गृहपृष्ठ जग्गा कित्ताकाट खुलेसँगै घट्यो कारोबार, साउनभन्दा भदौमा कम

जग्गा कित्ताकाट खुलेसँगै घट्यो कारोबार, साउनभन्दा भदौमा कम

जग्गा कित्ताकाट खुलेसँगै घट्यो कारोबार, साउनभन्दा भदौमा कम

गत आर्थिक वर्षमा सरकारले कित्ताकाटमा लगाएको रोकावटले अर्थतन्त्रमा ठूलो धक्का पुग्यो । यसले राजस्व संकलनमा समेत नकारात्मक प्रभाव पार्‍यो । यसको प्रभाव पूर्ण रुपले अर्थतन्त्रमा परेपछि सरकारले साउन ३२ गतेबाट भू–उपयोग नियमावली संशोधन गर्दै कित्ताकाट खुलाउने निर्णय गरेको थियो । तर, सरकारले कित्ताकाट खुला गरेपनि घरजग्गाको कारोबारमा भने सुधारको संकेत देखिएको छैन ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार सरकारले उच्चरुपमा भएको कित्ताकाटलाई नियन्त्रण गर्ने भन्दै गत वर्षको जेठमा भू–उपयोग नियमावली जारी गरेको थियो । नियमावली जारी भएसँगै घरजग्गा कारोबारमा निकै समस्या देखियो । व्यवसायीहरुले नियमावली जारी भएसँगै कित्ताकाटमा देखिएको समस्या समाधानको माग गर्न थाले । विभिन्न चरणको छलफल र भेटघाटपछि गत साउनको अन्त्यमा कित्ताकाट खुला गरि कारोबारमा सरकारले सहजीकरण गरेको थियो ।

व्यवसायीहरुले सरकारले कित्ताकाटको बाटो खुलाएपछि घरजग्गा कारोबारमा सुधार आउने बताएका थिए । तर, सरकारले कित्ताकाटको बाटो खुला गरेपनि कारोबार भने झन घटेको छ । विभागको तथ्यांकअनुसार भदौ महिनामा ३५ हजार ६८६ वटा घरजग्गा किनबेच भएको छ । जुन गत साउनको तुलनामा करिब ४ हजारले कम हो ।

गत साउनमा देशभरका मालपोत कार्यालयबाट ३९ हजार २६३ घरजग्गा किनबेच भएका थिए । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले आर्थिक क्षेत्रमा देखिएको संकुचनले कारोबार बढ्न नसकेको बताए । अहिले अधिकांश क्षेत्रमा आर्थिक संकुचन देखिएको र त्यसको प्रत्यक्ष असर घरजग्गा कारोबारमा पनि परेको उनको भनाइ छ । ‘आर्थिक संकुचनले मानिसमा घरजग्गामा लगानी गरौं भन्ने खालको मनस्थिति सिर्जना हुन सकेको छैन’ लोहनीले भने, ‘जबसम्म मानिसमा घरजग्गा क्षेत्रमा लगानी गरेर सुरक्षित महसुस हुँदैन, तबसम्म कारोबारले गति लिने देखिँदैन ।’

अहिले घरजग्गा कारोबार साउनको तुलनामा अझ घटेको छ । तर राजस्व संकलन भने बढेको छ । अब अहिले चाडवाड नजिकिएपछि मानिसहरु जग्गाको भन्दा पनि चाडवाड कसरी मनाउने भन्ने कुरामा केन्द्रीत हुन थालेका छन् । अब यो केही महिनापछि चाहीँ अलि सहज हुने अनुमान लोहनीको छ । अहिले घरजग्गा कारोबार कम हुने समय भएकाले पनि किनबेच निकै कम देखिएको उनले बताए । सरकारले कित्ताकाटमा सहजीकरण गरेपनि कारोबार हुने मौसम नभएकाले गति लिन नसकेको उनले जिकिर गरे । तर, आगामी मंसिरदेखि भने घरजग्गा कारोबारले गति लिने व्यवसायीहरुले अपेक्षा गरेका छन् ।

घरजग्गाको कारोबारमा अहिलेसम्म यस्तो संकट नआएको एक व्यवसायीले बताए । राष्ट्र बैंकले लगाएको नीतिका कारण अहिले आर्थिक क्षेत्र नै मन्द भएको छ । जसले पनि घरजग्गा व्यवसाय सुस्त बनेको उनको भनाइ छ । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य अम्बिकाप्रसाद पौडेलले घरजग्गा र सेयर बजारमा बन्देजको नीति अघि सार्दा अर्थतन्त्रमा समस्या आएको तर्क गरे । ‘सरकार तथा नेपाल राष्ट्र बैंकले नीति निर्माण गर्दा आफ्नो परिवेशको कमजोर मूल्यांकन र बाह्य परिवेशको अधिक मूल्यांकन पनि अहिलेको समस्या हो । खासमा हाम्रो अर्थतन्त्रको स्रोत रेमिटेन्स र रेमिटेन्सको लगानी घरजग्गा तथा शेयर अनि पछिल्लो समयमा सबैभन्दा प्रहार पनि त्यही क्षेत्रमा भइरहेको छ,’ उनले भने, ‘घरजग्गा र सेयर कर्जामा पनि सधैं उदार हुनुपर्दछ भन्ने होइन तर अर्को क्षेत्रले प्रतिस्थापन गर्ने वातावरण नहुँदासम्म पूर्ण बन्देजको नीति पनि अर्थतन्त्र संकुचनको कारण हो ।’

घरजग्गा क्षेत्रलाई हेर्ने दृष्टिकोण नै गलत भएको उनको भनाइ छ । ‘घरजग्गा व्यवसायमा सुधार आयो भने दुई दर्जन बढी क्षेत्र चलायमान हुन्छ भन्ने कुरा नीति निर्माताहरुले नबुझ्दा समस्या आएको हो,’ उनले भने, ‘सरकारले घरजग्गा व्यवसायलाई तत्काल चलायमान बनाएन भने अर्थतन्त्र गम्भीर संकटमा जाने निश्चित छ ।’ त्यसैगरी, भदौ महिनामा ३६ हजार २८० जग्गा वर्गीकरण भई ८० हजार ३१७ कित्ता कायम भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

प्रकाशित समय : १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु