गृहपृष्ठ नेपाल र युन्नानबीच मिडिया र पर्यटन विकासबारे गृहकार्य गरिने
नेपाल र युन्नानबीच मिडिया र पर्यटन विकासबारे गृहकार्य गरिने

चिनियाँ कम्युनिष्ट पार्टी, युन्नान प्रान्त प्रचार विभाग प्रमुख चङ यानले नेपाल र युन्नान प्रान्तको विविध क्षेत्रको विकासका लागि दुवै देशका सञ्चारमाध्यमले मिलेर काम गर्ने बताएका छन् ।
नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आइपुगेका चङले नेपाल चीन मिडिया फोरमद्वारा आज आयोजित स्वागत समारोहमा नेपाल र युन्नान प्रान्तको भूगोल, तापक्रम, बोट बिरुवा, जनावर आदिमा समानता पाइने जनाउँदै न्यू मिडिया आदिमार्फत नेपाल चीन दुवैको पर्यटन विकास गर्न गृहकार्य गरिने जानकारी दिए ।
उहाँले ससाना भिडियो, चलचित्र आदि बनाएर नेपाल र चीनको युन्नानलगायत क्षेत्रको इतिहास, संस्कृति र जनजीवनबारे प्रचारप्रसार गर्न पहिलो चरणमा मिडियाबाट काम गरिने बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को नेपाली प्रतिनिधिमण्डल र नेपाली नागरिकलाई फलफूल, फूललगायत बोट बिरुवा, तरकारी, चिया उत्पादन आदिको राजधानी मानिएको युन्नानमा पनि भ्रमण गर्न आग्रह गरे ।
युन्नान सूचना कार्यालयका नायब महानिर्देशकलाई योङले बिआरआइअन्तर्गत चीन र लाओसबीच रेलवे सेवा सञ्चालनमा आएको र यसबाट लाओसीहरूको जीवनस्तर एकदमै बढेको जनाउँदै आगामी दिनमा नेपाललगायत दक्षिण एसियाका पत्रकारलाई तालिम दिइने र भिडियो आदि बनाउन सहकार्य गरिने बताए ।
चिनियाँ प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बेल्ट एन्ड रोड इनिसियटिभ आरम्भ भएको १० वर्ष र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चौथो वर्ष प्रवेशका अवसरमा नेपाल र युन्नानका सरकारी पदाधिकारीलाई मिडिया क्षेत्रमा सहकार्य गर्न आग्रह गरे ।
उनले नेपाली पत्रकारका लागि चिनियाँ भाषा र तिनका सन्ततिलाई युन्नानमा व्यावसायिक सीप प्रदान गर्न प्रतिनिधिमण्डललाई आग्रह गर्दै यहाँ नेपाल, चीन, भारत र भुटानका पत्रकारको सम्मेलन गर्न पनि आह्वान गरे ।
प्रकाशित समय : १८:५२ बजे