गृहपृष्ठ ८३ प्रतिशतले बढ्यो विदेश अध्ययनको रकम
८३ प्रतिशतले बढ्यो विदेश अध्ययनको रकम

चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा मात्र वैदेशिक अध्ययनमा २३ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षको सोही अवधिमा यो शीर्षकमा नेपालबाट बाहिरिएको रकम करिब ८३ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक अध्ययन शीर्षकमा १२ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।
पछिल्ला वर्षमा विदेश अध्ययनका लागि नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ । उक्त अवधिमा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै सो शीर्षकमा देशबाट बाहिरिने विदेशी मुद्रा पनि बढिरहेको छ ।
विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । गत आर्थिक वर्षमा वैदेशिक अध्ययनकै लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । यो पनि वार्षिक रूपमा हालसम्मकै बढी हो ।
शैक्षिक जनशक्ति निरन्तर विदेशिइरहँदा पनि तिनीहरूलाई नेपालमै रोक्न र विदेशिएकालाई स्वदेश फर्काउन सरकारसँग कुनै कार्यक्रम छैन ।
प्रकाशित समय : ०९:२० बजे