skip this prabhu bank contant

गृहपृष्ठ लिफ्टिङ खानेपानी आयोजना बन्द हुँदा तीन महिनादेखि कालापानीवासी समस्यामा

लिफ्टिङ खानेपानी आयोजना बन्द हुँदा तीन महिनादेखि कालापानीवासी समस्यामा

लिफ्टिङ खानेपानी आयोजना बन्द हुँदा तीन महिनादेखि कालापानीवासी समस्यामा

खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानीमा करिब एक हजार आठ सय मिटर तल रहेको सुनकोशीबाट विसं २०७६ पुस २४ गते लिफ्ट गरेर पानी निकालिएको थियो ।

साविकको लिच्कीराम्चे–७ का ९७ घरलाई लक्षित गर्दै सञ्चालन गरिएको रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना विसं २०७७ पुस–११ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाका तत्कालीन गाउँपालिका प्रमुख भूपेन्द्र राईले औपचारिकरुपमा उद्घाटन गरेका हुुन् ।

खानेपानी अभावमा बसाइँ सर्नुपर्ने बाध्यतामा रहेका कालापानीबासीका लागि सुरुका केही दिन लिफ्टिङ खानेपानी आयोजनाले राहत मिलेको थियो । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका कालापानीका स्थानीयवासी ढिलै भए पनि आफ्नो गाउँमा लिफ्टिङ खानेपानी आयोजना भएपछि हर्षित भएका थिए ।

कहिले बेलामा विद्युत् महसुल बुझाउन नसक्दा र कहिले उपकरण बिग्रँदा रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना बन्द हुने गरेको छ । नेपाल सरकार, खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख बराबरको श्रमदान गरी एक करोड ८० लाखमा सञ्चालन गरिएको लिफ्टिङ खानेपानी आयोजना तीन महिनादेखि बन्द छ ।

एउटा लिफ्टको मोटर चलाउने पाइनल बोर्ड बिग्रेका कारण गत असारदेखि रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना बन्द भएको उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले जानकारी दिए । “खानेपानी आयोजना बन्द भएपछि समस्या भएको छ । स्थानीयस्तरबाट मर्मत गर्ने सम्भावना छैन”, उनले भने, “प्रदेश सरकार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय खोटाङले उपकरण खरिद गरिदिने र दसैँअघि लिफ्टिङ खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

खानेपानीको समस्या चर्किदै गएपछि कालापानीमा सुनकोशीको पानी लिफ्ट गर्ने प्रयासस्वरुप विसं २०७० मा डिटेल सर्भे गरिएको थियो । विसं २०७२ चैत ११ गते शिलान्यास गरेर पाँच वर्षपछि सञ्चालनमा ल्याइएको रसुवाघाट–कालापानी खानेपानी आयोजना खोटाङकै पहिलो लिफ्टिङ आयोजना हो ।

कालापानीमा खानेपानीको समस्या हल गर्न नदीको पानी निकाल्नु वा बस्ती सार्नुपर्ने अवस्था देखिएपछि तत्कालीन गाउँपालिका प्रमुख एवं वर्तमान प्रदेशसभा सदस्य राईकै पहलमा रसुवाघाट–कालापानी लिफ्टिङ आयोजनाको काम अघि बढाइएको थियो । लिफ्टिङ आयोजनाका लागि नदी किनारमा मेसिन राख्ने घर निर्माण गरेर पानी तान्ने बोरिङ उपकरण जडान गरिएको छ ।

विद्युत्को सहायतामा ५० एमएमको जिआइ पाइपमार्फत १०/१० हजार लिटर क्षमताको दुईवटा सप्लाई ट्याङ्कीमार्फत सबैभन्दामाथि गाउँमा निर्माण गरिएको ३५ हजार लिटर क्षमताको आरसिसि ट्याङ्कीमा पानी जम्मा गरेर वितरणको व्यवस्था मिलाइएको छ ।

कालापानीमा सुनकोशीको पानी तान्ने योजना सुरु भएसँगै हलेसी क्षेत्रमा दूधकोशीको, रावाबेँसीको डुम्रेधारापानीमा दूधकोशीको र दिक्तेलमा साप्सुखोलाको पानी लिफ्ट गर्ने योजनाको काम भइरहेका छन् ।

लिच्कीराम्चेमा केही समयअघिदेखि दिहुँखोला खानेपानी योजना सञ्चानलनमा ल्याइएपछि लिफ्टिङ आयोजनाको पानी प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था हटेको छ । लिफ्टिङ गरिएको नदीको पानीभन्दा दिहुँखोलाको पानीको महसुल सस्तो पर्ने भएकाले पछिल्लो समय उपभोक्ताले लिफ्टिङ गरिएको पानी कम प्रयोग गर्न थालेका छन् ।

लिफ्टिङ गरिएको खानेपानीको महसुल मासिक न्यूनतम पाँच सय पर्छ जब कि दिहुँखोलाको पानीको महसुल वार्षिक पाँच सय पर्ने गरेको अध्यक्ष राउतले जानकारी दिएका छन् । गत असारअघिको करिब दुई लाख विद्युत् महसुलमध्ये अझै ५०/६० हजार महसुल चुक्ता गर्न बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु