global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा

न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा

न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा

भारत एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

भारतले उपाधिका लागि अष्ट्रेलिया र साउथ अफ्रिकाबीचको विजेतासँग खेल्नेछ । भारतले प्रस्तुत गरेको ३ सय ९८ रनको बिशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३ सय २७ रनमा समेटियो । न्युजिल्याण्डले ४८ दशमलव ५ ओभरमा अल आउट हुँदै ३ सय २७ रन बनाएको हो ।

न्युजिल्याण्डका लागि डेरिन मिचेलले १ सय ३४ रनको शानदार इनिङ्स खेले । कप्तान केन विलियम्सले ६९ रनको योगदान गरे ।

दुवैले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गर्दै न्युजिल्याण्डलाई शानदार तरिकाले अघि बढाएका थिए । ग्लेन फिलिप्सले ४१ रनको योगदान गरे । अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेन ।

भारतका मोहमद सामी पुन एक पटक चम्किएपछि न्युजिल्याण्ड खेलमा जम्न सकेन । सामीले ७ विकेट लिदै भारतलाई बलिङमा शानदार प्रर्दशन दिलाए । उनकै घातक बलिङमा न्युजिल्याण्डको ब्याटिङ लाइन धरासायी बनेको थियो ।

न्युजिल्याण्डविरुद्ध भारतका सामीको बलिङ पूर्णत हाबी रह्यो । जसप्रीत बुम्राहा, मोहमद सिराज र कुलदीप यादवले समान एक एक विकेट हात पारे ।

बुधबार वानखडे स्टेडियममा घरेलु टोली भारतले फाइनल प्रवेशका लागि न्युजिल्याण्डलाई ३ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो ।

कोहलीले कीर्तिमानी ५० औं शतक प्रहार गर्दा श्रेयशको लगातार दोस्रो शतकमा भारतले झण्डै ४ सयको विशाल योगफल बनाएको हो । कोहलीको १ सय १७ रनको इनिङ्समा भारतका लागि श्रेयशले १ सय ५ रनको शानदार पाली खेले । दुवैले दोस्रो विकेका लागि १ सय ६३ रनको साझेदारी गरेका थिए ।

विराटले एकदिवसीय खेलमा कीर्तिमानी ५० औं शतक प्रहार गरेका छन् । उनले सचिन तेन्दुलकरको नाममा रहेको ४९ औं शतकको कीर्तिमानलाई समेत भंग गरेका छन् ।

ठुलो रनतर्फ अघि बढेका सुभमन गिल ८० रनमा रिटायड हर्ट हुदाँ कप्तान रोहित शर्माले ४७ रनको योगदान गरेका थिए । केएल राहुलले विस्फोटक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए ।

उनले ५ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् । सुर्यकुमार यादव १ रनमा आउट भएका थिए । न्युजिल्याण्डका टिम साउथीले ३ तथा ट्रेन्ट बोल्टले १ विकेट हात पारेका थिए । दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र साउथ अफ्रिका खेल्नेछन् ।

प्रकाशित समय : ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु