गृहपृष्ठ ‘अरु समयमा सुनको कारोबार सुस्त छ, आज ४० किलो नाग्ने अपेक्षा गरेका छौँ’
‘अरु समयमा सुनको कारोबार सुस्त छ, आज ४० किलो नाग्ने अपेक्षा गरेका छौँ’
आज कार्तिक कृष्ण त्रयोदशी अर्थात धनतेरस पर्व । यो पर्वको दिन विशेष गरेर सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ । पछिल्लो सयम सुनको कारोबारको अवस्था के छ ? आजको दिन सुनको कारोबार कस्तो होला ? यसै विषयमा केन्द्रीत रहेर नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यसँग गरिएको कुराकानीको सम्पादित अंश :
सुनको कारोबारको अवस्था के छ ?
पछिल्लो समय सुनको कारोबार निकै कम मात्रामा भइरहेको छ । आज सुनको कारोबार बढ्ने व्यवसायीहरुको आस छ । तर अरु दिनको कुरा गर्दा सुनको कारोबार निकै कम मात्रै हुने गरेको छ । सुनको कारोबार हुने आज विशेष दिन हो । त्यसैले आज राम्रो कारोबार हुने अपेक्षा छ ।
कारोबार कम हुनुका तीन चार वटा कारणहरु रहेका छन् । मुख्य त सुनको मूल्य नै हो । अहिले सुनको मूल्य निकै महंगो छ । त्यसले पनि सुनको कारोबारमा प्रभाव पारेको छ । त्यस्तै अर्को भनेको मन्दी हो । मन्दीका कारणले मानिसहरुसँग पैसा धेरै छैन । फेरि सुन दैनिक उपभोग्य वस्तु पनि होइन । यो त काम विशेष वा पैसा भएको समयमा किन्ने वस्तु हो । अहिले आम्दानी घटेको छ । यसले गर्दा पनि सुनको कारोबारमा प्रभाव परेको छ ।
नेपालमा सुनको माग र आपूर्तिको अवस्था कस्तो छ ?
नेपालमा माग र आपूर्तिको अवस्था सन्तुलित छैन । माग धेरै छ । आपूर्ति कम छ । आजको दिनको मात्रै कुरा गर्ने हो भने पनि सुनको माग ४० किलोको हाराहारीमा हुने अनुमान गरिएको छ । तर आपूर्ति भनेको हाम्रा २० किलोग्राम मात्रै हो । यो दैनिक रुपमा हुने आपूर्ति हो ।
अघिल्ला दिनहरुमा माग निकै कम भएकाले त्यो समयको स्टकले हाजको माग धान्न पुग्छ । केही पहिले दैनिक १० किलो मात्रै आपूर्ति हुन्थ्यो । त्यो समयमा निकै गारो भएको थियो । तर अहिले दैनिक २० किलो हुँदा केही मात्रामा सहजता नै भएको छ । अहिले अपुग भन्ने छैन ।
तिहारको समयमा सुनको कारोबार बढेको होला नि ?
अरु समयको भन्दा चाडपर्वको समयमा सुनको कारोबार राम्रो नै छ । विशेष गरेर आजको दिन सुनचाँदी खरिद गर्ने नेपाली संस्कार भएकाले पनि केही मात्रामा व्यवसाय भएको अवस्था छ । अरु समयमा दिनको १० देखि १५ किलोग्राम खपत हुन्थ्यो भने अहिले दैनिक २० देखि २५ किलोग्रामको हाराहारीमा सुन बिक्री भइरहेको छ । आज त ४० किलो नाग्छ होला ।
सुनचाँदी व्यवसायीका समस्याहरु के-के छन् ?
सुनचाँदी व्यवसायीका समस्या धेरै नै छन् । नीति नियमदेखि लिएर सप्लाइसम्म नै समस्या भइरहेको छ । सुनचाँदी व्यवसायका लागि उपयुक्त नीति नियमहरु अहिलेसम्म पनि बन्न सकेका छैनन् । सप्लाइ गर्ने विषय पनि समस्याको रुपमा नै रहेको छ ।
त्यस्तै दक्ष श्रमिकको पनि अभाव रहेको छ । काम गर्ने कालीगडलाई तालिमको व्यवस्था पनि छैन । यो क्षेत्रमा निकै नै धेरै समस्याहरु रहेका छन् ।
सुनको माग भन्दा निकै कम मात्रै कोटा छुट्याइएको भन्नु भयो कसरी माग धानिरहेको छ बजारले ?
सुनको माग धेरै भएको समयमा अन्य स्रोतबाट आएको सुनले पनि बजार धानिरहेको हुन्छ । व्यवसायीसँग रहेको स्टक, तथा विदेशबाट आउनेहरुले ल्याएको सुन पनि हाम्रो बजारमा आइरहेको हुन्छ ।
व्यवसायीसँग भएको पुरानो स्टक सुन पनि अपुग भएको समयमा प्रयोग हुने गरेको छ । अपुग भएको समयमा व्यवस्था त गर्नु नै पर्छ । व्यवसायीले त्यसरीनै गरिरहेका छन् ।
सुनको मूल्य दिनप्रतिदिन बढीरहेको छ । के कारणले सुनको मूल्य बढीरहेको छ ?
अहिले सुनको मूल्य युद्धका कारणले बढेको हो । रुस–युक्रेन, इजरायल–पालेस्टाइन बिचको युद्ध चलिरहेको छ । जसको प्रभाव सुन बजारमा पनि परिरहेको छ । युद्धका कारणले गर्दा सुनको मूल्य अझै बढ्न सक्ने अवस्था छ ।
प्रकाशित समय : १२:४५ बजे