गृहपृष्ठ जाजरकोट भुकम्प : २१३ विद्यालयमा क्षति, ११ विद्यार्थी र एक शिक्षकको मृत्यु
जाजरकोट भुकम्प : २१३ विद्यालयमा क्षति, ११ विद्यार्थी र एक शिक्षकको मृत्यु

शुक्रबार मध्य रातीमा जाजरकोट जिल्लामा गएको भुकम्पनमा परि २१३ वटा विद्यालयमा क्षति पुगेको छ । जिल्लामा करिब ८ हजार घरमा पूर्ण र आंशीक क्षति पुगेको अवस्थामा ९१ विद्यालय भवन पूर्ण रुपमा र १२२ वटा भवनमा आंशीक क्षति पुगेको हो ।
पूर्ण क्षति भएका ९१ विद्यालयका ३६७ वटा कक्षा कोठा पूर्ण रुपमा क्षति भएको जिल्ला शिक्षा समन्वय इकाइ जाजरकोटका प्रमुख रमेश मल्लले जानकारी दिए । उनका अनुसार जिल्ला भरका ४३ वटा शौचालय र ११ वटा आइसीटी भवनमा पूर्ण क्षति पुगेको छ । त्यस्तै एक पुस्तकालय पनि पूर्ण रुपमा क्षति भएको उनले जानकारी दिए ।
त्यस्तै ७ वटा विद्यालयको घेराबार पनि पूर्ण रुपमा क्षति भएको छ भने ४ वटा सोलार सिस्टममा पनि पूर्ण रुपमा क्षति पुगेको छ । यो मंगलबार विहानसम्मको विवरण हो । अझै पनि विवरण आउने क्रम जारी रहेको प्रमुख मल्लको भनाइ छ । त्यस्तै यो भुकम्पबाट १२२ वटा विद्यालयका ४७६ वटा कक्षा कोठा, ३५ वटा शौचालयमा आंशिक क्षति पुगको छ ।
११ विद्यार्थी र एक शिक्षको मृत्यु
भुकम्पमा परेर ११ जना विद्यार्थी र १ जना शिक्षकको मृत्यु भएको विवरण सार्वजनिक भएको प्रमुख मल्लले जानकारी दिए । अहिले पनि विवरण संकलन गर्ने काम जारी रहेकाले यो संख्या बढ्न सक्ने उनको भनाइ छ । भुकम्पमा परि २० जना विद्यार्थी र २ जना शिक्षक घाइते भएका छन् ।
प्रकाशित समय : १७:२९ बजे