गृहपृष्ठ होटल क्राउन इम्पेरियलको कारोबार ८४ प्रतिशतले बढ्यो
होटल क्राउन इम्पेरियलको कारोबार ८४ प्रतिशतले बढ्यो

होटल क्राउन इम्पेरियलको कारोबार ८४ प्रतिशतले बढेको छ। राजधानीको रविभवनमा रहेकोचारतारे होटलले सन् २०२२/२३ मा १२ करोड २० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको हो।
बैंठक, कन्फ्रेन्स, प्रदर्शनीलगायतका गतिविधि बढ्दा होटलको व्यापार बढ्न पुगेको देखिन्छ। होटलले यो सेग्मेन्टबाट ५८ प्रतिशत आम्दानी गर्दा रुम तथा सेवाबाट ४० प्रतिशत आर्जन गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ।
होटलले आईपीओ निष्कासनका लागि केयर रेटिङ्स नेपालबाट एनपी बीप्लस इसुअर रेटिङ पाएको छ । २०२२/२३ मा अकुपेन्सी दर बढेर २१.३६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष होटलको अकुपेन्सी दर जम्मा ८.५३ प्रतिशत थियो।
अघिल्लो वर्ष २०२१/२२ मा ६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। २०२०/२१ मा होटलको व्यापार जम्मा २ करोड ३० लाख रुपैयाँ थियो। २०१९/२० मा होटलले ८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो।
१३१ कोठा रहेको होटल चारतारे स्तरको हो। होटल अर्किड होल्डिङ्स लिमिटेड नामको कम्पनीमार्फत संचालन भइरहेको छ। २००७ नोभेम्बर १३ मा प्राइभेट कम्पनीको रुपमा सुरु भएकोमा २०२२ जुलाई ११ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो। होटलको क्षेत्रफल १७.९६ रोपनीमा फैलिएको छ।
होटलमा सबैभन्दा ठूलो लगानी एसियन लाइफ इन्स्योरेन्सको छ। होटलमा एसियन लाइफको सेयर स्वामित्व ४३.१९ प्रतिशत छ।
प्रकाशित समय : १९:४३ बजे