गृहपृष्ठ राजनीतिले दूषित बनेको एनआरएनए
राजनीतिले दूषित बनेको एनआरएनए

नेपालको मायाले कटक्कै मन खाने संस्था गैरआवासीय नेपाली संघ पनि पार्टीको झोले संगठनभन्दा माथिको बन्न सकेन । एकातर्फ छन्, आरके शर्मा । जो माओवादी पार्टीको झोला बोकेरै गैरआवासीय नेपालीहरुबीच राजनीति गरिरहेका छन् । अर्कातर्फ छन् बद्री केसी । जो एमालेको पिछलगु भएर पार्टीको उदण्ड संगठनको भरमा विपक्षीलाई तर्साइरहेका छन् । यीनीहरुको तामझाम, चुनाव, नतिजा र नाटक कुनै नखराभन्दा कम छैन । विदेशमा भएका सबै संस्थामध्ये निर्लज्ज यही एउटा गैरआवासीय नेपाली संघ रहेछ भन्ने पुष्टि यीनीहरु स्वंयमका गतिविधिले देखाइरहेको छ । नत्र राजनीतिमा असफल भएर जनताबाट तिरष्कृत बन्दै चुनावै हारेका रामकुमारी झाँक्रीहरुले उनीहरुकै मञ्चमा पुगेर झाँको झार्ने दिन आउने थिएन । केन्द्रीय कार्यालयभित्र घुसेर युवा संघले दाँत झारिदिने मौका पनि पाउने थिएन । तर नेपालको असफल राजनीति नेतृत्वभन्दा गएगुर्जेका त यीनै गैरआवासीयहरु रहेछन् । जसले चुनाव सकिएको दुई साता वितेपछि झनै रडाको मच्चाएका छन् ।
मंगलबार गैरआवासीय नेपाली संघको केन्द्रीयकार्यालय बालुवाटारमा मच्चिएको रडाको कुनै ताण्डवनृत्य भन्दा कम थिएन । जसरी यसअघि काठमाडौंको सुविधा सम्पन्न होटल सोल्टीमा यही ताण्डव मच्चाउने उनीहरुले पैसाको खोलो बगाएका थिए । मंगलबार पनिवाइसीयल बोकेर केन्द्रीय कार्यालय कब्जा गर्ने नीतिसहित अध्यक्षमा पराजित राजेन्द्रकुमार शर्मा (आरके) भित्रिएका थिए । उता अध्यक्षमा निर्वाचित डा. बद्री केसी महेश बस्नेतसहितको युवा संघ बोलाएर केन्द्रीय कार्यालयभित्र भाषणबाजी गरिरहेका थिए । दुवै बलशालीको जम्काभेट भएपछि एकछिन घमासानकै अवस्था बन्यो । युवा संघले आरके शर्मा समर्थक ओम शर्माको दाँत नै हल्लिने गरि मुक्का मारिदियो । अहिले दुवै समूह उजुरी बोकेर प्रहरीमा पुगेका छन् ।
अब यो विषय पुरापुर राजनीतिक एजेन्डा बनेको छ । एमालेसँग नजिक हुँदै आएकाबद्री केसीले एमाले नेताहरुलाई साथमा लिएर विपक्षीलाई तह लगाउने नीति अंगालेका छन् । अर्काे तर्फ काँग्रेस समर्थक महेश श्रेष्ठ र माओवादी निकट आरके शर्मा समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि काँग्रेस सभापति शेरबहादुर देउवासम्मको शक्ति प्रयोग गर्न खोजिरहेका छन् । नत्र चुनावी हार जितको विषयलाई लिएर हुलदंगा मच्चाउनुको अर्थ थिएन । जुन अहिले दुवै समूहले गरिरहेका छन् ।
मंगलबारको घटना लगत्तै एमाले नेता महेश बस्नेत र एनआरएनए अध्यक्ष बद्री केसीविरुद्ध समानान्तर कमिटीका अध्यक्ष आरके शर्मासहितले प्रहरी वृत्त दरबारमार्गमा उजुरी हालेका छन् । त्यसका विरुद्ध पनि बुधबार अध्यक्ष बद्री केसीले आरके शर्मा समूहले कार्यालयमा आई हुलदंगा गरेको र आफ्ना जिउज्यानमाथि नै असुरक्षा बढेको भन्दै अभद्र व्यवहार, वैयक्तिक गोपनियता तथा प्रतिष्ठाविरुद्धको कसूरमा कारबाही गरिपाउँ भनि आरके शर्मा, बुद्धिकुमार सुवेदी, गंगाधर गौतम, ठाकुर प्रसाद ढुंगाना र ओम शर्माविरुद्ध उजुरी हालेका छन् । खास विवाद निर्वाचनको मतपरिणामलाई लिएर हो । तर अहिले हातपात हुँदै कुटाकुटसम्मको अवस्था बनेको छ ।
निर्वाचनको मतपरिणामलाई अध्यक्षका दुई उम्मेदवार महेश श्रेष्ठ र आरके शर्माले स्वीकार गरेका छैनन् । यसैकारण उनीहरुले समानान्तर कमिटी नै गठन गरि खादा माला लगाएका छन् । अष्ट्रेलियामा रहेको कम्पनी भेरोद्धारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरि भएको अनलाइन मतदान प्रणाली नै कब्जा गरि बद्री केसी अध्यक्षमा निर्वाचित भएको आरोप उनीहरुको छ । उनीहरुका अनुसार उपाध्यक्षका उम्मेदवार केशव पौडेलको मत शून्यमा झारिएको छ । अर्थात उनले आफुले हालेकै मत पाएका छैनन् । तर यसलाई अनलाइन भोटिङको जिम्मा पाएको कम्पनी र बद्री केसी समूहले प्राविधिक त्रृटि भन्दै छानबिन गर्न तयार रहेको बताएको छ । तर आरके शर्मा समूहले पुनः निर्वाचन हुनुपर्ने अडान लिँदै आएको छ । उनीहरुबीच कात्तिक १० गते यही विषयमा छलफल पनि भएको थियो । तर दुवै समूह गल्न तयार नभएपछि सहमति भएको छैन ।
यसैपनि एनआरएनएको निर्वाचन जहिल्यै विवादको चौघेरामा पर्छ । यसअघि पनि ३ जना अध्यक्ष बनाएर विवाद थामथुम पारिएको थियो । त्यो भन्दाअघिको महाधिवेशनमा समेत विवाद भएर हुलदंगा नै भएको थियो । फलतः सार्थक उद्देश्यसहित विदेशमा बस्ने नेपालीहरुको हकहितका लागि बनेको संस्था अहिले स्वार्थमा आएर बद्नाम बनेको छ । जसले विदेशमा पसिना बगाएर चोखो मानु खाने गैरआवासीय नेपालीहरुको इज्जतलाईसमेत लिलाम बनाउने काम गरेको छ ।
प्रकाशित समय : १४:०० बजे