गृहपृष्ठ दशैंको समयमा विद्युतीय गाडीको ब्यापार फस्टायो

दशैंको समयमा विद्युतीय गाडीको ब्यापार फस्टायो

दशैंको समयमा विद्युतीय गाडीको ब्यापार फस्टायो

चाडपर्वको समयमा विद्तीय सवारी साधनको व्यापार फस्टाएको छ । असोज महिनामा हालसम्मकै धेरै विद्युतीय गाडी आयात भएको तथ्यांकले दसैंमा इभीको राम्रो ब्यापार भएको प्रष्ट पार्छ ।

भन्सार विभागको तथ्यांकअनुसार असोजमा २ अर्ब ४३ करोड १६ लाख रुपैयाँ बराबरका १२ सय ३७ वटा विद्युतीय गाडी आयात भएका छन् ।

गत वर्षको सोही अवधिमा नेपालले २ अर्ब रुपैयाँको ७०५ वटा मात्रै विद्युतीय गाडी आयात गरेको थियो । तर, यो वर्षको तीन महिनाको अवधिमा गत वर्षको तुलनामाभन्दा तीन गुणा बढी गाडी आयात भएको छ ।

उक्त आयातित गाडीबाट सरकारले १ अर्ब ११ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, नेपालले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँको २ हजार १३५ वटा विद्युतीय गाडी आयात गरेको छ । जुन सो अवधिमा आयात भएको संख्या हालसम्मकै उच्च हो । आयातित विद्युतीय गाडीबाट नेपालले २ अर्ब २४ करोड २१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

तीन महिनाको अवधिमा नेपालले ५० किलोवाटसम्मको १ अर्ब ७२ करोड २८ लाख रुपैयाँको ९५४ वटा विद्युतीय गाडी आयात गरेको छ । त्यस्तै, ५० किलोवाटदेखि १०० किलोवाटसम्मको ३ अर्ब ३८ करोड २४ लाख रुपैयाँको ११ सय ६६ वटा र १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ४ करोड ९० लाख रुपैयाँको १२ वटा र २ करोड २८ लाख रुपैयाँको ३ वटा विद्युतीय गाडी आयात गरेको छ ।

असोजमा अटो व्यवसायीहरुले दशैंलक्षित गाडी आयात गरेको देखिन्छ । पछिल्लो समय सरकारले विद्युतीय गाडीमा प्रोत्साहन गर्ने नीति लिएसँगै यसतर्फ ग्राहकहरुको आकर्षण बढ्दै गएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

पछिल्लो एक वर्षको तथ्याङ्क हेर्दा असोजमा गत वर्षभरी आयात भएको आधा तीन महिनामै आयात भइसकेको छ । गत आवमा ११ अर्ब ८४ करोड ९ लाख रुपैयाँको ४ हजार ५० वटा विद्युतीय गाडी आयात गरेको थियो । जसमा सरकारले आयातित गाडीबाट ३ अर्ब ३० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गत आवदेखिको आयातको तथ्याङ्क हेर्दा हरेक महिना विद्युतीय गाडीको आयात बढ्दो क्रममा देखिन्छ । गत आवको साउनमा नेपालले २११ वटा, भदौमा २०३ वटा, असोजमा २९१ वटा, कात्तिकमा ३१३ वटा, मंसिरमा ३३५ वटा, पुसमा ३९६ वटा, माघमा २६० वटा, फागुनमा १८९ वटा र चैतमा २५३ वटा विद्युतीय गाडी आयात गरेको थियो ।

त्यस्तै, २०८० को वैशाखमा ५०४ वटा, जेठमा ९१५ वटा, असारमा १८० वटा, साउनमा ११० वटा, भदौमा ७८८ वटा र असोजमा १२ सय ३७ वटा विद्युतीय गाडी आयात गरेको छ ।

नेपालले तीन महिनाको अवधिमा सबैभन्दा बढी भारतबाट आयात गरेको छ । भारतबाट मात्रै नेपालले २ अर्ब ८ करोड ६८ लाख रुपैयाँको १ हजार ७३ वटा विद्युतीय गाडी आयात गरेको छ । त्यपछि चीनबाट ३ अर्ब ५ करोड ७४ लाख रुपैयाँको १ हजार ५१ वटा, इन्डोनेसियाबाट ७ वटा, जर्मनीबाट २ वटा र दक्षिण कोरियाबाट २ वटा विद्युतीय गाडी आयात गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको सवारी साधनमा भन्सारदर र अन्तः शुल्कमा सहुलियत दिएको छ । तर, सहुलियत दिएपनि १०० किलोवाटभन्दा माथिका सवारी साधनमा भने आकर्षण कम देखिएको छ ।
सरकारले २०८०र८१ को बजेटमा विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीतिसहित अर्थमन्त्री डा। प्रकाशशरण महतले १०० किलोवाटभन्दा माथिको सवारी साधनको आयातमा भन्सार दर र अन्तःशुल्क घटाएको थियो ।

अर्थमन्त्री महतले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुनेबित्तिकै ३० प्रतिशत भन्सार लाग्ने कुरा व्यावहारिक नभएकाले ५ वर्गमा विभाजन गरेर व्यावहारिक मात्र बनाएको बताएका थिए । तर, सरकारले १०० किलोवाट माथिको सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीति लिए पनि अपेक्षाकृत विद्युतीय गाडी भने भित्रिएको देखिँदैन ।

सरकारले गत वर्षको बजेटमार्फत् विद्युतीय सवारी साधनलाई ४ वर्गमा विभाजन गरी १०० किलोवाटसम्मका लागि १० प्रतिशत भन्सार महसुल, १०० देखि २०० किलोवाटसम्मका लागि ३० प्रतिशत भन्सार महसुल र ३० प्रतिशत अन्तःशुल्क, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका लागि ४५ प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क र ३०० किलोवाटभन्दा माथिका लागि ६० प्रतिशत भन्सार महसुल र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको थियो ।

त्यसलाई यो वर्षको बजेटमार्फत् ५ वर्गमा विभाजन गरी ५० किलोवाटसम्मका लागि १० प्रतिशत मात्र भन्सार महसुल, ५० देखि १०० किलोवाटसम्मका लागि १५ प्रतिशत भन्सार महसुल र १० प्रतिशत अन्तःशुल्क, १०० किलोवाटदेखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका लागि ४० प्रतिशत भन्सार महशुल र ४५ प्रतिशत अन्तःशुल्क र सोभन्दा बढी क्षमताको हकमा साविकबमोजिमकै दरमा लाग्ने व्यवस्था गरेको छ ।

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु