गृहपृष्ठ उपलब्धि मान्नेहरुबाटै संविधानमाथि प्रहार
उपलब्धि मान्नेहरुबाटै संविधानमाथि प्रहार

नेपालमा जतिसुकै संविधान आएपनि जनताले महशुस गर्न पाएनन् । नेपालको संविधान-२०७२ जारी भएको पनि ८ बर्ष पुगेको छ तर यो संविधानप्रति पनि जनता सन्तुष्ट छैनन् । ऐतिहासिक उपलब्धिको रुपमा एकथान संविधानलाई मानेका दलहरु एकातिर संविधानको चिन्ता गरिरहेका छन् भने अर्कोतर्फ अनेकन छिद्र देखाएर स्वार्थसिद्ध गर्न संविधानमै छेडखानी गरिरहेको छन् । करिब ८ दशकको इतिहासमा नेपालले ७ वटा संविधान पायो ।
वि.सं २००४ देखि नेपालको संविधान २०७२ जारी गर्दासम्म राज्यप्रमुखको घोषणा, राजनीतिक सहमति र संविधानसभा निर्वाचनमार्फत् गरि तीन विधिको प्रयोग गरि नेपालले संविधान पाईसकेको छ । तर संविधान सभामार्फत निर्माण गरिएको नेपालको संविधान २०७२ जारी भएको ८ बर्ष बितिसक्दा पनि जनभावनालाई छोएको छैन भने असन्तुष्टिका स्वरहरु अझै मत्थर भइसकेका छैनन् ।
अहिले सरकारको नेतृत्वमा रहेका सबैजसो दलहरुले आफ्नो राजनीतिक इतिहासमा पाएको सबैभन्दा ठूलो उपलब्धि नै एक थान संविधान हो । तर तीनै संविधानका संघर्षकर्तालाई अहिले त्यही उपलब्धि गुम्ने पीरले पिरोल्न थालेको छ ।
उपलब्धि मान्नेहरुकै कारण संविधानमा देखिएका १० जोखिमः
१. शक्ति राष्ट्रको नजर
निकटको छिमेकी भारतले अझैपनि नेपालको संविधानलाई खुला हृदयले स्वीकार्न सकेको छैन । नेपाल हिन्दु धर्म सापेक्ष राष्ट्र होस् भन्ने चाहना राख्ने भारत धर्म निरपेक्षताप्रति असन्तुष्ट छ । १२ बुँदे बिस्तृत शान्ति सम्झौता भारतमै भएकाले संविधान निर्माण पनि भारतकै स्वार्थमा भएको र धर्मनिरपेक्षता एक्कासी घुसाईएको चियोचर्चो पनि हुन्छ ।
संविधान दिवसकै अवसरमा पनि नेपालसँग बिभिन्न परियोजनामार्फत नजिकिन खोजिरहेको अमेरिकाले शुभकामना दिनु र भारतले शुुभकामना समेत नदिनुलाई पनि चासोले हेरिएको छ । विदेशी हस्तक्षेप नेपालको घरेलु राजनीतिमा प्रत्यक्ष पर्ने भएकाले संविधानमा जोखिम मान्न सकिन्छ ।
२. कानून निर्माणमा बेखबर
संविधान बनाउनेहरुबाटै संविधानमा जोखिक देखिनुको मुख्य कारण हो, संविधानको सफत कार्यान्वयनका लागि बनाउनुपर्ने कानून समयमै बनाउन उदासिन देखिनु । सरकार र संसदले चासो नदिँदा ४ दर्जन संघीय कानुन अँझै बनेका छैनन् भने प्रदेश र स्थानीय तहकोभूमीका यसमा झनै सुस्त छ । अझ प्रदेश र स्थानीय तहहरुले पाउने अधिकारहरुमा समेत केन्द्रकै हस्तक्षेपले अर्को जोखिम छ ।
३. संविधानमा छेडखानी
अर्को महत्वपूर्ण कारण हो संविधानमा दलहरुको छेडखानी । संविधानलाई तिलाञ्जली दिँदै गरिएको संसद विघटन, अनेकन छिद्र देखाएर कोशीमा सभामुखको समेत प्रयोग गरि सरकार बनाउने लगायत गतिविधिले संविधान जोखिममा छ । एकातिर संविधानको चिन्ता गरिरहँदा यीनै दलहरुले संविधानमा छेडखानी पनि छाडेका छैनन्।
४. संवैधानिक निकाय निकम्मा
राजनीतिक छत्रछायामा पर्दा सबै संवैधानिक निकायहरु निकम्मा सावित भइरहेका छन् । जसका कारण संविधानमाथि प्रश्न उठिरहेको छ । एक राजा फलेर गणतन्त्र ल्यायौँ तर हजारौं राजा जनप्रतिनिधिको मुकुट लगाएर जन्मिए भन्ने भाष्य समाजमा जबरदस्त छ । राजसंस्थाका राजकुमार र युवराजहरुलाई समेत पछि पार्दै गणतन्त्रका राजकुमारहरुको देशमा बुबाज्यूहरुको आडमा देश सखाप पारिरहेका छन् । जसले जनतामा ब्यापक आक्रोश छ ।
६. निर्वाचन प्रणालीलाई देखाएर मुलकमा अस्थीरता
नेपालको निर्वाचन प्रणालीलाई देखाएर मुलुकमा अस्थीरता लाद्न खोजिदैछ । अहिलेकै निर्वाचन प्रणालीका कारण प्रतिनिधि र प्रदेशका सबै संसद त्रिशंकु अवस्थामा रहदा राजनीतिक अस्थीरता ब्याप्त भएको छ । जसले जनतामा नैराश्यताको हद नै पार गरिसकेको छ ।
७. नातागोताका लागि समानुपातिक चिठ्ठा
सबैको समान सहभागिताजस्तो पवित्र उद्देश्य लिएर सुरु गरिएको समानुपनतिक निर्वाचन प्रणाली अहिले दाई भाउजूर नातागोताका लागि मात्रै फापेको छ । मञ्जु खाँण र आरजु राणा देउवाको संसद यात्रालाई यसको गतिलो उदाहरणका रुपमा हेर्न सकिन्छ ।
८. संविधान सर्वस्वीकार्य नहुनु
संविधान अझैपनि सर्वस्वीकार्य बनाउन सकिएको छैन । मधेशवादी दलहरुले नश्लवादी संविधान भन्दै विरोध जनाउन छाडेका छैनन् । पहिचानको मुद्दा समेत यो संविधानले बोक्न नसक्दा कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर सुरु भएको आन्दोलन रोकिएको छैन ।
९. व्यवस्था ल्याउन गरिएको संघर्ष नयाँले नदेख्नु
नयाँ उदाएका दल र स्वतन्त्र निर्वाचित जनप्रतिनिधिले अँझै प्रदेश संरचनालाई स्वीकार्न सकिरहेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभाको निर्वाचनमा सहभागि नै भएन भने स्वतन्त्र जनप्रतिनिधिहरुको मत पनि त्यही अनुसारको छ । जसले प्रदेश संरचना निकम्मा भएको सन्देश दिने आवाजलाई थप बलियो बनाएको छ । यो व्यवस्था र संविधान ल्याउन गरिएको संघर्षलाई नजरन्दाज गरेका उनीहरुका कारण पनि संविधानमा जोखिम छ ।
१०. संविधान ल्याउन संघर्ष गर्नेहरु नै ओझेलमा
संविधान ल्याउन जसले महत्वपूर्ण भूमीका खेले उनीहरुले नै संविधानको कार्यान्वयन पक्षमा पुग्न नसक्दा जनतामा संविधानको मुल स्प्रिडबारे जानकारी हुन पाएको छैन । जसले जनतामा संविधान खारेज हुनुपर्ने लगायतका दृष्टिकोणको जन्म भइरहेको छ । संविधान ल्याउनका लागि भूमीका खेलेका गिरिजाप्रसाद कोईराला, शुशिल कोईराला लगायतले कार्यान्वयन गर्न पाएनन् ।
संविधानसभामा अध्यक्ष सुवादचन्द्र नेम्वाङको राष्ट्रपति बनेर संविधानको सफल कार्यान्वयन गरेर जनतामा सकारात्मक सन्देश दिने सपना पनि अधुरै रहयो । व्यवस्था परिवर्तनको आन्दोलनमा जबरजस्त भूमिकामा देखिएका दोश्रो पुस्ताका गगनकुमार थापा, रामकुमारी झाँक्री, योगेश भट्टराई लगायतका नेतहरु पनि नेतृत्वसँग लड्न नसकेरै थला परे ।
संविधान दिवसमा मात्रै यसको सफल कार्यान्वयन र ल्याउनका लागि गरिएको संघर्षबारे बोलेर नाथाक्ने नेतृत्वका कारण संविधानको सफल कार्यान्वयन हुनै सक्दैन । संविधान ल्याउन संघर्ष गर्नेहरु नै सुध्रिएनन् र संविधानको मुल स्प्रिड जनताले महसुस गर्नेगरि बुझाउन सकेनन् भने पाएको एक थान उपलब्धि संविधान नगुम्ला पनि भन्न सकिदैन ।
प्रकाशित समय : ०९:०० बजे