गृहपृष्ठ जाजरकोटमा किन गयो यति भयंकर भूकम्प ? यस्तो छ तथ्य
जाजरकोटमा किन गयो यति भयंकर भूकम्प ? यस्तो छ तथ्य

‘भूकम्पको केन्द्रविन्दुमा सग्ला घर छैनन्, मानवीय क्षतिको कुनै जानकारी छैन । जिउँदा मानिस देख्न मुस्किल छ ।’ यो भनाइ बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीको हो ।
बारेकोटको माथिल्लो भेगमा सम्पर्क विच्छेद छ । टेलिफोन र इन्टरनेटले काम गर्दैन । त्यहाँका मानिसको अवस्थाबारे कुनै जानकारी नभएपछि मानवीय क्षतिको आकँलन पनि भएको छैन । गाउँपालिका अध्यक्ष गिरीले अहिलेसम्म वडा नम्बर १, २, ३ र ९ मा पुगेर अवस्थाको जानकारी लिएका छन् । घरहरु सग्ला छैनन् । सबै भत्किएका छन् । तल्लो भेगमा मानवीय क्षति कम छ । यो त्यही गाउँपालिका हो, जहाँ गएराति ११ बजेर ४७ मिनेटमा वडा नम्बर १ को रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जसले जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ ।
दुवै जिल्लामा अहिलेसम्म झण्डै १ सय ५० को हाराहारीमा मानवीय क्षति भएको आँकलन छ । सयौं घर–गोठहरु भत्किएका छन् । माटोको जोडाइ भएका अधिकांश घरहरु तहसनहस छन् । खलंगामा जिल्ला मालपोत कार्यालय लगायत प्रायः घरहरू भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबार पनि चर्किएको छ । घरहरू भत्किएपछि नागरिकहरू बाहिर चौरमा बसेका छन् । बाँचेका मानिसहरुले अस्पताल भरिएका छन् । राहत र उद्धारसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट र रुकुमपश्चिमका विभिन्न ठाउँमा पुगेर पीडित र घाइतेलाई ढाडस दिइरहेका छन् ।
ज्यान गुमाउनेहरूमा भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका अधिकांश छन् । रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा बढी क्षति पुगेको छ । घाइतेहरुको उद्धार र उपचारमा चुनौती थपिँदै गएको जिल्लाका सिडिओहरुले बताइरहेका छन् । राहत, उद्धार र पुनर्स्थापनाबारे छलफल गर्न गृह मन्त्रालयमा सरोकारवालाहरुको बैठक गरेको छ । भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय कर्णाली प्रदेश सरकारले गरेको छ ।
पश्चिम नेपालमा सबैभन्दा ठूलो जोखिममा
पश्चिम नेपालदेखि भारतको दिल्लीसम्मको भूभागमा भविष्यमा एउटा ठूलो भूकम्प आउन सक्ने खतरा बढेको वैज्ञानिकहरुले चेतावनी दिएका थिए । यसर्थ अहिले जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्प त्यसकै एउटा अंश हुनसक्ने विज्ञहरु बताइरहेका छन् । अर्थात् यो भन्दा ठूलो भूकम्पको जोखिम अझै हुनसक्छ ।
तथ्यहरुलाई केलाएर हेर्दा २०७२ सालको विध्वंशकारी भूकम्पमा पृथ्वीमुनि सञ्चित सबै तनाव निस्कन नसकेको र त्यो पश्चिमतर्फ सरेको वैज्ञानिकहरुको निष्कर्ष छ । नेचर एण्ड साइन्स नामक जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरुले यस्तो तथ्य पत्ता लगाएका थिए । तर उनीहरुले उक्त भूकम्प कुन परिमाणको हुनेछ र कहिले आउनेछ एकिन भनेक थिएनन् । अहिले पश्चिम नेपालमा ठूला भूकम्पले दुख दिएको यो दोस्रोपटक हो । गतमहिनामात्रै बझाङमा भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको थियो ।
पश्चिम नेपालमा सन् १५०५ मा ८.५ परिमाणको महाभूकम्प आएको थियो । ५ सय वर्षयता त्यही खाले महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन् । गत वैशाखदेखि चैत महिनासम्म पश्चिम नेपालका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा झण्डै ३ दर्जन ठूला भूकम्प गएका छन् । पराकम्प त सयौंको संख्यामा गएका छन् । अहिले सानोसानो स्तरमा आइरहेको भुइँचालो त्यही ठूलो भूकम्पीय जोखिमकै हुनसक्ने आकलन गरिएको छ । यसैकारण पनि जाजरकोटमा अहिले यो परिमाणको भूकम्प गएको हो । याे एकप्रकारले शक्तिशाली भूकम्प हाे ।
खासगरि भारत र तिब्बतको बीचमा पर्ने नेपाल उच्च भूकम्पीय जोखिमको क्षेत्र हो । किनकि हिमालय क्षेत्र भारतीय र तिव्बतीय प्लेटहरू ठोक्किने स्थान हो । फलतः नेपाल सधैं ठूलो भूकम्पको जोखिममा छ ।
७२ सालपछिकाे ठूलाे भूकम्प
२०७२ को महाभूकम्पपछि पछि संयुक्त राष्ट्रसंघको ‘ब्युरो अफ क्राइसिस प्रिभेन्सन’ले विश्वका १ सय ९८ राष्ट्रमध्य नेपाल भूकम्पीय उच्च जोखिमको ११औँ स्थानमा रहेको निष्कर्ष निकालेको थियो । त्यतिबेला ८ हजार ७ सय बढीले ज्यान गुमाएका थिए । करिब ६ लाख भौतिक संरचनाहरू ध्वस्त भएका थिए । जसबाट २२ हजारभन्दा बढी मानिसलाई घाइते र कैयौँ अंगभंग भएका थिए । किनकि त्यो त्यो निकै शक्तिशाली अर्थात् ७.८ रेक्टरस्केलको भूकम्प थियो । अहिले पनि ६.४ म्याग्नेच्युटको भूकम्प हो ।
७२ सालको भूकम्पले पश्चिम नेपाललाई खासै चोट दिएन । पोखराभन्दा पश्चिमको भूभागतिर खासै ठूलो कम्पन पनि गएन । तर त्यो कम्पनको शक्ति सञ्चय अहिले पश्चिचम नेपालमा विस्फाेट हुन खाेजिरहेकाे छ ।
प्रकाशित समय : १२:०० बजे