nmb bank

गृहपृष्ठ ‘बढीभन्दा बढी पर्यटक भित्र्याउने तर्फ राज्यले ध्यान दिनु पर्छ’

‘बढीभन्दा बढी पर्यटक भित्र्याउने तर्फ राज्यले ध्यान दिनु पर्छ’

‘बढीभन्दा बढी पर्यटक भित्र्याउने तर्फ राज्यले ध्यान दिनु पर्छ’

आर्थिक मन्दीका कारण पछिल्लो समय सबै व्यवसायमा असर परेको छ । सबै व्यवसायीहरुले आर्थिक मन्दीका कारण आफ्नो व्यवसायमा नै बढी प्रभाव परेको बताउने गरेका छन् । कोरोना पछि नै निकै तहसनहस भएको क्षेत्रका रुपमा रहेको होटल व्यवसाय त्यस पछिको आर्थिक मन्दीका कारण पनि निकै समस्या भोग्न पुगेको क्षेत्र हो । पछिल्लो समय होटल व्यवसायको अवस्थाका विषयमा होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुकेसँग गरिएको कुराकानीको सम्पादित अंश :

अहिले होटल व्यवसायको अवस्था कस्तो छ ?

अहिलेको कुरा गर्दा होटल व्यवसायको अवस्था सन्तोषजनक नै रहेको छ । कोरोना पछि पछिल्लो समय तिहार सकिए पछि पर्यटकको आवागमन राम्रो भएकाले होटल व्यवसायको अवस्था राम्रै रहेको छ । अहिले पर्यटकीय क्षेत्रका होटलहरुमा राम्रो व्यापार भइरहेको छ । तिहार पछि आन्तरिक पर्यटकको आवागमन पनि राम्रो रहेको छ । जसले गर्दा हाम्रा होटल व्यवसायीहरुलाई राम्रो भइरहेको छ ।

अहिले व्यवसायीहरुलाई सडकले गर्दा केही समस्या भएको छ । यस विषयमा राज्यले ध्यान दिन सकेको खण्डमा अझ व्यवसाय राम्रो हुने थियो । सरकारले सडक र भौतिक पूर्वाधारको विकासमा ध्यान दिन सकेको खण्डमा होटल व्यवसाय अझ फस्टाउन सक्छ ।

अर्को तर्फ विदेशबाट आएका पर्यटकहरुले नेपालको अर्गानीक खानाको स्वाद खोज्ने कारणले गर्दा हामीहरुले अर्गानीक खानाको विषयमा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको छ । यसमा संघीय देखि स्थानीय सरकारले नै योजना बनाएर अघि बढ्नु पर्ने आवश्यकता रहेको छ । यसका लागि सरकारले हामीसँग छलफल गरेर अघि बढ्न सक्योे भने यो क्षेत्रबाट अर्थतन्त्रमा समेत टेवा पुग्ने देखिन्छ ।

पछिल्लो समय पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांकले देखाएको छ । यो अवस्थामा होटल व्यवसायीहरुको व्यापार त उत्साह जनक नै होला नि ?

अहिले व्यवसायीहरु उत्साहीत भन्दा पनि व्यापार राम्रो भएकाले यहि रुपमा सुधार हुँदै गयो भने व्यवसायीहरु उत्साहीत हुने अवस्था आउने देखिन्छ । त्यसका लागि सरकारले व्यवसायीसँग सकारात्मक रुपमा हातेमालो गरेको खण्डमा व्यवसायीमा थप उर्जा थपिने थियो ।
अहिले पर्यटन बोर्ड मार्फत केही मात्रामा काम त भएको छ । तर त्यो पर्याप्त मात्रामा भने भएको छैन । यसलाई स्थानीय सरकारदेखि संघीय सरकारले पनि काम गर्न सकेको खण्ड अझ व्यवसायीहरुलाई सहज हुने थियो । त्यसमा पनि सरकारले विशेष ध्यान दिनु पर्ने देखिन्छ ।

अर्को तर्फ होटल व्यवसाय भनेको प्रत्यक्ष रुपमा पर्यटकसँग जोडिने भएकाले पर्यटक प्रवद्र्धनमा पनि ध्यान दिनु पर्ने हुन्छ । त्यसका लागि राज्यले विभिन्न पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्नु पर्ने र लगानीको वातावरण निर्माण गर्नु पर्ने हुन्छ । लगानी हाम्रा व्यवसायीले नै गर्छन् । तर वातावरण निर्माणमा राज्यले ध्यान दिनु पर्ने आवश्यकता छ । हाम्रोमा बंगलादेश, भारत र चीनबाट समेत पर्यटक आउने गरेका छन् । अन्य युरोपीयन देशहरुबाट पनि पर्यटकहरु आइरहेका छन् । पर्यटकलाई कसरी सुविधा दिने भन्ने विषयमा राज्यले होटल व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न सकेको खण्डमा व्यवसायी सँगै अर्थतन्त्रमा पनि टेवा पुग्छ ।

होटल व्यवसायमा लागेकाहरुलाई कोरोनाले बढी प्रभाव पा¥यो कि आर्थिक मन्दीले बढी ?

होटल व्यवसायलाई आर्थिक मन्दी र कोरोना दुवैले असर गरेको अवस्था हो । कोरोना र आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन नै हुने सम्मको कुरा पनि हो । कोरोनाले व्यवसायी पलायन भए भने आर्थिक मन्दीका कारण नयाँ लगानी गर्नेहरुलाई निकै गारो भयो ।

कोरोनाको कालमा सबै होटल बन्द भए । जसले गर्दा व्यापार भएन । आर्थिक मन्दीका कारण सबै क्षेत्रमा प्रभाव पर्न गयो । जसले गर्दा होटलमा गएर खाने बानीमा पनि नेपालीहरुले कमी गरे । जसले गर्दा आन्तरिक पर्यटक आउन सकेनन् । अर्को तर्फ आर्थिक मन्दीले गर्दा विदेशबाट घुम्नका लागि पनि पर्यटकहरु आउन सकेनन् ।

यो बाहेक पनि बैंकको ब्याजदरका कारणले गर्दा पनि व्यवसायीहरु थप समस्यामा परे । अहिले बैंकको ब्याजदर कम हुने कुरा भइरहेको छ । यसले व्यवसायीहरु अझै पनि सुधार हुने आशामा रहेका छन् । विदेश पलायन भएकाहरु नआए पनि पेशा परिवर्तन गरेर अर्को क्षेत्रमा लागेकाहरु फेरि पनि यो क्षेत्रमा आउन सक्ने सम्भावना पनि देखिन्छ ।

होटल व्यवसायका लागि आन्तरिक पर्यटक बढी महत्वपूर्ण हन्छन् कि बाह्य ?

होटल व्यवसायका लागि स्वदेशी विदेशी दुवै पर्यटकहरु महत्वपूर्ण नै हुन्छन् । हाम्रा ग्राहक भनेका हाम्रा भगवान हुन् । उनीहरुले गर्ने प्रत्यक खर्चमा हाम्रो आम्दानी जोडिएको हुन्छ । आम्दानीसँग जोडिएको सबै हाम्रालाई उत्तिनै महत्वपूर्ण हुन्छन् ।
तर विदेशी पर्यटक आउँदा हाम्रो देशलाई विदेशी मुद्राको आर्जन गर्नमा पनि सहयोग पुग्छ । जसले गर्दा विदेशी सञ्चितिमा पनि यसले सहयोग पुग्छ । हाम्रा नागकिरले गर्ने खर्चले बजार चलायमान बनाउन सहयोग पुग्दछ भने विदेशी पाउना आउँदा विदेशी मुद्राको आर्जन हुने भयो ।

बाहिरबाट हेर्दा विदेशीहरुले धेरै खर्च गर्छन भनेजस्तो देखिए पछि हाम्रा नेपालीहरुले पनि मन खोलेर खर्च गर्ने गरेका छन् । विदेश नागरिक आउँदा विदेशी मुद्राको आर्जनसँगै हाम्रो पहिचान पनि विदेशमा पुग्ने अवसर पनि हुन्छ । यसरी हेर्दा हाम्रो लागि सबै ग्राहकहरु उत्तिकै महत्वपूर्ण छन् ।

व्यवसायहरु पलायन हुने अवस्था पनि आयो । होटल व्यवसायमा लागेकाहरुको अवस्था के छ ?

अरु व्यवसाय जस्तै हाम्रा होटल व्यवसायीहरु पनि पलायन भएको अवस्था छ । कोरोना, आर्थिक मन्दी लगायत कारणले गर्दा हाम्रा व्यवसायीहरु विदेश नै पलायन समेत भएका छन् । कारोनाका कारण बन्द भएका होटलहरुमा कोरोनाबाट पार पाय पछि आर्थिक मन्दी सुरु भयो । जसले गर्दा होटल रेष्टुरेन्टमा गएर खाने बानीमा कमी आयो । आर्थिक मन्दीले गर्दा विदेशबाट आउने पर्यटकको आवागमना पनि असर पर्न गयो ।

त्यस पछि फेरि बैंकको ब्याजदर बढ्यो । जसले गर्दा व्यवसायीहरु थप मारमा परे । व्यवसाय नभएको समयमा पहिले भन्दा बढी रकम तिर्नु पर्ने भए पछि उनीहरु थप मर्कामा परे । त्यस पछि यो क्षेत्रलाई छोडेर कृषि तथा अन्य पेशा गर्ने पनि बढे र विदेश समेत पलायन हुने अवस्था आयो ।

राज्यले के गरेको खण्डमा व्यवसायीहरुलाई अझ उत्साह थपिएर लगानी गर्न सक्ने अवस्था सिर्जना हुन्छ ?

सरकारले भौतिक पूर्वाधार देखि यातायत तथा लगानीको उचित वातावरण सिर्जना गर्नु पर्ने हुन्छ । त्यस पछि विदेशी पर्यटक बढाउने तर्फ पनि राज्यको ध्यान जान जरुरी देखिन्छ । अहिले चितवनको भरतपुर महानगरपालिकाले भ्रमण वर्ष घोषणा गरेको छ । त्यस्तै गरेर अन्य स्थानीय सरकारले पनि यस्ता कार्यक्रमहरु गर्नु पर्ने आवश्यकता छ । त्यस्तै संघ र प्रदेश सरकारले पनि पर्यटक आउने र होटल व्यवसाय चलायमान हुने किसिमका कार्यक्रमहरु ल्याउनु पर्ने हुन्छ ।

अहिले पर्यटन बोर्डले केही मात्रामा कार्यक्रमहरु सञ्चालन गरेको छ । यसलाई अझ विस्तार र व्यवस्थित गर्नु पर्ने देखिन्छ । पर्यटक आउँदा व्यवसायीलाई मात्रै होइन समग्र अर्थतन्त्रमा नै टेवा पुग्ने भएकाले राज्यले पर्यटक बढी ल्याउने तर्फ ध्यान दिनु पर्ने देखिन्छ । जसले गर्दा होटल व्यवसायमा लागेका व्यवसायीहरुलाई पनि स्वभाविक रुपमा फाइदा पुग्छ ।

 

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु