गृहपृष्ठ सस्तोमा ब्याजदरमा ऋण उपलब्ध गराउन एफएमओलाई इप्पानको आग्रह

सस्तोमा ब्याजदरमा ऋण उपलब्ध गराउन एफएमओलाई इप्पानको आग्रह

सस्तोमा ब्याजदरमा ऋण उपलब्ध गराउन एफएमओलाई इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपालको ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पहल थालेको छ ।

बुधवार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खर्बौ डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन एफएमओसंग आग्रह गरेका हुन् ।

इप्पान अध्यक्ष गणेश कार्कीले वित्तीय व्यवस्थापन गर्न नसकेका कारण २ हजार ६०० मेगावाट क्षमताका जलविद्युत आयोजनाको सरकारले विद्युत खरिद विक्री सम्झौता (पीपीए) नै खारेज गरेको स्मरण गराउँदै नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर भएको बताए ।

एफएमओका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल जोंजेनीलले नेपालमा जलविद्युत प्रवर्द्धकले वातावरण, सामाज र सरकारलाई केन्द्रमा राखेर काम गरेमा नेपालको ऊर्जा क्षेत्रमा एमएफओले ठूलो लगानी भित्र्याउन चाहेको बताए ।

२०१९ देखि इप्पानसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै उनले आइएफसीका मापदण्ड र इएसजीलाई केन्द्रमा राखेर काम गर्न इप्पानले ठूलो भूमिका खेल्न सक्ने पनि विश्वास व्यक्त गरे ।

इप्पानका उपाध्यक्ष आशिष गर्गले नेपालको जलविद्युत उत्पादन र उपयोगको तथ्याङ्क प्रस्तुत गर्दै आयोजना विकासको विभिन्न चरणमा रहेका ५३ हजार ४३१ मेगावाट क्षमताका १ हजार २२४ आयोजनामा १ खर्ब १३ अर्ब डलर लगानी आवश्यक हुने बताए ।

उनले निर्माण भइसकेका करीब २ हजार ९०० मेगावाट क्षमताका १९१ आयोजनामा ५ अर्ब र निर्माणाधिन ७ हजार १०७ मेगावाट क्षमताका १२९ आयोजना (४ हजार २१५ मेगावाट क्षमताका ६ आयोजना विदेश निर्यात हुने) मा ११ अर्ब डलर लगानी भएको बाहेक अझै ९५ अर्ब डलर लगानी थप आवश्यक पर्ने तथ्याङ्क प्रस्तुत गरे ।

पीपीए गरेर निर्माणको पर्खाइमा रहेका १२९ आयोजनालाई ५ अर्ब र अध्ययन सकेर पीपीएको पर्खाइमा रहेका ९ हजार ४०० मेगावाट क्षमताका १८५ आयोजनालाई २० अर्ब डलर लगानी तत्कालै आवश्यक भएको पनि उनको भनाइ छ ।

त्यस्तै सरकारले ऊर्जा दशक घोषणा गरेर थप ३० हजार मेगावाट विद्युत उत्पादनको रणनीति बनाइरहेकाले त्यसका लागि थप ६० अर्ब डलर लगानी आवश्यक पर्ने पनि गर्गले बताए ।

इप्पान उपाध्यक्ष उत्तम ब्लोन लामाले नेपालको बैंक मार्फत वा सोझै विद्युत आयोजनामा सस्तो ब्याजदरको दीर्घकालिन ऋण लगानी गर्न एफएमओलाई आग्रह गरे ।

एफएमओले एक्लै वा अन्य अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासंग मिलेर संयुक्त रुपमा भएपनि नेपालको ऊर्जा क्षेत्रमा लगानीको नेतृव लिन लामाले आग्रह गरे ।

प्रकाशित समय : १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु