skip this prabhu bank contant

गृहपृष्ठ दोस्रो चरणको अनुसन्धानमै छुट्ने सम्भावना छ खाँण–टोपबहादुर !

दोस्रो चरणको अनुसन्धानमै छुट्ने सम्भावना छ खाँण–टोपबहादुर !

दोस्रो चरणको अनुसन्धानमै छुट्ने सम्भावना छ खाँण–टोपबहादुर !

सरकारको कठपुतली भएर राष्ट्रपति रामचन्द्र पौडेलले गुण्डानाइके रिगलका लागि भत्काएको लिगल सिस्टम सर्वाेच्चले उल्ट्याईदिएपछि सबैभन्दा नाङगेझार प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको सत्ता बनेको छ । यतिबेला सारा देश र सिस्टम एउटा अपराधी गुण्डाको चर्चा गर्न व्यस्त छ । ठ्याक्कै यही मेसो मिलाएर सरकारले त्योभन्दा ठूलो बद्मासी नक्कली भुटानी शरणार्थी प्रकरणमा गर्न खोजिरहेको छ । अर्थात् आफ्नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौं खाएर कालो कर्तुत गरेका पूर्वमन्त्रीसहितका उच्चपदस्थलाई छुटाउन सिस्टम नै सक्रिय बनेको सूचना बाहिरिएको छ । र यसका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले यसका योजनाकार र विचौलियाहरुलाई झिकाएर गोप्य रुपमा भटाभट बयान लिइरहेको छ । उनीहरुले पनि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितलाई जोगाउने गरि बयान फेरेका छन् । प्रहरीले यसैसाता लिएको निकै गोप्यरुपमा बयानमा यसका योजनाकार वा मुख्य विचौलियाहरु केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले पूर्वमन्त्रीसहितका उच्चपदस्थको नाम नै लिएका छैनन् । बरु विगतको आफ्नै बयानलाई फेरि इन्कारी बयान दिएका छन् । उनीहरुले बयान दिनुअघि पूर्वमन्त्रीका सहयोगीहरुसँग कुराकानी भएको समेत बुझिएको छ । जबकि उनीहरुले दिएको सप्रमाणसहितको बयानकै आधारमा उच्चपदस्थहरु पक्राउ परि पुर्पक्षका लागि जेल चलान भएका हुन् । प्रथमतः सप्रमाण बयान दिएकालाई फेरि झिकाएर बयान लिनु आफैमा शंकास्पद देखिन्छ । झन यति गम्भीर मुद्दामा दोस्रो चरणको अनुसन्धान नै गुपचुप रुपमा गरि प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेपछि पीडितहरुमा आशंका बढेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन चलिरहेकै बेला अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरुवा गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्वमा रहेका एसएसपी दानबहादुर कार्कीबाट जिम्मेवारी खोसेर भुपेन्द्रबहादुर खत्रीलाई जिम्मा लगाइयो । उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख डा. मनोज केसीबाट जिम्मेवारी खोसेर सोमेन्द्रसिंह राठौरलाई थमाइयो । जबकि उनीहरुले यो अनुसन्धानलाई अझै बलियो ढंगबाट गर्न थप १८ जना पीडितको जाहेरी लिएका थिए । तर उनीहरुको मनोबल नै गिराएर सरुवा गरियो । यो सब काँग्रेस सभापति शेरबहादुर देउवाको ठाडो निर्देशनमा सरकारले गरेको स्रोतको भनाइ छ । जबकि उनीहरुको सरुवाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत जानकारी पाएका थिएनन् । उनी उपत्यका बाहिर रहेका बेला अनुसन्धान अधिकृतको सरुवा भएको उनी आफै बताउँछन् । आफुले यसको नैतिक जिम्मेवारी उठाएपनि यो चलखेल आफ्नो अनुपस्थितिमा भएको गृहमन्त्रीले केही समयअघिमात्रै हाम्रै स्टुडियोमा खुलासा गरेका थिए ।

यो खाले चलखेल पछाडीको उद्देश्य थुनामा रहेका ठूलाबडालाई चोख्याउनकै लागि थियो भन्ने पुष्टि अहिले हुन खोज्दैछ । नत्र पहिलो चरणको अनुसन्धानमा पक्राउ नपरेका फरार ११ जनालाई पाँचमहिना पुगिसक्दा समेत प्रहरीले किन पक्राउ गरेको छैन ? पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिकसहित, नीरज राई र अशोक पोखरेल लगायतका ११ जना मध्ये एक जना पनि किन समातिदैनन् ? उनीहरु सुरुदेखि नै विदेशमा बसिरहेका छन् । अझ कतिपय खुनखार व्यक्तिहरुलाई त प्रहरीले अनुसन्धानमा पनि तानेको छैन । मुख्य बिचौलियाको भूमिका देखिएका बेचन झा न प्रहरीको खोजी सूचीमा छन् । न उनलाई पहिलो चरणको अनुसन्धानले प्रतिवादी नै बनाएको छ । मुख्य शंकामा भएर पनि उनी अहिलेसम्म अनुसन्धानको दायरामै नआउनु अर्काे शंकास्पद विषय हो । किनकि उनले नै तत्कालिन गृहमन्त्री खाँण र सचिव टेकनारायण पाण्डेको ठगी गिरोहसँग भेट गराएका थिए ।

अहिले अनुसन्धान लम्बिँदै जाँदा जनदबाब पनि कम हुँदै गएको छ । यस्तो अवस्थामा राजनीतिक नेतृत्वले मुद्दा कमजोर बनाएर आफ्ना विश्वास पात्रलाई छुटाउन व्यापक भूमिका खेलिरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबैको दबाब झेल्नुभन्दा बरु बिरामी अवस्थामा आराम गर्नु नै ठिक ठानेका छन् । तर यता दबाबमै काम गरिरहेको प्रहरीले यसअघि संगठित अपराध, राज्यविरुद्धको कसुर, ठगी र लिखत किर्तेमा मुद्दा दायर गरेपनि अब सामान्य ठगीमा मुद्दा चलाउने तयारी गरेको विषयले झनै झस्काउने काम गरेको छ ।
०००

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु