गृहपृष्ठ पर्यटन क्षेत्रमा बढी योगदान गर्ने कम्पनी तथा व्यवसायी सम्मानित
पर्यटन क्षेत्रमा बढी योगदान गर्ने कम्पनी तथा व्यवसायी सम्मानित

एक वर्षको अवधिमा पर्यटन क्षेत्रमा बढी योगदान गर्ने कम्पनी तथा व्यवसायीलाई नेपाल सरकारले सम्मान गरेको छ ।
विश्व पर्यटन दिवसको अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा सेभेन समिट ट्रेक्स प्रालि रहेको छ । यो कम्पनीले १ अगस्ट २०२२ देखि २०२३ अगस्टसम्म सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको मन्त्रालयले जनाएको छ । यो कम्पनीले २३ लाख २२ हजार ६४ अमेरिकी डलर मुद्रा आर्जन गरेको थियो ।
सीता वर्ल्ड ट्राभल नेपाल प्रालि ट्राभल तथा टुर्समा बढी विदेशी मुद्रा भित्राएवापत सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ३३ लाख ६१ हजार १३६ डलर भित्राएको थियो
एभरेष्ट हस्पिटालिटी एण्ड होटल होटल तथा रिसोर्टतर्फ बढी विदेशी मुद्रा भित्राएवापत सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ५० लाख ४१ हजार २३७ डलर भित्राएको देखिएको छ ।
पोखरा अष्ट्रालाई प्रालि साहसिक खेलतर्फ सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ४४ हजार ३८८ अमेरिकी डलर विदेशी मुद्रा भित्राएको हो ।
एयरलाइन्स कम्पनीतर्फ नेपाल वायुसेवा निगम सम्मानित भएको छ । यो कम्पनले एक वर्षमा ८ करोड ४५ लाख ९ हजार ९३७ अमेरिकी डलर विदेशी मुद्रा नेपाल भित्राएको छ । आफ्नै रिसोर्ट परिसरमा उत्पादित माछा, तरकारी, सागपात र कुखुरा पालन गरी एग्रो टुरिजम प्रवर्द्धन गरेको लुम्बिनी ग्रीन रिसोर्ट शिवराज कपिलवस्तु समेत सम्मानित भएको छ ।
होमस्टेतर्फ अमलटारी होमस्टे नवलपरासी सम्मानित बनेको छ । विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल ९२ दिनमा आरोहण गरी कीर्तिमान राखेका क्रिष्टिन हारिला र लामा तेन्जान शेर्पा समेत यस वर्ष सरकारबाट सम्मानित भएका छन् ।
प्रकाशित समय : १४:१५ बजे