्यसहित एमडीएमएस प्रणाली नेपालमा कार्यान्वयनमा ल्याएको हो । तर लागू भएको एक महिना बितिसक्दा पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

एमडीएमएस लागु भएसँगै दर्ता नभएका तथा अवैध र गैरकानुनी रुपमा भित्रिएका मोबाइलहरु चल्नै बन्द गर्ने भनिएको थियो । तर अहिलेसम्म पनि त्यो कार्यान्वयन हुन नसकेको मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले बताएका छन् । उनका अनसार नेपालमा अहिले पनि ४३ लाख मोबाइल बिना दर्ता चलिरहेका छन् । अहिले प्राधिकरणले ५०० वटा मोबाइल भने चल्न बन्द गरेको छ । चुल्यादोले भने, ‘अझै पनि मोबाइल दर्ताका लागि समय नै दिईरहेको छ ।’

मनिसहरु अझै पनि त्यसप्रति उत्सुक नभएको र तत्काल सेवा ठप्प पार्न नमिल्ने कारण अहिले दर्ताबिनाका फोनहरु पनि सहज रुपमा नै आइरहेको उनको भनाइ छ । यसलाई दर्ता गर्ने वातावरण सिर्जना गर्न संघले कस्ता प्रयासहरु गरिरहेको छ भन्ने न्ुयजकारोबारको प्रश्नमा चुल्यादोले भने, ‘अहिले हामीले जति पनि मोबाइल बिना दर्ता चलिरहेका छन् ती सबैको दर्ता निशुल्क गराउँ भन्ने विषयमा प्राधिकरणसँग कुरा गरिरहेका छौँ । यो गर्न सकियो भने मानिसहरुले दर्ता गर्न उत्सुक हुने थिए । विदेशबाट आउने नयाँ फोनहरुमा मात्र शुल्क लगाउने र पुराना फोनहरु निशुल्क दर्ता गराउन संघले सहकार्य गरिरहेको छ ।’

अहिले चोरी पैठारी गरेर बाहिरबाट आउने फोन चै अहिले ७० प्रतिशतले घटेको पनि उनले सुनाए । ‘पूर्ण रुपमा कार्यान्वन नहुँदा पनि अहिले व्यवसायी हिसाबले राम्रो नै छ । व्यवसायीलाई यसले राहत नै पुगेको छ,’ उनले भने । आर्थिक मन्दीका कारण ब्यापार नै न्युन रहेका कारण त्यस्तो ब्यापारमा भने वृद्धि हुन नसकेको उनले बताए । पहिले ब्यापार नै धेरै हुन्थ्यो त्यसैले चोरी फोनसँगै बैधानिक ब्यापार नै दिनको १३ सयभन्दा बढी मोबाइल बिक्री हुन्थ्यो चोरी पैठारी गर्दा झन्डै १६ सय फोनको ब्यापार हुन्थ्यो तर अहिले ब्यापार दिनको ७०० को हाराहारीमा हुने गरेको उनको भनाइ छ ।
अहिले नेपालमा रहेका ४३ लाख दर्ता नभएका फोनहरु प्रयोग भईरहेको भए पनि दर्ता गर्न आउने मान्छेहरुको संख्या भने एकदमै न्युन रहेको प्राधिकरणले जनाएको छ ।

यसरी दर्ता नभएका मोबालइहरु प्रायजसो धेरै समयसम्म प्रयोग भईसकेका र किन्दा नै सेकेण्ड ह्याण्ड किनेकाले दर्ता गर्न नआएको प्राधिकरणको भनाइ छ । अहिले विदेशबाट आउने नयाँ फोनहरु भने दर्ता भएर मात्रै चलेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार अहिले दिनमा १०० जना भन्दा बढी दर्ताका लागि आउने गरेका छन् । अहिले प्राधिकरणले पुराना फोन वा एक लाखसम्मका फोनहरु दर्तामा ३ हजार र एक लाखभन्दा बढीका फोनहरुमा १० हजार तिरेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्राधिकरणले कात्तिक १९ गतेसम्मको समयसीमा तोक्दै एमडीएमएस प्रणालीमा फोनहरु दर्ता गर्न भनेको थियो । तर अहिलेसम्म पनि न्युन फोनहरु दर्ता भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
एमडीएमएस पूर्ण कार्यान्वयनमा आएसँगै सुरुवातमा महंगा तथा हाई रेञ्ज फोनहरुलाई निगरानीमा राखिएको छ । जसअनुसार आईफोन, स्यामसंग, वानप्लसजस्ता फोनहरु दर्ता नभएको भए त्यसमा सिम चल्न छाडेका छन् । प्राधिकरणले दैनिक रुपमा प्रणालीमा दर्ता नभएका फोनहरुलाई ब्लक गर्दै जाने जनाएको छ ।

 

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु