गृहपृष्ठ पोखरामा मिटर प्रणालीमा सञ्‍चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो, न्युनतम ५ हजार पुग्यो

पोखरामा मिटर प्रणालीमा सञ्‍चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो, न्युनतम ५ हजार पुग्यो

पोखरामा मिटर प्रणालीमा सञ्‍चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो, न्युनतम ५ हजार पुग्यो

पोखरामा मिटर प्रणालीमा सञ्‍चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ। प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले मिटरमा नचल्ने ट्याक्सीलाई दुई हजार एक सय रुपैयाँका दरले जरिवाना तिराउने गरिएकामा अबदेखि न्यूनतम जरिवाना पाँच हजार पुर्‍याउने निर्णय भएको जानकारी दिए।

गत भदौ १ गतेदेखि पोखरा उपत्यकामा चल्ने ट्याक्सीमा लागू भएको मिटर प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने निर्णय भएको उनले बताए। मन्त्री जुग्जालीले ट्याक्सीको मिटर प्रणालीमा थप कडाइ गरिने बताए।

‘ट्याक्सी मिटरमा सञ्‍चालन भएरनभएकाबारे मन्त्रालयबाट नियमित अनुगमन भइरहेको छ,’ उनले भने, ‘कुनै ट्याक्सीले मिटरमा चल्न नमानेमा तुरुन्तै ट्राफिक प्रहरी, यातायात कार्यालय र मन्त्रालयमा उजुरी गर्न सकिन्छ।’

हालसम्म मिटरमा सञ्‍चालन हुन नमान्‍ने एक सय १७ वटा ट्याक्सीलाई कारबाही गरिएको र केही ट्याक्सी कारबाहीको प्रक्रियामा रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

मिटर प्रणालीमा नचल्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने गरिएको कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले बताए। ट्याक्सीले मनपरी भाडा लिएर यात्रु ठग्‍ने गरेको जनगुनासो बढेपछि मन्त्रालयले मिटर प्रणाली लागू गर्न पहल लिएको थियो। ट्याक्सी व्यवसायीसँग विभिन्‍न चरणमा छलफल गरी मिटर प्रणालीमा ट्याक्सी सञ्‍चालन गर्ने निर्णय भएको थियो।

विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन्। २ वर्षअघि समायोजन गरिएको भाडादरअनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) ८० रुपैयाँ र त्यसपछि प्रति दुई सय मिटरको १० रुपैयाँ तोकिएको छ।

१५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रूपैयाँ ५० पैसा कायम गरिएको थियो। केही ट्याक्सी चालकले पछिल्लो समय इन्धन र सवारीसाधनका उपकरणमा भएको मूल्यवृद्धिअनुसार भाडा समायोजन नभएको भन्दै मिटरमा चल्न आनाकानी गर्न थालेको यात्रुले गुनासो गरेका छन्।

भाडादर समायोजनको विषयमा पनि मन्त्रालय गृहकार्यमा जुटिरहेको जनाउँदै प्रवक्ता पौडेलले यातायात व्यवसायीले विगतमा गरेको प्रतिबद्धता कार्यान्वयनमा जिम्मेवार बन्‍नुपर्ने बताए। उनले ट्याक्सीले मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य गरिने उल्लेख गरे।

प्रकाशित समय : १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु