गृहपृष्ठ शेखरकाे गुट भेला कि फुट भेला ?
शेखरकाे गुट भेला कि फुट भेला ?

गएको महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा हार ब्यहोरेका डा. शेखर कोइराला आफ्नै गुट बनाएर अघि बढेका छन् । केन्द्रीय समितिको बैठकअघि आफ्नो गुटसँग छलफल गरेका उनी प्रभावशाली नेतालाई आफ्नो पक्षमा पार्दै अधिकार जमाउन चाहन्छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त गरेका कोइराला ‘एक पटक यसैपटक’ भन्ने आफ्नो नारालाई तिलाञ्जली दिँदै १५ औं महाधिवेशनको झल्को दिने गरि आन्तरिक छलफलमा छन् ।
गुटको राजनीतिमा विश्वास नगर्ने भनेको शेखर समूहलाई अन्ततः पार्टीमा आफ्नो उपस्थिति देखाउनकै लागि भए पनि गुटको आवश्यक परेको मंगलबार बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको भेलाले छताछुल्ल पारेको छ । पार्टीको केन्द्रीय समिति बैठकको ठिक दुई दिनअघि शेखर समूह आन्तरिक छलफल भन्दै गुटको भेलामा बसेको छ । एक महामन्त्री र एक उपसभापतिको बलमा अर्का महामन्त्री थपेर पदाधिकारीमै आफ्नो अधिकार जमाउन खोजेका शेखरलाई महामन्त्री विश्वप्रकाश शर्माको अनुपस्थितिले भने धक्का दिएको छ । त्यसैले बैठकमा सहभागी नेताले अब उनीहरुसँग गगन र शेखरले राजनीतिक एजेण्डामा नै मेल मिलाएर सानो आकारको छलफल गर्न सल्लाह दिएका छन् । यता अहिले नै उनीहरुसँगको सहकार्य टुटेको निष्कर्ष निकाल्नु हतारो हुने केहीको तर्क छ ।
संसदीय दलको चुनावमा गगनसँगै देखिएका अर्का महामन्त्री शर्मा र युवा नेता प्रदीप पौडेललाई भित्र्याउन राजनीतिक धारणा मिलाएर जाने जिम्मा शेखर समूहले गगनलाई दिएको छ । आफ्नो समूहको विस्तारका लागि संसदीय दलमा समेत दोस्रो पुस्तालाई अगाडी सारेका डा. कोइराला केही समय गगनसँग समेत टाढा भए ।
पार्टीमा एकलौटी राज गरिरहेका सभापति देउवासँग शक्ति संघर्षभन्दा पनि राष्ट्रिय राजनीति र पार्टीमा छाएको निराशाको निराकरण गर्न देउवालाई अग्रसर बनाउन पर्ने उद्देश्य शेखरको छ । एकातर्फ पदाधिकारीलाई आफ्नो पक्षमा पार्ने कोशिसमा रहँदै गर्दा राष्ट्रिय राजनीतिले सहमति खोजेझैं पार्टीमा शेखरको लाईन पनि त्यस्तै देखिएको छ ।
बैठकमा पार्टीको समूहका धेरै नेता देउवाकै निगाहमा पद खाएको र गुटको वकालत गरेको आरोपसमेत नेताहरुले लगाएका छन् । त्यसैले देउवासँग खरो संघर्ष गर्ने तर्क पनि बैठकमा उठेको छ । काँग्रेसमा दोस्रो तहका नेताहरु भूमिकाविहिन भएको अवस्थामा कहिले देउवा फकाउने त कहिले देउवा तर्साउने दुवै रणनीतिमा लाग्दा त्यसको फाईदा शेखर दुबै हात पसारेर लिन खोज्दैछन् । धेरैले शेखर समूहबाट महामन्त्री उठेका मिनेन्द्र रिजालले देउवा रिझाएरै केन्द्रीय सदस्य बनेको र उनले शेखर समूह छोडेको चर्चा चलिरहँदा बैठकमा मात्रै गएनन् कि यही समूहमा रहेको सन्देशसमेत दिए ।
राष्ट्रिय राजनीतिमा उदाउन सार्वजनिक मञ्जबाटै देउवा–ओली मिलाउने रणनीतिसहित काँग्रेसकै नेतृत्वमा सरकार गठनका लागि शेखरले आवाज उठाउँदै आएका छन् । देउवाको ढल्किँदो उमेर र विधानले पनि तेस्रो कार्यकालका लागि सभापतिमा उठ्न नपाउने भएकोले शेखरको दौडधुप अहिलेदेखि नै सुरु भएको छ । लामो समयपछि शेखरले बोलाएको गुटको भेलाले अब पार्टीमा आफ्नो क्षेत्राधिकार सशक्त बनाउँदै राष्ट्रिय राजनीतिको पनि नेतृत्व गर्ने मनस्थितिमा शेखर छन् ।
प्रकाशित समय : १५:०० बजे