गृहपृष्ठ उर्लाबारी विस्फोटमा जलेका २५ अनुहारले जलिरहेको बर्न अस्पताल

उर्लाबारी विस्फोटमा जलेका २५ अनुहारले जलिरहेको बर्न अस्पताल

उर्लाबारी विस्फोटमा जलेका २५ अनुहारले जलिरहेको बर्न अस्पताल

गत कात्तिक २६ गते राति मोरङको उर्लाबारीमा एक असाधारण घट्ना घट्यो । जसबाट २७ जना एकै आगोको लप्कामा जलेर घाइते भए । त्यसमध्ये पनि ८ जनाको अवस्था निकै चिन्ताजनक छ ।

गत आइतबार राति मोरङको उर्लाबारी–७ बारगाछीमा रहेको स्नेहा ज्वलर्स नामको सुन पसलबाट धुँवाको मुस्लो निस्कियो । स्थानीयहरु आत्तिएर भागदौड गर्न थाले । गस्तीमा रहेको प्रहरीको भ्यान पनि पुग्यो । स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएर धुँवाको मुस्लो निस्किएपछि घरभित्र भएका मानिसलाई बचाउन र आगो नियन्त्रण गर्न चारजना प्रहरी र स्थानीयको टोली जुट्यो । तर सटर खोल्न नपाउँदै भयंकर विस्फोट हुन पुग्यो । जसले चार प्रहरीसहित २३ जना स्थानीय एकै लप्कामा जलेर घाइते भए । आखिर यस्तो भयंकर विस्फोट कसरी हुन पुग्यो त ? बर्न अस्पताल कीर्तिपुरमा उपचार गराईरहेका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान भन्छन्, ‘सटरभित्र कार, केही ग्यास सिलिण्डर र सोलारका ब्याट्री पनि रहेछन् । सटर खोल्नवित्तिकै सबै एकैपटक विस्फोट भए ।’

प्रहरी सहायक निरीक्षक प्रधानसहित स्थानीयको टोली समयमै दमकल नआएपछि उद्दार र आगो नियन्त्रणका लागि जुटेको थियो । तर उद्दारमा खटिएका उनीहरु नै अहिले जलेर पुरै छटपटीको अवस्थामा छन् । किनकि विद्युत सट भएर आगलागी भएको अनुमान गरिएपनि त्यहाँ रहेका ग्यास सिलिण्डर, कार र ब्याट्री एकैपटक विस्फोट भएको घाइतेका आफन्तीहरु बताउँछन् ।

विस्फोट भएर एकैपटक २७ जना घाइते भएपछि आधाभन्दा धेरैलाई उपचारका लागि झापाको बिएनसी लगियो । अन्यलाई विराटनगर लगायतका केही अस्पतालमा भर्ना गरियो । तर बिएनसीमा भर्ना भएका विरामी निकै क्रिटिकल अवस्थाका थिए । यो अस्पतालले घाइतेको अवस्थालाई सामान्य ढंगले लिएपछि आफन्तीहरु आत्तिन थाले । घाइतेहरु झनझन सिकिस्त हुन थालेपछि उनीहरुले काठमाडौंको बर्न अस्पताल लिन खोजे । तर पैसा नबुझाई बिरामी नपठाउने भन्दै अस्पतालले अड्डी कसेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हस्तक्षेप नै गर्नुपर्‍यो । यो अस्पतालका सञ्चालक आफुलाई अभियन्ता भनेर चिनाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हुन् । जसले अहिले आफुलाई कथित महाअभियन्ता बनाएर नागरिक मुक्तिका लागि आन्दोलन छेडिरहेका छन् । तर पैसाकै कारण दुर्गा प्रसाईँको अस्पतालले मानवियता बिर्सिएर घाइतेको अवस्थामाथि खेलवाड गरेको आफन्तीहरुको आरोप छ । तथापी मुख्यमन्त्रीले घाइतेको ज्यान तलमाथि भए, प्रहरी बोलाएर थुनाउनेसम्मको चेतावनी दिएपछिमात्रै हच्किएका प्रसाईंले अस्पतालबाट घाइतेलाई निकाल्न दिएका थिए ।

घाइतेहरुलाई अहिले नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याएर भर्ना गरिएको छ । कीर्तिपुर अस्पतालमा अहिले जलेको अनुहार, जलेका हातखुट्टा र शरीरसहित २५ जनाले उपचार गराईरहेका छन् । अस्पतालको जनशक्ति र स्रोतसहितको उपकरणले नपुग्ने भएपछि अमेरिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोली मगाइएको छ । जुन पहिलो चरणको टोली आइतबार आइपुग्ने छ । जलेका बिरामीको उपचार निकै महंगो हुने र पर्याप्त उपकरण पनि नभएपछि विदेशी टीमसँग सहयोग मागिएको अस्पतालका बर्न विभाग प्रमुख डा. किरण नकर्मीले जनाए ।

अस्पतालका अनुसार बिरामीहरुलाई बचाउन हरसम्मको प्रयास गरिएको छ । अहिले ६५ प्रतिशतसम्म शरीर जलेका घाइतेहरुको अप्रेसन र उपचार गरिएको छ । शुक्रबार एकैदिन चारजनाको अप्रेशन गरिएको थियो । तर जलेका बिरामीको उपचार गर्ने देशकै यही एउटा गतिलो अस्पताल भएपनि अभावैअभावमा काम भइरहेको प्रा.डा. शंकरमान राई बताउँछन् ।

घाइतेको अवस्था र उपचारबारे जानकारी लिन शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल पुगेका थिए । डाक्टरको बिफ्रिङ र घाइतेको अवस्था बुझेपछि चिन्तित देखिएका ओलीले उपचारका लागि सरकारले हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । उनीहरूकाे उपचार राज्यले गर्नुपर्ने ओलीकाे भनाइ छ ।

बिहिबार घाइतेबारे जानकारी लिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत पनि अस्पताल पुगे । शुक्रबार खेलकुद मन्त्री डिगबहादुर लिम्बुसमेत अस्पताल पुगेर उपचारमा कुनै कमि नआउने आश्वासन दिएर फर्किएका छन् । तथापी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमा पाइला नटेकेको आफन्तीहरुको गुनासो छ । घाइतेका परिवारहरुले उपचार राज्यले निशुल्क गरिदिनुपर्ने माग गरिरहेका छन् ।

नेपालमा नेताहरुले जलेर घाइते हुन वित्तिकै रातारात विदेशमा लिने चलन छ । अहिले नागरिक जल्दा सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउने चेष्टा सरकारले गरेको छैन । यो नेता र जनताबीच गरिएको विभेद हो । चिकित्सककै बलमा बचाउने प्रयास भएपनि उपकरण अभाव जस्ता समस्या झन बढ्दै गएको छ ।

०००

प्रकाशित समय : १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु