गृहपृष्ठ मुग्लिन–पोखरा सडक खण्डमा कालोपत्र सुरु
मुग्लिन–पोखरा सडक खण्डमा कालोपत्र सुरु

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ।
मुग्लिन–पोखरा सडकलाई ४ लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो । तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको ३ किलोमिटर सडक कालोपत्र सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । तिहारपछि भने नालापुलबाटै छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालोपत्र हुनेछ ।
यसअघि आयोजनाले आँबुखैरेनी खण्डमा कालोपत्र गरेको थियो । आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भइसकेको जनाइएको छ।
पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । यो खण्डमा हालसम्म ३६ प्रतिशत काम सकिएको छ ।
प्रकाशित समय : ०८:५५ बजे